बढ्दै भूकम्पको जोखिम, सचेत हुन विज्ञको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका दुई जिल्लालाई केन्द्रविन्दू बनाएर हप्तादिनको फरकमा चार वटा भूकम्प र पराकम्पन गएका छन् । यीमध्ये कणर्ालीको मुगुमा चैत १० गते सबैभन्दा ठूलो ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक छ । अन्य जिल्लामा ४ रेक्टर स्केलभन्दा माथिका भूकम्पका धक्का महशुस भएका छन् । गत कार्तिक ९ गते डोटी केन्द्रविन्दू भएर गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण गौमुल गाउँपालिका १ मा ६ जनाले ज्यान गुमाए भने करोडौंको भौतिक संरचनामा क्षति पुग्यो । डोटीमा तीन दिनको अवधिमा क्रमशः ६ दशमलव ६, ५ दशमलव ७ र ४ दशमलव १ रेक्टर स्केलका गरी तीनवटा भूकम्पको कम्पन मापन गरियो ।

पछिल्लो समय पश्चिम नेपाललाई केन्द्रविन्दू बनाएर भूकम्प जानेक्रम बढ्न थालेको छ । भूकम्प मापन केन्द्रका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा जति बेलापनि विनाशकारी भूकम्प जाने ठूलो जोखिम छ । पश्चिम नेपालमा पाँच सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चति भएर बसेको भूगर्भविद्हरू बताउँछन् । गत वैशाखदेखि चैत महिनासम्म पश्चिम नेपालका कणर्ाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनी प्रदेशमा २१ वटा भूकम्पहरु गएको तथ्यांक छ ।

लगातार गइरहेका यी कम्पनले पश्चिम नेपालमा कुनैपनि बेला फुट्न सक्ने ठूलो भूकम्पीय शक्ति जम्मा भइरहेको भन्ने संकेत गर्ने भूकम्पनविद्हरु बताउँछन् । अहिले सानो सानो स्तरमा आइरहेको भुइँचालो त्यहि ठूलो भूकम्पीय जोखिमको हुनसक्ने आँकलन गरिएको छ । एक वर्षको अवधिमा सुदूरपश्चिमका पाँच जिल्लालाई केन्द्रविन्दू बनाएर १६ वटा भूकम्प गएका छन् । जसमा बाजुरा जिल्लामा सबैभन्दा धेरै ५ रेक्टर स्केलभन्दा साना ६ वटा भूकम्पले केन्द्रविन्दू बनाएका छन् ।

गत कार्तिक ९ गते डोटी जिल्लामा एकै दिन ६ दशमलव ६, ४ दशमलव १, ५ दशमलव ७ रेक्टर स्केल मापन भएका तीन वटा भूकम्प गएको देखिन्छ । यस्तै अछाममा ४ रेक्टर स्केल भन्दा साना २, दार्चुलामा २, धनगढीमा १, बझाङमा २ पटक ४ रेक्टर स्केलसम्मका पराकम्पनहरु गएको राष्ट्रिय भूकम्पमापन केन्द्रको तथ्यांकमा उल्लेख छ । लुम्बिनी प्रदेशको बाँकेमापनि ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प मापन भएको छ । यस्तै कर्णाली प्रदेशका ४ जिल्लामा केन्द्रविन्दू भएर यहि अवधिमा ४ वटा भूकम्पका धक्का महशुस भएका छन् ।

केहीदिन अघि मुगुमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प मापन भएको थियो । यस्तै दैलेखको रानीवन केन्द्रविन्दू भएर ४ दशमलव १, रुकुम ४ दशमलव २ र डोल्पामा ४ दशमलव ६ रेक्टर स्केलका भूकम्पहरु गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

के भन्छन् विज्ञ ?

पश्चिम नेपालमा वि.सं. १५०५ मा ठूलो भूकम्प गएपनि त्यसयता ठूलो भूकम्प नगएका कारण जमिनमुनि सञ्चित ठूलो मात्राको उर्जाका कारण भूकम्पको उच्च जोखिम रहेको राष्ट्रिय भूकम्प मापन तथा अुनसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइराला बताउँछन् । दक्षिण भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तर तिब्बतीय चट्टानतर्फ जानु र युरेशिएन प्लेटमा घर्षण हुनुले झन् जोखिम बढाएको कोइराला बताउँछन् ।

‘पश्चिम नेपालमा पाँच सय वर्षदेखि भूकम्प गएको छैन, लामो समय भूकम्प नजाँदा जमिनमुनी अथाह उर्जा सञ्चित भएर बसेको छ, त्यो शक्ति बाहिर निष्कने वा सकिने भनेको भूकम्प गएर मात्र हुन्छ, अन्य उपायले त्यो शक्ति बाहिर निस्कदैन । उनी भन्छन, ‘त्यसकारण पनि साना-साना पराकम्पहरु गइरहेका छन् ।’ वैज्ञानिक अध्ययनले पश्चिम नेपालमा ठूलो भूकम्पजाने देखाएको छ तर त्यो कहिले जान्छ भनेर चाँही भन्न सकिने अवस्था भने नरहने उनको भनाई छ ।

भारत र तिब्बतको बीचमा पर्ने नेपाल उच्च भूकम्पीय जोखिमको क्षेत्र भएको उल्लेख गर्दै हिमालय क्षेत्रमा भारतीय र तिव्बतीय प्लेटहरू ठोक्किने स्थान भएकाले यो क्षेत्रको वरिपरि भूकम्पको सम्भावना सधैँ हुने भूकम्पविद् कोइराला बताउँछन् । ‘ठूलो मात्रामा जमिनमुनी उर्जाशक्ति संञ्चित भएका कारण साना-साना भूकम्पहरु गईरहेका छन्, यो भूकम्पजाने क्षेत्र पनि हो । तर यस्ता साना-साना भूकम्पले ठूलो भूकम्पलाई भने टार्दैन् ।

साना भूकम्पले ठूला भूकम्प किन टार्न सक्दैन भने, एउटा ४ रेक्टर स्केलको भूकम्पले जति इनर्जी निकाल्छ ३ रेक्टर स्केलका भूकम्पहरु २५ हजार पटक जानु पर्दछ । भन्न खोजेको के भने एउटा सात रेक्टर स्केलको भूकम्पले जमिनमुनिबाट जति इनर्जी निकाल्छ त्यसलाई टार्न ६ रेक्टर स्केलका २५ र ५ रेक्टर स्केलका एक हजार वटा भूकम्पहरु जानु पर्दछ । साना भूकम्पले अलिअलि उर्जा निस्कदा केही पछाडि धकेलिएला त्यो बेग्लै कुरा भयो’, भूकम्पविद् कोइरालाको भनाई छ ।

नेपालका हिमाली क्षेत्रहरु टेक्टोनिकल्ली एक्टिभ अर्थात् भूकम्पीय जोखिम भएका क्षेत्रहरु भएकाले नेपालमा भूकम्प जाने खतरा सधैं रहने हुँदा यसबाट सधै चनाखो हुनुपर्ने तर अफवाह फैलाउन नहुने भूकम्पविद् कोइराला बताउँछन् । भूकम्प आंफैले त्यति क्षति पुर्‍याउँदैन तर हामीले बनाएका कमजोर संरचनाहरु र आवश्यक पूर्वतयारीको अभावले गर्दा धेरै क्षति हुने कोइरालाको भनाई छ ।

विनाशकारी भूकम्प गएको खण्डमा क्षतिको एकिन गर्न नसकिने भन्दै कोइराला भन्छन्, ‘६ रेक्टरको भूकम्पले क्षति गर्‍यो भने त्यो भन्दा त ७ को करिव १० गुणा बढी शक्तिशाली हुन्छ भने ३२ गुणा बढी उर्जा निक्लन्छ’, कोइराला भन्छन्, ‘अब ८ माग्यो भने ६ को भन्दा १०० गुणा बढी शक्तिशाली हुन्छ १० गुणा बढी उर्जा निष्कन्छ । त्यसो हुँदा ६ को भन्दा ७ को भूकम्पले बढि क्षति हुन्छ । पुराना संरचनाहरुमा ६ रेक्टरको भूकम्पले क्षति पुर्‍याउँछ भने अब ७ रेक्टरले कस्तो असर होला त्यो भन्नै परेन नि ।’

कोइरालाका अनुसार भवन तथा संरचना निर्माण गर्दा ध्यानदिन सके भूकम्पबाट हुने क्षति धेरै हदसम्म न्यूनिकरण गर्न सकिन्छ भने घर बनाउँदा भौगोलिक नक्साहरुको अध्ययन गरी चट्टानी भूभागमाथि जग बनाउनु राम्रो हुन्छ ।

वीरेन्द्रनगर उच्च जोखिममा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बनेसँगै यहाँ जनसंख्या र जनघनत्व पनि बढ्दै गएको छ । भवन आचारसंहिता विपरित प्रदेश राजधानी वीरेन्द्रनगरमा दैनिक धमाधम भौतिक संरचनाहरु निर्माण भइरहेका छन् । यसरी आचारसंहिता विपरित भौतिक संरचना निर्माणको कार्य तीव्र भएपछि पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगर भूकम्पको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । वीरेन्द्रनगर नगरपालिका र तयार नेपाल नामक गैरसरकारी संस्थाको सहकार्यमा एक वर्ष लगाएर गरिएको अध्ययनले एक वर्ष अघि नै यस्तो नतिजा देखाई सकेको छ ।

जियो इञ्जिनियरिङ कन्सल्टेन्टले गरेको भौगर्भिक अध्ययनले भूकम्प आएको खण्डमा वीरेन्द्रनगरमा ठूलो क्षति हुनुका साथै बाढी र पहिरोको जोखिम समेत उच्च रहेको देखाएको छ । उक्त अध्ययन प्रतिवेदनमा यदि भूकम्प आएको खण्डमा सबैभन्दा उच्च क्षति वडा नम्बर ६ मा हुने उल्लेख छ । प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा भवन र घर निर्माणको कार्य ह्वातै बढेको छ । नयाँ बनेका प्रायः भवन संहिता विपरीत निर्माण गरेको पाइएको अध्ययनमा उल्लेख छ । वीरेन्द्रनगरको मुख्यबजार क्षेत्र वडा नम्बर ६ का एक हजार आठ सय ४९ घर अध्ययनमा समावेश भएका थिए । ती घरहरु प्रायः भवन निर्माण संहिता विपरीत निर्माण गरिएको अध्ययनमा उल्लेख छ ।

यसले गर्दा भूकम्प आउँदा वडा नम्बर ६ मा मात्रै करिब पाँच अर्बको क्षति हुने अनुमान अध्ययनमा गरिएको छ । नगरका वडा नम्बर २, ३, ९ र १० बाढीको उच्चजोखिममा रहेको अध्ययनमा संलग्न डा. दीपक चौलागाईले बताए । उनकाअनुसार भौगोलिक वनावट अनुसार नगरको उत्तरी क्षेत्रमा पहिरो र दक्षिणी क्षेत्रमा बाढीको साथै भूकम्पको उच्च जोखिम रहेको पाइएको हो । भूकम्पको सम्भावित उच्च जोखिमलाई कम गर्न वीरेद्रनगरमा भौतिक संरचना निर्माण कार्यमा नियन्त्रण गर्दै भवन आचारसंहिता अनुरुप संरचना निर्माण गर्नुपर्ने अध्ययनले सुझाव दिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *