रुकुमेली सेवा समाज कोहलपुरद्वारा दोस्रो वार्षिक साधारणसभा तथा तीज मिलन सम्पन्न

बाँके ,९ भदौ।
रुकुमेली सेवा समाज कोहलपुर नगरकार्य समितिले आफ्नो दोस्रो वार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री कृष्ण केसी नमूनाले समाजले गरेका गतिविधि सराहनीय रहेको उल्लेख गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले रुकुमकी चेली भएकै कारण समाजमा पर्न सक्ने समस्या समाधानमा आफू सदैव साथ रहने बताइन् ।

विशिष्ट अतिथि कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष विरेन्द्र कुमार शाहले रुकुमेली सेवा समाजले जन्मथलोको सम्झना मात्र नभई आपसी सद्भाव, सहिष्णुता र सामीप्यता कायम गर्नुपर्नेमा जोड दिए । उनले समाजका हरेक गतिविधिमा आफू सक्रिय रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा समाजका अध्यक्ष प्रताप देवकोटाले गत वर्षका गतिविधि प्रस्तुत गर्दै दुःख–सुखमा रुकुमेली दाजुभाइ दिदीबहिनीबीच सहकार्य गर्दै आएको बताए । उनले गत वर्ष मात्र समाजका ६ जना सदस्यको निधन भएको उल्लेख गर्दै परिवारजनलाई समाज पुगेर सहयोग र साथ दिएको जानकारी गराए ।

त्यस्तै, वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एकराज शर्माले रुकुमेली समुदायले विभिन्न थलोमा आफ्नो पहिचान बनाउँदै गएको भन्दै आपसी सद्भाव, आत्मीयता र मेलमिलापमा जोड दिए ।
सामाजिक अभियन्ता भूम भण्डारी, शिक्षाप्रेमी बालकुमार शर्मा, खेलप्रेमी टिकाराम आचार्य, जिल्ला सहकारी संघ बाँकेकी उपाध्यक्ष जानकी पुनलगायतले पनि समाजको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
समाजकी कोषाध्यक्ष शारदा खतिवडाले आर्थिक प्रतिवेदन र अध्यक्ष प्रताप देवकोटाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले पारित गरेको कार्यसमिति सदस्य भीमबहादुर परियारले जानकारी दिए ।

तीज पर्वको अवसरमा समाजले ५०० बढी सहभागीलाई दर खुवाउने कार्यक्रमसमेत गरेको थियो । साथै, रुकुमेली मौलिक संस्कृति झल्किने बैजनाथ गाभरको सिङारु नाच, तीज गीत र नृत्य प्रस्तुत गरिएका थिए ।
कार्यक्रम अध्यक्ष प्रताप देवकोटाको सभापतित्वमा सम्पन्न भएको हो भने सहजीकरण मधु खड्काले गर्नुभएको थियो ।






