बडीमालिका पूजा गर्न डोलीसहित सरकारी टोली

जुम्ला, २०  साउन  ।

बाजुरा जिल्लास्थित बडीमालिका भगवती पूजाका लागि वैदिक विधिअनुरूपका पूजाको डोलीसहित जुम्लाबाट सरकारी टोली त्यसतर्फ पैदलै प्रस्थान गरेको छ। जनैपूर्णिमाको दिन लाग्ने मेलाका लागि फूलप्रसादसहितको सरकारी डोली पठाइएको हो। सो डोली बडीमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ता समय लाग्ने जनाइएको छ। सो डोली लैजाँदा पैदलै जानुपर्ने परम्परा रहेको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित भक्तजन पैदलै बाजुरातर्फ मङ्गलबार प्रस्थान गरेको जनाइएको छ। बडीमालिका पूजा गर्न जाने टोलीलाई नागपञ्चमीका दिन धुमधामसाथ बिदाइ गर्ने चलन रहेको छ।

तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा हरेक साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन बडीमालिकाको पूजा गर्न जाने प्रचलन रहिआएको छ। स्थानीय संस्कृतविद् रमानन्द आचार्यका अनुसार नेपाली सेनाको एक टुकुटीले वटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडीमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गरिएको छ।

परम्परादेखि नै नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडीमालिका जाने चलन रहेको छ। डोटी बाजुराको टोली बडीमालिका आउने जुम्लाको टोली बडीमालिका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ। बडीमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोला लैजाने चलन रहेको छ।

नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका भक्तजन, सरकारी प्रतिनिधिले फूलमाला अबिरसहित बिदाइ गरेका थिए। संस्कृतविद् आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी पाँचवटा पूजाका सामान ‘पेटारो’ नामक झोलीमा राखेर बडीमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बडीमालिका जाने टोली सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय भएको जानकारी दिए । उहाँका अनुसार कोरोनाका कारण गत वर्ष सीमित मानिससहितको टोली बडीमालिका पठाइएको थियो। यस वर्ष नागरिकको उत्साह पनि धेरै देखिएको प्रजिअ प्रसाईंले बताए ।

बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ। सोहीअनुसार बडीमालिकाबाट टोली हिँडेको १७ दिनपछि जुम्ला फर्किने परम्परा छ। श्री ५ पृथ्वीनारायण शाहकै पालादेखि जनैपूर्णिमाका दिन बडीमालिकामा लाग्ने विशेष मेलामा सरकारीस्तरबाट पूजा पठाउन थालिएको बताइन्छ।

स्राेत ः गाेरखापत्र

बडीमालिका पूजा गर्न  डोलीसहित सरकारी टोली

कर्णाली सरकारले गर्याे १६ किलोमिटर सडक कालोपत्रे

बडीमालिका पूजा गर्न  डोलीसहित सरकारी टोली

यी हुन् कर्णालीका ६९ ब्ल्याक स्पट :

Leave a comment

Your email address will not be published. Required fields are marked *