आफूलाई देउता चढेको भन्दै खुकुरी प्रहार गर्दा एक महिलाको मृत्यु, दुई जना घाइते

दाङ ।
दाङमा एक व्यक्तिले खुकुरी प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरा भन्ने स्थानमा स्थानीय टेकबहादुर मल्लले खुकुरी प्रहार गर्दा ४३ बर्षिया रिता लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रितालाई खुकुरी प्रहार गरी हत्या गरेका टेकबहादुरले सोही गाउँकै वीर बहादुर हमाल र उनकी आमा चन्द्रकुमारी हमाललाई पनि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएका हमालद्धयको तुलसीपुरमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी ठाकुर प्रसाद पोख्रेलका अनुसार टेकबहादुर घरबाट खुकुरी लिएर निस्केको र बाटोमा जसलाई भेट्यो उसैलाई खुकुरी प्रहार गरेका थिए ।
घरमा बसिरहेकी स्थानीय ४३ वर्षीय रितालाई उनले सुरुमा भेटेका थिए ।
रितालाई उनकै घरमा खुकुरी हानेका थिए। रितालाई खुकुरी हानेका उनले अर्को घरमा बसिरहेका आमा छोरा वीर बहादुर र चन्द्रकुमारी हमाललाई पनि उनले खुकुरी हानेका थिए ।
लगत्तै प्रहरी पुगेपछि उनलाई प्रहरीले खुकुरी सहित नियन्त्रणमा लिएको थियो । उनले आफ्नो कुनै रिसिईबी नभएको र आफूलाई देउता चढेका कारण खुकुरी हानेको प्रहरी समक्ष बयान दिएका छन् । ‘उनले मेरो कुनै पनि रिसिईबी छैन, मलाई देउता चढे, अनि म खुकुरी लिएर घरबाट निस्केँ भनेर बयान दिएका छन्,’ डिएसपी पोख्रेलले भने ‘अनि उसले जसलाई देख्यो खुकुरी हानेको देखिन्छ, घटना बारे हामी थप अनुसन्धानमा छौँ।’






