अभिनेत्री रेखा थापा कसरी बनिन् जाजरकोटकी बुहारी (फोटो फिचर)
सुर्खेत, ३ फागुन
एक महिनायता नेपाली फिल्मवृत्त अभिनेत्री रेखा थापाले आउँदो वैशाखमा बिहे गर्ने गसिपले गर्माइरहेको छ । रेखा भने सञ्चारकर्मीको जिज्ञासामा ‘मिडियाले नै मेरो बिहे गराइदिने भए’ भन्दै ठट्यौली जवाफ फर्काइरहेकी छिन् ।
बिहे बारे सोध्ने निकटहरुलाई उनी उल्टै सोधिरहेकी छिन्, ‘केटा खोइ ? मेरो बिहेका लागि केटा चाहियो नि । खोज्दिनुस् केटा ।’ तर, आजै ‘भ्यालेन्टाइन्स डे’ का दिन नेपाल समयलाई प्राप्त सूचनाअनुसार उनै अभिनेत्री रेखा थापाले दुई हप्ताअघि नै ‘कोर्ट म्यारिज’ गरिसकेकी छिन् ।
जतिबेला उनको बिहेबारे गसिप बनिरहेको थियो, त्यतिबेलै काठमाडौं जिल्ला अदालत पुगेर उनले आफ्ना प्रेमी बलराम शाहीसँग बिहे गरेको खुलेको छ । अदालतको विश्वस्त स्रोतअनुसार रेखाले माघ १२ गते जाजरकोट स्थायी घर भएका प्रेमी शाहीसँग बिहे गरेकी हुन्।
पछिल्ला दिनमा रेखासँग गहिरो प्रेममा रहेका शाही इजरायलमा बसेर पर्यटन व्यवसाय गर्दै आएको बुझिएको छ । ‘रेखा थापा त्यसदिन कानुनी बिहे दर्ता गर्न आफ्नो जोडीसँग मास्क लगाएर आउनुभएको थियो,’ अदालत स्रोतले भन्यो, ‘जोडीलाई बिहेको प्रमाणपत्र दिने बेला नाम रेखा थापा देखेपछि न्यायाधीशले उहाँलाई खोइ हामी नि हेरौँ न भन्दै मास्क नै खोल्न लाउनुभएछ । माहोल रमाइलो भएछ ।’
रेखाको यो दोस्रो बिहे हो । निर्माता छविराज ओझासँगको १० वर्षको सम्बन्धमा पूर्णविराम लागेपछि उनी केही वर्षयता ‘एक्लो’ जीवन बिताइरहेकी थिइन् । १९ वर्षअघि छविराजकै फिल्म ‘हिरो’बाट अभिनयमा प्रवेश गरेकी रेखाले पछिल्लो समय निरन्तर झेलिरहने प्रश्न थियो– ‘बिहे कहिले गर्ने ?’ परिवारभित्रैबाट पनि उनलाई बिहेको दबाव पनि थियो ।
उनले भन्ने गर्थिन्, ‘अब बिहे गर्नुपर्छ भन्नेहरु एकदमै धेरै छन्, ममीले पनि अब गर्नुपर्छ भनिरहनुभएको छ। तर मैले बिहे अरुको लागि गर्ने होइन। परिवार र समाजका लागि भन्दा पनि यो मेरो नितान्त व्यक्तिगत जिन्दगी बिताउने कुरा हो ।’ पहिलो बिहे गर्दा आफू ‘बच्चै’ र ‘अपरिपक्व’ भएकाले अब चाँहि सोचविचार गरेरै बिहे गर्ने जवाफ उनी दिने गर्थिन्।
एकपल्ट उनले भनेकी थिइन्, ‘म एकदमै धार्मिक मान्छे हो। लेखेको छ भने यही महिना पनि हुन सक्छ तर कहिले लेखेको छ, कोसँग लेखेको छ, मलाई कुनै आइडिया छैन। म त बिहेका लागि तयार छु । तर खोइ जुरेकै छैन ।’
बिहेबारे यस्तो प्रतिक्रिया दिँदै आइरहेकी रेखा आफ्नो बिहेको खबर भने तत्काललाई गोप्य नै राख्ने मुडमा छिन्। रेखा निकट श्रोतका अनुसार उनी विशेष तरिकाले यो खबर औपचारिक रुपमा बाहिर ल्याउने सुरसारमा छिन्।
‘त्यसकारण उनी बिहेबारे सोध्ने सबैसँग तर्किरहेकी छिन्,’ उनी निकट स्रोत भन्छ, ‘तर पहिलो सम्बन्धबाट धेरै पाठ सिकेकी रेखाले यो बिहेको निर्णयचाँही सुझबुझपूर्ण ढंगले लिएकी हुन् ।’
हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा जस्ता फिल्ममा आफूलाई प्रमुख भूमिकामा उतारेकी अभिनेत्री रेखा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन् ।
हालै उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएर सम्मानजनक मतसहित पराजित भएकी थिइन् । बजारमा रेखाले वैशाखमा बिहे गर्ने गसिप आइरहँदा धेरैले अनुमान गरेका थिए, पक्कै प्रणय दिवसमा रेखा केही संकेत गर्दैछिन् । तर, त्यस्तो केही भएन ।
आफ्नो एकल तस्बिर राख्दै उनले फेसबुकमा यत्ति मात्रै लेखिन्, ‘प्रणय दिवसको शुभकामना । प्रेमको शक्तिले हामी सबैलाई सभ्य, करुणामयी र उदार बनाउदै जाओस्। डर, दासता र हिंसाबाट मुक्त हुँदै अरुलाई आफू जस्तै मानव देख्न सकौँ ।’














