नेपालगन्जका चार स्थान सिल

भिम पौडेल
बाँके, २० बैशाख ।
नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उच्च सतकर्ता अपनाइएको हो ।

भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै छ सय जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ । नेपालगञ्जका डिएसपी रोड, वडा नम्बर ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए ।

प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्क्स्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो । उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ ।नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो ।

ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका ती युवा लामो समयदेखि उनी घर छोडर मस्जिद बस्दै आएका छन् । उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाव संकलन गरी जाँच गरिएको छ ।

तपाईको प्रतिक्रिया