“पढाइले गोठ छु्ट्याएन: वीर बहादुरको आत्मनिर्भर गोठाली जीवन”

गोल्डेन बुढा
जुम्ला ,२४ जेष्ठ ।
जुम्लाको दुर्गम भाडगाउँ, सिंजा गाउँपालिका–६ का २४ वर्षीय वीर बहादुर रावत आजभोलि भदाली पाटनको हरियाली पहरामा भेडासँगै लुकामारी खेल्दै देखिन्छन्। कतिपय साथी विदेशिएको, कोही सरकारी सेवाको तयारीमा व्यस्त, त कोही कालापहाडमा मजदुरीमा छन्। तर वीर बहादुरले भने परम्परागत पेसालाई व्यावसायिक बनाउने आँट गरेका छन्।

“साथीहरू लोकसेवा, शिक्षक सेवा या विदेशको सोचमा छन्। म भने आत्मनिर्भर बन्न भेडी गोठ फर्किएको हुँ,” वीर बहादुर भन्छन्। बाल्यकालदेखि भेडाबाख्रासँग रमाएका उनी सानैदेखि गोठ जाने मोहले भरिएका थिए। विद्यालय पढ्ने बेलामा पनि हप्ता दिनसम्म लुकीछिपी गोठमै बस्ने गरेको उनी सम्झन्छन्।

हाल उनी “किस्मत पशुपन्छी पालन उद्योग” सञ्चालन गर्दै छन्। उनका अनुसार अहिले १३० भेडा छन् भने छिट्टै संख्या २०० पुर्‍याउने योजना बनाएका छन्। “भेडा यस्तो जनावर हो, जसको खुरदेखि शिरसम्म फाइदामै फाइदा छ,” उनी ठोकुवा गर्छन्।

उनले बनाउने राडीपाखी भेडाको ऊनबाट उत्पादन हुन्छ। एउटा धार्नी (२ किलो) ऊनको मूल्य ५०० रुपैयाँ पर्छ। त्यसैबाट बनेका राडीपाखी ८ हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री हुन्छन्। भेडाको मासु गाउँमै प्रतिकिलो ८ सय र सदरमुकाममा ११ सय रुपैयाँमा बेचिन्छ। एउटा भेडाको मूल्य १५ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्छ।

रावत भन्छन्, “घरको १४ जनाको परिवार चलाउन यही भेडापालन आधार बनेको छ। जेठो दाजु जापानमा छन्, तर म यही पेसामा सन्तुष्ट छु।”

उनले भेडापालन व्यवसायलाई ‘गर्वको पेसा’ मान्दै व्यावसायिकरूपमा विस्तार गरिरहेका छन्। अहिले जुम्लामा मात्रै १७ सयभन्दा बढी किसानले ८८ हजारभन्दा बढी भेडा पालिरहेका छन्। कर्णाली प्रदेश सरकारले पनि ‘गोठालो भत्ता’ कार्यक्रममार्फत भेडापालकलाई मासिक १५ सय रूपैयाँ दिने व्यवस्था गरेको छ।

पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाका अनुसार, “भत्ता कार्यक्रमले किसानलाई हौसला दिएको छ। अब चरन क्षेत्र विस्तार र खर्क सुधारमा पनि ध्यान दिन जरुरी छ।”

भेडापालनका चुनौती पनि छन् — मौसम, घाँसको अभाव, चट्याङको जोखिम र पशुचिकित्सकको अभाव। तर वीर बहादुर भन्छन्, “कुनै पनि पेसा सजिलो हुँदैन। तर यहाँ आत्मसम्मान छ, सन्तुष्टि छ र भविष्यको सम्भावना पनि।”

देश फर्कन खोज्ने युवालाई वीर बहादुर रावतको बाटो प्रेरणादायी बन्न सक्छ ।

“पढाइले गोठ छु्ट्याएन: वीर बहादुरको आत्मनिर्भर गोठाली जीवन”

पानीका मुहान बचाउन जलसम्मेन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds