खेल पर्यटनका लागि तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुने

जुम्ला, २१ फागुन ।
कर्णाली प्रदेशको पर्यटन विकासलाई प्रवर्धन गर्न यहाँका स्थानिय क्लबले खेल लाई पर्यटनसंग जोड्ने भएका छन् । जुम्ला मात्रै नभई समग्र कर्णालीको संस्कृति र सुन्दरता चिनाउने उद्देश्यले पछिल्लो समय संसारभर चर्चित बन्दै गइरहेको अल्ट्रा म्याराथन र जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ ।
जुम्ला सरमुकाम खलंगालाई केन्द्र बनाई एथलेटिक्स मात्रै नभई खेल र पर्यटन जोड्ने गरि कर्णाली स्पोर्टस कल्बले विभिन्न कार्याक्रम आयोजना गर्दै आइरहेको छ ।
सामान्य म्याराथन समथर भुभागमा आयोजना हुन्छ तर अल्ट्रा म्याराथन पहाडको उकालो ओराली भएको क्षेत्रमा आयोजना हुने गरेकोले यसले पर्यटनमा बिशेष महत्व राख्ने क्लबका संरक्षक हरि बहादुर रोकाया बताउँछन् । रोकाया आँफु पनि एक ओलम्पियन तथा अल्ट्रा म्याराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका खेलाडि हुन ।
अल्ट्रा म्याराथनका लागि पहाडका भएका पर्दमार्गहरु निकै उत्कृष्ट हुने गर्छन् । कर्णाली मात्रै नभई समग्र नेपाल अल्ट्रा म्याराथनको ठूलो सम्भावना भएको क्षेत्र पनि हो । विगतमा जुम्ला सदरमुकाम खलंगाबाट मुगुको रारा तालसम्म जाने पदमार्ग रहेको थियो ।
पछिल्लो समय पहाडी क्षेत्रमा भएको सडक विस्तार यो पदमार्ग पनि क्षति पुगेको छ । अल्ट्रा म्याराथन आयोजना गर्नुको उद्देश्य सोहि रुटको प्रवर्धन गर्नु पनि भएको आयोजक क्लबले जनाएको छ ।
समुद्री सतहबाट २ हजार ३०० मिटरको उचाईं रहेको जुम्ला सदरमुकामबाट सुरु हुने यो म्याराथन ३ हजार ३०० मिटरको उचाईंमा रहेको डाफेँ लेक हुदैँ फेरि २५०० मिटर उचाईं रहेका न्याउरीघाट क्षेत्र पुग्नेछ । त्यहाँबाट ४ हजार १०० मिटरमा रहेका चुच्चेमारा लेक भएर २ हजार ८९० मिटर उचाईंमा रहेको रारा ताल छेउमा समापन हुन्छ ।
४९ किलोमिटर लामो यो रुटको जस्तो उचाईंमा विविधता संसारका कुनै पनि रुटमा छैन । तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथनमा व्यवसायीक खेलाडीका साथै पदयात्रा गर्न चाहने १६ वर्ष भन्दा माथीका शारिरिक रुपमा सक्षम व्यक्ति सहभागी हुन सक्नेछन् ।
जुम्ला देखि रारा दुई दिनको पदयात्राको रुट भएपनि व्यवसायीक खेलाडीले ५ देखि ७ घण्टा सम्ममा दौड पुरा गर्ने आयोजकले बताएको छ । प्रतियोगिता आयोजना गर्न ५० लाख रुपैयाँ सम्म खर्च हुने अनुमान गरिएको छ ।
२०७७ सालमा आयोजना हुनु पर्ने म्याराथन कोरोना महामारीले रोकिएको थियो । अहिले कोरोना महामारीको असर कम हुदैँ गएकाले कल्बले चैत २६ गते आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि रजिष्ट्रेसन खुल्ला गरिएको छ ।
४९ कि.मी अल्ट्रा दौड महिला÷पुरुष तर्फ सहभागी हुन विदेशी धावकका लागि ४ हजार ५०० रुपैयाँ र नेपाली धावकका लागि १ हजार ६०० रुपैयाँ तोकिएको छ । ५ कि.मी बिध्यार्थी तर्फ बिद्यालयको सिफारिसमा निशुल्क दर्ता गरिने छ ।
त्यस्तै ५ कि.मी कर्मचारी तथा व्यपारी तर्फ खुल्ला ५०० रुपैयाँ शुल्क तोकिएको आयोजक क्लबले जनाएको छ । कल्बले खेलाडीलाई खाने बस्ने सबै सुविधा प्रदान गर्नेछ ।







