गोली काण्डमा पक्राउ परेका भारतीय सुटर सार्वजनिक


सुर्खेत प्रहरीले गए राती तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथी गोली प्रहारमा संलग्न ४ जनालाई सार्वजनिक गरेको छ । शनिबार राती करिव साढे ८ बजेको समयमा गिरी सवार गाडी माथी वीरेन्द्रनगर नगरपालिका–१, स्थित गैरीचोकमा गोली प्रहार भएको थियो ।
गोली प्रहारबाट गिरीको गाडीमा क्षति पुगेको छ । घटनामा संलग्न मोटरसाइकल चालक कैलाली गौरीगंगा नगरपालिका–२, का १८ वर्षिय ईन्द्र बिक, सोही ठाउँ बस्ने १८ बर्षिय भरते मुललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
त्यस्तै, गिरी माथी गोली प्रहार गर्ने भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसीपन मोहल्लाका १९ बर्षिय रोहित राजपुत र उनलाई सुर्खेतमा बासको व्यवस्थापन गर्ने वीरेन्द्रनगर–४, का ३७ बर्षिय राजन गिरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
घटनाको मुख्य योजनाकारलाई भने प्रहरीले खोजी गरिरहेको छ । उक्त व्यक्तिका बारेमा प्रहरीले हालसम्म केही बोलेको छैन । व्यक्तिगत रिसबीका कारण गिरीको हत्या प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, को सँग के रिसवी थियो भन्ने विषय भने गोप्य राखिएको छ । घटनास्थलबाट प्रहरीले एक थान कटुवा पेस्तोल, गोलीको खोका र एक थान मोटरसाइकल बरामद गरेको छ ।
यसरी बनेको थियो हत्याको योजना
गिरीको हत्याका लागि बिगत डेढ महिनादेखि मुख्य योजनाकारले इन्द्र विकसँग ह्वाटस्याप म्यासेजमा सामान्य चिनजान भई हत्या योजना बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटना घटेको करिव २० देखि २५ दिन अगाडी ईन्द्र र मुख्य योजनाकार बिच कैलालीको अतरियामा भेटघाट भई सामान्य कुराकानी भएको थियो । १० देखि १२ दिन अगाडी उक्त व्यक्तिले कैलालीको लम्की स्थित टिएमटी होटलमा ईन्द्र बिक र भरते मुल तथा भारतीय सुटर रोहित राजपुतलाई बोलाएर घट्नाको बारेमा जानकारी गराएर पश्चात हत्याको पूर्व योजना बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले बताए ।
त्यस्तै, ८ देखि ९ दिन अगाडी ईन्द्र बिक र भरत भुललाई मुख्य आरोपीले नेपालगञ्जमा बोलाई हामीसँग सुटर छ सुर्खेत बस्ने विनोद गिरीलाई मार्नु पर्छ भनेर डेढ लाखको सुपारी दिने आश्वासन दिएका थिए । नेपालगञ्जमा उक्त व्यक्तिले ईन्द्र बिकलाई एक नाल कटुवा पेस्तोल र २ राउण्ड गोली उपलब्ध गराएका थिए ।
त्यसको २ दिन पछि भारतीय सुटर रोहित राजपुत, ईन्द्र बिक, भरत भुल र हत्याका मुख्य योजनाकार बिच नेपालगञ्जमा भेट भई थप योजना बने पश्चात ईन्द्र बिकले रोहित राजपुतलाई उक्त कटुवा पेस्तोल र गोली दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मुख्य आरोपीले गिरीको हत्या गरेवापत भारतीय सुटर रोहित राजपुतलाई दुई लाख रुपैयाँ दिने सहमति गरेका थिए । त्यस पश्चात नेपालगञ्जमा ईन्द्र बिकले रोहित राजपुतलाई उक्त कटुवा पेस्तोल र गोली राउण्ड दिए पश्चात ७ फागुनमा सुटर रोहित राजपुत सुर्खेत आएर वीरेन्द्रनगर–४, स्थित गणेश होटलमा बस्दै आएका थिए । रोहितलाई होटलमा बास बस्ने व्यवस्था वीरेन्द्रनगर–४, का राजन गिरीले गरेका थिए ।
यस्तै, ९ फागुनमा ईन्द्र र भरतलाई मुख्य आरोपी व्यक्तिले नेपालगञ्जमा भे. ५ प. ६०६१ नम्बरको मोटर साईकल उपलब्ध गराए पश्चात उनीहरु पूर्व योजना मुताविक नेपालगञ्जदेखि सुर्खेत आएको प्रमुख खड्काले बताए । सुर्खेतमा एक अर्का व्यक्तिले (जो प्रहरीको खोजीमा छन्) विनोद गिरीको घर ठेगाना लगायत सबै देखाई चिनाई दिएको तथा होटलमा खाने ब्यवस्था मिलाएका थिए ।
हत्याको पूर्वयोजना अुनरुप शनिबार इन्द्रले चलाएको मोटरसाइकलको पछाडी बसेका भारतीय सुटर रोहितले गिरी सवार गाडीको पिछा गर्दै वीरेन्द्रनगर–१, स्थित गैरीचोकमा एक राउण्ड गोली प्रहार गरेका थिए । घटना पश्चात गिरी सवार गाडी र मोटरसाईकल एक आपसमा ठक्कार खाई दुर्घट्ना भएको थियो ।
घटना पश्चत जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गर्ने भारतिय नागरिक रोहित राजपुत, मोटरसाईकल चालक ईन्द्र बिक, भरत भुल र प्रतिवादीहरुलाई होटलमा बस्ने व्यवस्थापन गर्ने राजन गिरीलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रमुख खड्काले बताए ।
उनीहरु माथी थप अनुसन्धान कार्य जारी रहेको र मुख्य अभियूक्तको खोजि कार्य भइरहेको उनले बताए । पक्राउ परेका तीनै जना माथी ज्यान मार्ने र हातहतियार खरखजना सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उनले बताए ।






