अमेरिकी सहयोगी संस्थाको सहयोगमा आवासीय विद्यालय भवन बनाइँदै

हुम्ला ।
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँमा अमेरिकी सहयोगी संस्था आत्मीको आर्थिक सहयोगमा आवासीय सुविधा सहितको विद्यालय भवन निर्माण शुरु भएको छ ।
लिमीका विद्यार्थीहरुलाई पठन पाठनमा सहयोग पुर्याउने उद्धेश्य सहित सो भवनको निर्माण कार्यका लागि सिलान्यास गरेर काम अगाडी बढाइएको छ ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी लिमीको हल्जी गाउँमा आवासीय सुविधा सहितको विद्यालय भवन निर्माण शुरु भएको बताए । हाल उक्त गाउँको विद्यालय रहेको स्थान जोखिममा रहेको कारण आत्मी संस्थाको सहयोगमा नयाँ र सुरक्षित स्थानमा भवन निर्माण गर्न लागिएको हो ।
भवन निर्माणका लागि सो संस्थाले दुई करोड भन्दा बढी बजेटको व्यवस्था गर्न लागेको उनले बताए । दुई तले भवन निर्माण भएपछि २० देखि २२ कोठा तयार हुनेछन् ।
विद्यालयमा कक्षा आठसम्म पठनपाठन गरिनेछ । हाल लिमी हल्जी गाउँको सुनखानी आविमा कक्षा पाँचसम्म मात्र पढाइ हुने गरेको छ ।
भवन निर्माण भए पनि विद्यालयमा पठनपाठनका साथै आवासीय व्यवस्थासमेत हुनेछ । उक्त संस्थाले अहिले पठनपाठन भइरहेको विद्यालयका निजी श्रोतका शिक्षकको पारिश्रमिकमा सहयोग गरिरहेको छ । भवनको निर्माण कार्य स्थानीय बासिन्दाले गरिरहेका छन् । भवनको निर्माण कार्य अर्को वर्षमा सम्पन्न हुनेछ ।






