सुर्खेतका २ सहित एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज

काठमाडौ, ७ बैशाख ।
नेपाल आयल निगमले एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको हो । निगमको शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको पाइएको बताएको छ । बाँकी ५० उद्योगले अनुमति अनुरुप तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन नकसेको र अनुमतिपत्र विक्री वितरण गरेर विकृति निम्त्याएको ठहर गर्दै तिनीहरुको निर्माण र सैद्धान्तिक सहमति खारेज गरिएको जानकारी दिइएको छ ।

सैपाल ग्यास उद्योग अत्तरीया कैलाली, सगरमाथा ग्यास उद्योग, नवलपरासी र सिता ग्यास उद्योग धादिङको अनुमति पत्र भने खारेज भएको छैन । अहिले खारेज भएका उद्योगहरुले २०७४ माघ १४ पछि विभिन्न मितिमा अनुमतिपत्र पाएका थिए । अनुमतिपत्रमा उल्लेख भएअनुसार समय सीमाभित्र ग्यास उठाउने गरी पीडीओ लिन नआएका उद्योगको अनुमतिपत्र खारेज भएका निगमले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया