पाँच दशकदेखि आश्वासनमै रोकिएको पिप्रहवाघाट पुल: जोखिममै दैनिक डुङ्गा यात्रा

बाँके ,२० साउन ।

बाँकेको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालाई डुडुवा गाउँपालिकासँग जोड्ने राप्ती नदीको पिप्रहवाघाटमा पुल निर्माणको माग उठेको पाँच दशक पुग्न लाग्दा पनि अझै निर्माण कार्य सुरु हुन सकेको छैन।

स्थानीय बासिन्दाले सरकारका मन्त्री, सांसद तथा राजनीतिक नेताबाट पटक–पटक आश्वासन त पाएका छन्, तर त्यसको परिणाम अहिलेसम्म “शून्य” छ। पक्की पुल नहुँदा अहिले पनि स्थानीयहरू जोखिम मोलेर डुङ्गामार्फत नदी पार गर्दै आइरहेका छन्।

६० वर्षे उमेर पार गरिसक्नुभएका राप्तीसोनारी–७ का दुर्गाप्रसाद पाण्डे भन्नुहुन्छ, “पाँच दशकअघि नै यहाँ पुलको कुरा सुनिएको थियो, तर अझैसम्म केही देखिएको छैन।” उहाँका अनुसार, करिब ४० वर्षअघि पिप्रहवाघाटमै डुङ्गा दुर्घटना हुँदा कैयौं स्थानीयले ज्यान गुमाएका थिए।

२०५० सालतिर फेरि एकपटक डुङ्गा पल्टिएको र त्यो दुर्घटनालाई धेरैले आज पनि सम्झिरहेको स्थानीय बताउँछन्। गत वर्ष शुक्रबारे मेलाको दिन पनि डुङ्गा दुर्घटना भएपनि नदीको पानी कम भएकाले मानवीय क्षति हुन पाएन, राप्तीसोनारी ७ का रसुद महमुद साईले बताउनुभयो।

राप्तीनदी पार गर्न पिप्रहवाघाट, बालोपुरवा र सत्तीघाटजस्ता स्थानहरूमा अहिले पनि डुङ्गाको प्रयोग अनिवार्यजस्तै बनेको छ। खासगरी डुडुवा गाउँपालिकामा खेतीपाती गर्ने र भारतीय बजार तथा नेपालगञ्ज सदरमुकाम जान चाहनेका लागि नदी पार गर्नु विकल्प नभएर बाध्यता बनिसकेको छ।

स्थानीय बासिन्दा अझै पनि हरेक वर्ष पुल निर्माणको आशमा बसिरहेका छन्। बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले पिप्रहवाघाटमा पक्की पुल आवश्यक रहेको स्वीकार गर्दै निर्माणका लागि सम्बन्धित मन्त्रालयमा पहल भइरहेको जानकारी दिनुभयो। तर स्थानीय भने आश्वासन होइन, अब काम देख्न चाहन्छन्।

 

 

पाँच दशकदेखि आश्वासनमै रोकिएको पिप्रहवाघाट पुल: जोखिममै दैनिक डुङ्गा यात्रा

गगनेखोलामा लेदोसहितको पहिरो कर्णाली राजमार्ग अवरुद्ध

पाँच दशकदेखि आश्वासनमै रोकिएको पिप्रहवाघाट पुल: जोखिममै दैनिक डुङ्गा यात्रा

मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पुर्‍याइने

Leave a comment

Your email address will not be published. Required fields are marked *