रूसयामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
मस्को, १२ असोज (रासस/एएफपी) ।
चालु महिनामा पश्चिमी रूसमा बिषाक्त मदिराको सेवनबाट मृत्यु हुनेहरुको सङ्ख्या २५ पुगेको अनुसन्धानकर्ताहरूले शनिबार बताएका छन् ।
अनुसन्धानकर्ताहरूले “छ जना मृतकहरूको शवको फरेन्सिक मेडिकल जाँचले मेथनोलको उच्चस्तर फेला पारेको रूसको मुख्य अनुसन्धान निकाय अनुसन्धान समितिले जनाएको छ । शवहरू सेप्टेम्बर १०–१७ को बीचमा लेनिनग्राद क्षेत्रको भोलोसोव्स्की जिल्लाबाट ल्याइएको जनाएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार तिन संदिग्धहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ भने घटनाको अनुसन्धान भई रहेको छ । यस हप्ताको सुरुमा, अभियोजकहरूले सन् २०२३ मा ५० जनाको ज्यान जाने नक्कली पेय उत्पादन र बिक्री गरेको आरोपमा दुई जनालाई एक दशक जेल सजाय सुनाएका थिए ।
सन् २०१६ मा साइबेरियाको इर्कुत्स्कमा मेथनोल भएको निषेधित नुहाउने तेल पिएपछि ६० जनाभन्दा बढीको मृत्यु भएको थियो । यस घटनापछि रूसले मधिरासम्बन्धी कानुनलाई कडा बनाएता पनि विकल्पको रुपमा सस्तो र घरमा बनेको मधिरा सहज उपलब्ध भएकाले विशेष गरी ग्रामीण क्षेत्रहरू यस्ता घटनाहरु घट्ने गरेको जनाएको छ ।





