कर्णालीको मन्त्रिमण्डल हेरफेर हुँदै

काठमाडौं, १६ कात्तिक ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज आइतबार मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ । पार्टीको संसदियदलको नेतामा अविश्वशको प्रस्ताव दर्ता भएपछि चुलिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद थप उत्कर्षमा पुग्ने भएको छ ।
गएको कार्तिक ७ गते दलको बैठकमा आफूमाथिको अविश्वशको प्रस्ताव बहुमतले अश्विकृत गरेर देखाएका मुख्यमन्त्री शाहीले दलकौ बैठकमा अनुपस्थित हुने पार्टी अध्यक्ष केपीशर्मा ओली पक्षिय दुई मन्त्रीहरुलाई आइतबार राजिनामा गराउने वा पदमुक्त गर्ने तयारी गरिएकाे छ ।
आफू संलग्न सरकार प्रमूख (मुख्यमन्त्री) विरुद्धको प्रस्ताव माथि टुंगो लाग्ने बैठकमै अनुपस्थित भएका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढाप्रति आक्रोस भएका मुख्यमन्त्री शाहीलाई तत्कालै बर्खास्त गर्न पार्टी भित्रबाट समेत दवाव खेपेका मुख्यमन्त्री शाहीले दशैं लगत्तै मन्त्री मण्डल हेरफेर गर्ने भन्दै आफूलाई समर्थन गर्ने सांसदलाई आश्वस्त पारेका थिए ।
कार्तिक ७ गते बसेको कर्णाली प्रदेश संसदीय दलको बैठकको मर्म अनुसार नैं मुख्यामन्त्री शाहीले आज अविश्वासको प्रस्तावमा साथ नदिने दुई जना मन्त्रीलाई बर्खास्तको तयारी थाल्नु भएको मुख्यमन्त्री शाही पक्षिय एक नेताले जानकारी दिए । आफै सहभागि भएको सरकार विरुद्धको अविश्वासकाृ प्रस्तावमा साथ नदिने मन्त्रीलाई नैतिकताका आधारमा पनि राख्न हुदैन भन्ने पार्टी केन्द्र (कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल) र प्रदेशका माननिय ज्यूहरुको रायका आधारमा मुख्यमन्त्रीले प्रदेश सरकारका मन्त्रीको जिम्मेवार हेरफेरको कुरा अघि बढाउन खोज्नु भएको हो, ती नेताले भने, प्रदेश सरकार अब पार्टीको प्रचण्ड बहुमतका आधारमा अघि बढ्छ ।
बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।
यी हुन् नयाँ बन्ने मन्त्री
स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन । मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’
ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए । यो प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष एक ठाउँमा आएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।







