प्रेस चौतारी कर्णाली प्रदेश समितिले गरायो मुख्यमन्त्रीको ध्यानाकर्षण


सुर्खेत । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । चौतारीको केन्द्र, प्रदेश र सुर्खेत जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुले मुख्यमन्त्री कँडेल समक्ष श्रमजीवि पत्रकारको हकहित र सुरक्षा ग्यारेण्टी हुनुपर्ने माग गरेको हो ।
देशमा लोकतन्त्र स्थापना, मानव अधिकारको रक्षा र नागरिकका आवाजलाई बुलन्द गरिरहेको उल्लेख गर्दै चौतारीले कर्णाली प्रदेशका सञ्चारगृह र श्रमजिवी पत्रकारहरुको भौतिक सुरक्षा, संस्थागत सुधार र क्षमता विकासमा प्रदेश सरकार गम्भीर हुनुपर्नेमा ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा प्रदेश सरकारले हालै सुरुवात गरेको सञ्चार सामग्रीको बीमा कार्यक्रम स्वागत योग्य भएको जनाइएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममा सञ्चारसामग्रीको खरिदमा अनुदानको व्यवस्था गर्न ध्याकर्षण पत्रमा माग गरिएको छ । आर्थिक २०८२–०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सञ्चारमैत्री बनाउन चौतारीले आग्रह गरेको छ । प्रदेश सरकारले बनाएको आमसञ्चार प्रतिष्ठान विधेयकलाई तत्काल पारित गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा लैजान आग्रह गर्दै सरकारले हाल वितरण गर्दै आईरहेको लोककल्याणकारी विज्ञापनलाई वर्षभरी नै वितरण गर्नेगरी व्यवस्था गर्नुपर्ने चौतारीको माग छ ।
कर्णालीमा कार्यरत महिला, दलित र सीमान्तकृत समुदायका व्यक्तिले सञ्चालन तथा नेतृत्व गरेका सञ्चारगृहलाई प्रदेश सरकारले प्रदान गर्ने सेवा सुविधामा कम्तीमा २५ प्रतिशत थप प्रोत्साहन उपलब्ध गराउन माग गरिएको छ । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै डिजिटल पत्रकारिताको अभ्यास सुरु भएको सन्दर्भमा पत्रकारहरुलाई डिजिटल मिडिया सम्बन्धी क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकार आवासगृह स्थापना गर्न आवश्यक बजेट व्यवस्था गर्न चौतारीको माग छ । यसले प्रदेशको दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरु राजधानी आउँदा आवासको समस्या समाधान हुने विश्वास लिइएको छ । पछिल्लो समय विभिन्त आन्दोलनका नाममा पत्रकार तथा सञ्चारगृहमाथी आक्रमण बढेको चौतारीको ठहर छ ।
कुनै पनि बहानामा पत्रकार तथा सञ्चारगृहमाथी हुने आक्रमणको भत्सना गर्दै कर्णालीमा रहेका पत्रकार तथा सञ्चारगृहको सुरक्षामा गम्भीर हुन प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।
ध्यानकर्षण पत्र बुझ्दै मुख्यमन्त्री कँडेलले चौतारीले उठाएका कतिपय विषयहरु प्रदेश सरकारले सम्बोधन गरिसकेको उल्लेख गर्दै बाँकी विषयलाई पनि प्राथमिकतामा राखिने बताए ।

प्रेस चौतारी कर्णाली प्रदेश समितिले गरायो मुख्यमन्त्रीको ध्यानाकर्षण

सम्पादकीय : विकास बजेट खर्चको दायरा बढाऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *