शिक्षा र संस्कारको संगम: कोहलपुर जीवनज्योती स्कुलमा प्रेरणादायी कक्षा
२८,असार २०८२
बाँके। बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा मात्र होइन, असल संस्कार, नैतिकता र व्यवहारिक ज्ञान पनि उत्तिकै महत्वपूर्ण हुने मान्यता अनुरूप कोहलपुरस्थित जीवनज्योती स्कुलले उत्प्रेरणा (मोटिभेसनल) कक्षा सञ्चालन गरेको छ। पछिल्लो समय समाजमा बढ्दो विकृति र विसङ्गतिका बीच बालबालिकालाई आत्मानुशासन, सभ्यता र जिम्मेवारीबोध दिलाउन यो कार्यक्रम गरिएको विद्यालयका शिक्षक कल्याण तिमिल्सिनाले जानकारी दिनुभयो।

विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले कक्षा ११ र १२ का विद्यार्थीहरू र शिक्षकहरूलाई एउटै थलोमा राखेर असल संस्कार, निरन्तर प्रयास र मन लगाएर अध्ययन गर्ने वातावरण निर्माण गर्न खोजिएको बताउनुभयो। “मोबाइल र सामाजिक सञ्जालमा अत्यधिक समय खर्चिनाले बालबालिकामा मानसिक, सामाजिक र शारीरिक विकासमा बाधा पुगेको छ। उनीहरूमा हराउँदै गएको अनुशासन र मर्यादा फर्काउन उत्प्रेरणा कक्षा अपरिहार्य बन्यो,” उहाँले भन्नुभयो।

कार्यक्रमका प्रमुख मोटिभेसनल वक्ता तथा सेवानिवृत्त वरिष्ठ प्रहरी उपरीक्षक बिरबहादुर वलीले बालबालिकालाई सामाजिक सञ्जालको सही सदुपयोग, ट्राफिक नियम, कानुनी चेतना, र बालअधिकारबारे जानकारी दिनुभयो। “बालबालिका भनेका काँचो माटोजस्तै हुन्, अहिले दिइएको दिशा नै भविष्यको रूप हो,” वलीले भन्नुभयो। उहाँले विद्यार्थीलाई अध्ययनमै केन्द्रित हुन र आफूभित्रको क्षमतालाई चिनेर अगाडि बढ्न प्रेरित गर्नुभयो।

यस्तै, वरिष्ठ चिकित्सक डा. राजन पाण्डेले स्वास्थ्यबारे जानकारी दिँदै, “स्वस्थ शरीर र स्वस्थ मस्तिष्क नै पढाइको आधार हो,” भन्नुभयो। उहाँले आफ्नै संघर्ष र सफलता सन्दर्भ प्रस्तुत गर्दै विद्यार्थीहरूलाई हरेक कठिनाइलाई अवसरमा बदल्न प्रेरित गर्नुभयो।

मोटिभेसनल वक्ता क्षेत्रप्रसाद ज्ञवालीले विभिन्न सफल व्यक्तित्वका उदाहरण दिँदै बालबालिकामा लक्ष्य निर्धारण, निरन्तर सिकाइ र मेहनतको महत्वबारे धारणा राख्नुभयो। “आजको पढाइ नै भविष्यको सफलता हो। अभिभावकको सपना पुरा गर्न अहिले नै मेहनत गर्नुपर्छ,” ज्ञवालीले भन्नुभयो।

यस मोटिभेसनल कार्यक्रममा विद्यार्थीहरू अत्यन्त उत्साहित देखिए। विद्यार्थीहरूका अनुहारमा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच झल्किएको देखिएको थियो।
पछिल्लो एक दशकदेखि कोहलपुरको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल जीवनज्योती स्कुलले किताबी ज्ञानसँगै व्यवहारिक र जीवन उपयोगी शिक्षामा पनि जोड दिँदै आएको छ। यस्ता सिर्जनात्मक प्रयासले विद्यालयप्रतिको विश्वास अझै बलियो बनाउँदै लगेको छ।







