दसैं नजिकिँदै: बढ्यो चहलपहल

गोल्डेन बुढा
जुम्ला,११ असोज ।
नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैं नजिकिँदै गर्दा जुम्लाका गाउँ-शहरमा उल्लास, चहलपहल र व्यस्तता बढेको छ। वर्षभरिको थकाइ मेटाउने, परिवार भेट्ने र मौलिक संस्कृतिमा रमाउने यो अवसरलाई लिएर स्थानीयवासी तथा बाहिरिएका मानिसहरू आफ्नो जन्मथलो फर्कन थालेका छन्।दसैं नजिकिँदै जाँदा सदरमुकाम खलंगा बसपार्कमा दैनिक सयौं मानिसहरूको ओइरो लाग्न थालेको छ। तीमध्ये अधिकांश शहरमा अध्ययन, रोजगारी, व्यापार वा अन्य कामका सिलसिलामा रहेका व्यक्ति हुन्, जो एक वर्षपछि गाउँ फर्कँदै छन्।जुम्लाको कनकासुन्दरी गाउँपालिका ३ बाेता गाउँ फर्कन बसेको पर्खाइमा रहेकी सृजना रावतको अनुहारमा उत्साह झल्किन्छ।”एक वर्षपछि घर जान लागेकी छु,” उनले भनिन्, “दसैंमा आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैसँग भेटिन्छ। साथीहरू पनि भेटिन्छन्। गाउँकै जमघटमा रमाइलो छ।”यस्तै,सुर्खेतकी करुणा बुढाथाेकीपनि दसैं मनाउन आफ्नै घर फर्किंदै छिन्। उनी भन्छिन्, “शहरमा दसैंको रौनक देखिए पनि गाउँमा त्यो आत्मीयता हुन्छ। सयपत्रीको माला, जमरा राख्ने थाली, टीकाको टल्काउने निधार, यी सबैको मजा गाउँमै छ।जुम्लाको सदरमुकाम खलंगाबाट आ-आफ्नो गाउँ फर्किनेहरूको घुइँचो लाग्न थालेको छ।
सिंजा गाउँपालिका -६ स्थिति आफ्नो गाउँतर्फ फर्कन गाडी कुरिरहेकी सम्झना बुढा भन्छिन्, “एक वर्षपछि परिवार भेट्न जान लागेको छु, मन निकै उत्साहित छ। साथीहरूसँगको भेटघाट पनि यसै अवसरमा हुन्छ।”दसैं आफ्नो गाउँको परम्परा अनुसार मनाउन जाँदै गरेको बताइन्।”असोजको सुरुवातसँगै जुम्लाको खलंगा बसपार्क यात्रुहरूले भरिएको छ। बिहान सबेरैदेखि अवेरसम्म यात्रुहरूको भिड देखिन्छ। कतिपय यात्रुले टिकट पाउन सकिरहेका छैनन्।”तीन दिनदेखि लाइनमा बसेको छु, अझै टिकट पाएको छैन,” जुम्लाबाट पाेखारा फर्कन लागेका एक यात्रुले भने, “बसको संख्या कम छ, भीड धेरै।”सिंजा क्षेत्रका नराकोट,गोठिज्युला, रारालिही,कुडारी, तातोपानीकाे लिताकाेट,पातारासीकाे लासी बजार,गुठिचाैरकाे झारज्वाला जुम्लाको सदरमुकाम खलंगा र नाग्म, बजार लगायतका ठाउँहरूमा दसैंका लागि किनमेल गर्नेहरूको भिड बढेको छ।बजारमा नयाँ कपडा, चप्पल, श्रृंगार सामग्री, मिठाई र अन्य चाडपर्वका सामग्रीहरूको कारोबार चर्किएको छ।व्यापारीहरू पनि दसैंलाई लक्षित गरेर नयाँ सामान भित्र्याएका छन्।”दसैंकै लागि राम्रै भइरहेको छ,” व्यापारी बताउँछन्, “गाउँका ग्राहकहरू धेरै मन पराउँछन्।”दसैं, तिहार र छठजस्ता चाडपर्वहरूलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।”शान्ति सुरक्षा कायम गर्न, सम्भावित अपराध, विकृति, दुर्घटना न्यूनीकरण, अनुसन्धान र कारबाहीका लागि विशेष सुरक्षा रणनीति लागू गरिएको छ,” प्रहरी परिचालन गरी शान्ति सुरक्षा, सम्भावित अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र कानुनी अनुगमन तीव्र पारिएको डिएसपी रबिन बाबु रेग्मीकाे बताउँछन् ।रेग्मी भन्छन्, “दसैंको समयमा विकृति र अपराध बढ्न सक्ने भएकाले हामीले सशक्त गस्ती, निगरानी र अप्रेशन योजनासहित अघि बढेका छौं।

बजार क्षेत्रमा २४ सै घण्टा प्रहरीको उपस्थिति रहनेछ।”प्रहरीले जुवातास खेलाउने, मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, घरेलु हिंसा वा अन्य सामाजिक अपराधमा संलग्न हुने व्यक्तिहरूलाई कडा निगरानीमा राख्ने छ।दसैंको टीका लगाउने दिन बिहानै घरघरमा पिँढीमा बसेर आशीर्वाद लिने, जमराको माला लगाउने र खसीको मासु खाएर पर्व मनाउने चलन अझै जीवित छ।दसैं केवल चाड होइन, भावनात्मक पुनर्मिलन हो। उत्सव र उत्तरदायित्वको संगम हो। जुम्लामा अहिले घर फर्किनेको ओइरो, बजारको व्यस्तता, सुरक्षाकर्मीको गस्ती र सांस्कृतिक रंग सबैले मिलेर दसैंलाई अझ रंगीन बनाएका छन्।जहाँ परिवार छ, त्यहीँ दसैंको आत्मा बस्छ, र जुम्लाका सडक, घर, पिँढी र गाउँले अनुहारहरूमा अहिले त्यो आत्मा मुस्कुराइरहेको छ।यता दसैँमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णाली प्रदेशमा ३ हजार ९ सय ८ जना प्रहरी परिचालन हुने भएका छन्।
प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’असोज ६ गतेदेखि आगामी कात्तिक १० गतेसम्म उक्त सुरक्षा योजना लागू हुनेछ।






