प्रहरी अधिकृतले छोराको जन्मदर्ता बनाउनै नमानेपछि

सुर्खेत, १० जेठ ।
जुम्ला सदरमुकाममा सुमित्रा घर्ती होटल चलाउँछिन् । दैनिक गुजरा चलाउन सुमित्राले खलंगामा आफ्नै लगानीमा जेनतेन होटल सञ्चालन गरिरहेकी थिइन् । होटल राम्रै चल्छ । आम्दानीले दैनिकी टार्न सहजै बनिरहेको हुन्छ । उनको दैनिक जीवन होटलमै बित्थ्यो । विवाह गरेको पहिलो घरबार त्यति राम्रो रहेन् ।
श्रीमानसँगको सम्बन्ध विच्छेदपछि उनी गुजरा चलाउनकै लागि होटल व्यवसायमा होमिएकी हुन् । चन्दननाथ नगरपालिका–१, की ३७ वर्षीय सुमित्राको जीवनमा फिल्मीशैलीमा एक जना प्रहरी नजिक हुन्छन् । घटना २०७५ सालको हो । विगतको घरवार सफल नभएपछि फेरि विवाह गर्ने वा कसैको प्रेममा बसेर घरबार जोडौला भन्ने कहिल्यै परिकल्पना सुमित्रा गर्दिनन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) भीमबहादुर रावत दिनहुँ सुमित्राको होटलमा पुग्छन् । कहिले चिया पिउने त कहिले खाना खाने बहानामा उनी सुमित्रासँग निकट सम्बन्ध गाँस्ने प्रयत्न गर्छन् । शुरुमा खासै वास्ता नगरेकी उनले भेरीगंगा नगरपालिका–११, हाल वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका रावतप्रति चासो राख्दिनन् ।
प्रहरी कार्यालय नजिकै होटल भएकाले आउने ग्राहक उनका लागि समान हुन्छन् । सुमित्राले नचाहदा नचाहदै रावत नजिक हुन खोज्छन् । कयौं पटक यो असम्भव हो भन्दै उनी टार्छिन् । जिन्दगिेका अन्तिमसम्म संघर्ष र परिश्रम नै चाहिने भएकाले माया प्रेम चल्ने भनेको त फिल्मको कहानी जस्तै भएकाले उनी पन्छिन खोजी रहेकी हुन्छिन् ।
बारम्बर रावत नजिकीन थालेपछि उनी निरीह बन्छिन् । झण्डै एक बर्षसम्म केवल चिनजानमै भएको सीमित सम्बन्ध अन्तत सई रावतका अगाडी घर्ती झुक्न बाध्य हुन्छिन् । अन्ततः स्वार्थ बोकेर नजिकिएका रावतसँग सम्बन्ध २०७६ पछि शारिरीक सम्बन्धसम्म पुग्छ ।
‘जुम्लामा चिनजान हुँदा उहाँले मेरो श्रीमती छैन, घरमा दुई वटा छोरी मात्रै छन् । तिमिसँग सम्बन्ध गाँसेर नयाँ जीवन जोड्न चाहन्छु भनेपछि सम्बन्ध स्थापित भयो,’ घर्तीले भनिन्, ‘जुम्लामै रहँदा सम्बन्ध राम्रो थियो । त्यसपछि कोराना कहरले लकडाउन भयो । उहाँ रिटायर्ड (अवकाश) पछि काठमाडौं जानुभयो । विस्तारै फोन सम्पर्क टुट्दै गयो । फेरि एक दिन उहाँ आफैले सम्पर्क गरेर सुर्खेत आउन भन्नुभयो ।’

चलेको होटल कोरानापछि जारी लकडाउनले प्रायः सुनसान बनिरहेको थियो । २०७८ मा उनी सुर्खेत झरिन् । वीरेन्द्रनगरको गण्डकी लाइनमा कोठा भाडामा लिएर बसिन् । ‘केही समय सुर्खेत बसे । त्यहीँ बेला बच्चा रह्यो,’ समित्रा विगत सम्झिन्छिन्, ‘एउटा बच्चा गर्भपतन गराइ सकेकी थिए । फेरि गर्भमा बच्चा रहेपछि पुनः जुम्ला फर्किए ।’
सुर्खेत आएपछि रावतले घरमा लिएनन् । सुमित्रा आफैले उनको घर परिवार बारे जान्न खोज्दा पोल खुलेको थियो । रावतको घरमा श्रीमती, छोरी र छोरा भएको थाहा पाएपछि समित्रा आफ्नै थातथलो जुम्ला पुगिन् ।
पेटमा बच्चा हुर्किदै गएपछि आफन्त र छिमेकीले कसको बच्चा बोकेको भन्दै कयौं अपमान सुमित्रा बहन गरिन् । अन्तत २०७९ असोजमा उनले छोरा जन्माइन् । छोरा जन्मिएको २०८२ असोजमा तीन वर्ष पुग्छ । यो तीन वर्षमा सुमित्राले छोराको जन्मदर्ता बनाउन कयौं फन्को मारिन् । तर रावतले कहिले झुक्याउने त कहिले कहाँ छु भनेर टारे । सुमित्राकाअनुसार रावतले धेरै जान्ने भए ज्यानमार्ने धम्कीसमेत दिने गरेका छन् ।
‘उसैले हिजो जालझेल गरेर फसाउने अहिले बच्चाको जन्मदर्ता बनाइदिनुभन्दा मार्दिन्छु भन्ने धम्की दिने गर्नुभएको छ,’ सुमित्रा थप्छिन्, ‘छोरा जन्मिदासमेत कस्तो छ अवस्था भनेर बुझेन, कयौं कठिन अवस्थामा छोरालाइ हुर्काए । उसैको हातबाट मर्नै परे ज्यान दिन तयार छु ।’ घटना यत्तिकैमा सीमित हुँदैन् । रावतकै छोरा भएको र जन्मदर्ता बनाइदिन उनी २०८१ माघमा सुर्खेत झर्छिन् ।
भेरीगंगा नगरपालिका–११ वडा कार्यालयमा पुगेकी उनलाई तिनै रावत उपस्थिति नभएपछि रित्तोहात उनी जुम्ला फर्किन् । ‘जन्मदर्तासम्म बनाइदिनुहोस् भन्दा मेरो पावर (शक्ति) कति छ भन्दै उल्टै धम्की दिने गर्नुभयो,’ घर्तीले भनिन्, ‘उसँग मेरो घरबार होस् भन्ने चाहेको छैन्, जन्मिएको छोराको के दोष उसको न्यायको लागि म लडिरहेको छु । तर उहाँले कुनै वास्ता गर्नुहुँदैन् ।’
रावतले जन्मदर्ता बनाउन आलटाल गर्दै आएपछि यो विषय सोसेक नेपालसम्म पुग्छ । २०८१ माघ २९ गते सोसेकले जन्मदर्ता गराइदिन भेरीगंगा नगरपालिका–११ को वडा कार्यालयलाईसमेत पत्र पठाएको छ । पत्रमा भनिएको छ, ‘रावत र सुमित्राको छोरा वर्ष २ को आयुष रावतको हालसम्म जन्मदर्ता नबनेको र निज रावतले आमा र छोरा दुवैको ख्याल वास्ता नगरेकाले झिकाएर जन्मिदर्ता बनाइदिन अनुरोध छ ।’
सुमित्रा अहिले छोराको न्यायको लागि भन्दै जन्मदर्ता बनाउन वीरेन्द्रनगर सुर्खेत झरेकी छन् । पटक–पटक फोन गर्दा आलटाल उहाँ (रावत श्रीमान) ले गरिरहनु भएको घर्ती बताउँछिन् । ‘जुम्लामाहुँदा तिमिविना अर्को संसार छैन् भन्नुभयो,’ घर्ती भन्छिन्, ‘बच्चा जन्मिएपछि पावर देखाउँदै वहानाबाजी गरिराख्नु भएको छ ।
मेरो अन्तिम लडाइ छोराको जन्मदर्ता बनाउनु हो । तर न्याय कहीँबाट पाएको छैन् ।’ यता, रावतले उनीलाई अदालती प्रक्रिया जान भनिसकेकाले सबै तपाईलाई भन्न आवश्यक नरहेको जानकारी दिए ।
‘जन्मदर्ता बनाउन उनी रामघाट गएको सत्य हो, मैले सहमति नदिएपछि वडा कार्यालयले फिर्ता गरिदिएको हो,’ रावतले भने, ‘हनिट्य्रापमा पारेर त्यो बेला उसले फसाएको र जन्मिएको बच्चा आफ्नो हैन । उसलाई अदालती प्रक्रियामै जान भनिदिनुहोस् ।’






