भूकम्पको घाउ निको नहुँदै पहिरोको बितण्डा विस्थापनको संघारमा तीन सय बढी घरधुरी

ओम शाही
सुर्खेत, १० भदौ ।
जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ गाउँकी ६२ वर्षीया धनसरी कामीका दैनिकी ३० साउनयता असामान्य छन् । उनी बिहानको झिसमिसे उज्यालोमै सरकारले राहतस्वरूप दिएको सेल्टरबाट निस्कन्छिन् । उनको यात्रा अन्यत्र होइन, नजिकै रहेको आफ्नै घरतर्फ हुन्छ । १७ कात्तिक २०८० को भूकम्पले बस्न नमिल्ने गरी घर चर्किएपछि उनको परिवार अस्थायी टहरामा बस्दै आएको थियो । अहिले भने त्यही टहरोसमेत पहिरोले बगाइदिएपछि उनी फेरि अस्थायी सेल्टरमा पुगेकी छन् ।
१० वर्षे जनयुद्धका समयमा धनसरीका श्रीमान्को मृत्यु भयो । औषधि गर्न जाजरकोट सदरमुकाम गएका उनका श्रीमान् त्यसयता कहिल्यै घर फर्केर आएनन् । त्यसपछि उनी छोरीको सहारामा जीवन बिताउँदै आएकी छन् । ३० साउनको साँझ धनसरी आफ्ना नातीनातिनासँग अस्थायी टहरामा थिइन् । बाहिर भारी वर्षा भइरहेको थियो । त्यही बेला घरमाथिबाट ठूलो आवाजमा विस्फोट भएजस्तो आवाज उनको कानमा पर्यो । बाहिर निस्केर हेर्दा नजिकैको खोल्सामा एक्कासि पहिरो आएको देखिन् । लगत्तै उनीहरू भागेर सुरक्षित स्थानमा पुगे ।
एकसरो कपडामै धनसरीले आफूसहित छोरी, ज्वाइँ र नातिनातिनालाई जोगाउन सफल भइन् । तर, पहिरोले उनको घर मात्रै लगेन्, खेती गरेर जीविका चलाउँदै आएको जमिनसमेत क्षणभरमै खोलामा परिणत गरिदियो । अहिले धनसरी त्यही पहिरोले छियाछिया बनाएको बारी र घर हेर्न दिनमा तीन–चार पटक पुग्छिन् । भूकम्पले घर चर्किएपछि सुरुमा त्रिपाल र पछि अस्थायी टिनको टहरामा बस्दै आएकी उनलाई पुनः त्रिपाल र सेल्टरमा सर्नुपरेपछि पीडामाथि थप पीडा थपिएको छ । ‘पहिले भूकम्पले सतायो, अहिले पहिरोले सर्वस्व लियो,’ उनी भन्छिन्, ‘भूकम्पले घरमा क्षति पुर्याए पनि खेतीपाती गर्ने जमिन केही भएको थिएन । अहिले सबै जमिन पहिरोले खोला बनायो । हाम्रो आयस्रोतको अन्य माध्यम छैन, टहरो बनाउने जमिन पनि बचेन ।’
धनसरीको जस्तै पीडा महिमा विकको पनि छ । उनको घरसँगै बारी पहिरोले बगाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् । भूकम्पले घर भत्किएपछि उनको परिवार सरकारले अस्थायी आवास निर्माणका लागि दिएको ५० हजार रुपैयाँबाट बनाइएको टहरामा बस्दै आएको थियो । ३० साउनको दिन उनी आफ्नी फुफूसँग घरमै गफिएर बसेकी थिइन् । एक्कासि गाउँमाथिबाट पहिरो खस्न थालेपछि उनीहरू भागेर ज्यान जोगाउन सफल भए । तर, घर र बारी भने पहिरोले लग्यो । अर्की स्थानीय कुमारी विकको घर पनि पहिरोले बगायो । उनले भने आफ्नो चारजनाको परिवारलाई सुरक्षित राख्न सफल भइन् । उनीहरूले त्यो दिन भोगेको त्रास १७ कात्तिक २०८० को भूकम्पका समयमा समेत भोगेका थिएनन् ।
‘एक्कासि बम पड्किएजस्तो ठूलो आवाज आयो । पहिले घर नजिकैका खोलामा भल बगेजस्तो भएको थियो,’ कुमारी भन्छिन्, ‘त्यसपछि बस्तीमाथिबाट पूरै सोरिएर ढुंगामाटोसहितको पहिरो घर र बारीमा बजारियो । धन्न बाँच्न सफल भइयो ।’ धनसरी, महिमा र कुमारी मात्रै होइन, रिसाङ गाउँका अधिकांश बासिन्दाले यतिबेला उस्तै नियति भोगिरहेका छन् । जाजरकोट भूकम्पका ती अत्यासलाग्दा दिनहरू विस्तारै स्मृतिबाट हटाउँदै उनीहरू सामान्य जीवनमा फर्किँदै थिए । भूकम्पले थिलथिलो बनाएका घर र बस्ती पुनर्निर्माण हुने तथा सुरक्षित आवासमा फर्कने आशामा उनीहरूले दिन गुजारिरहेका थिए ।
विडम्बना, उनीहरूको त्यो आशा अब फेरि अनिश्चित बनेको छ । भूकम्प गएको ३४ महिनासम्म उनीहरू अस्थायी आवासबाट स्थायी आवासमा सर्ने सपना बुन्दै बसे । साँघुरा टिनका टहरामा अटसमटस बस्दै आएका उनीहरू पुनर्निर्माणपछि बन्ने घरमा ढुक्कसँग बस्ने सोचमा थिए । नयाँ सरकार बनेकाले अब चाँडै पुनर्निर्माण अघि बढ्ने कुरा पनि उनीहरूले सुनेका थिए । तर, ३० साउनको साँझ परेको अविरल वर्षापछि आएको पहिरोले उनीहरूको त्यो सपना नै बगाइदिएको छ ।
जुन घर पुनर्निर्माण भएर स्थायी आश्रय बन्ने प्रतीक्षामा थिए, त्यही घर र घरसँग जोडिएको जमिन पहिरोमा परेपछि उनीहरू कहाँ फर्कने भन्ने अन्योलमा छन् । त्यसदिनको पहिरोमा चारजनाले ज्यान गुमाए भने ११ जना घाइते भए । पहिरोमा पुरिएर भेरी नगरपालिका–२, चिसापानीका ७४ वर्षीय भीमबहादुर कार्की, केदारबहादुर कार्की तथा सोही वडाको फारुला गाउँका उमाप्रसाद खत्री र रती खत्रीले ज्यान गुमाए ।
ठूलो संख्यामा नागरिक पुर्खौंदेखि बसोबास गर्दै आएको जमिनबाट जबर्जस्ती विस्थापित बन्न पुगेका छन् । पहिरोमा परी विस्थापित भएकाहरू अहिले भेरी नगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका अस्थायी सेल्टरमा बसेका छन् । उनीहरूको भौतिक शरीर सरकारले निर्माण गरेको सेल्टरमा थन्किएको छ, तर मन भने पहिरोले पुरेको घरवरपरै छुटेको छ ।
भूकम्पको अत्यास व्यहोरेका बालबालिकाको मनोविज्ञानमा असर परेको छ । उनीहरु विद्यलाय फर्कन सक्ने अवस्था पनि बनेको छैन । रिसाङ गाउँका स्थानीय टेकबहादुर खत्रीका अनुसार पहिरोका कारण तत्काल गाउँमा बस्न सकिने अवस्था छैन ।
‘गाउँको सिरानमा पहिरोले ठूलो क्षति पुर्याएको छ । पहिरोले अधिकांश क्षेत्रमा चिरा पारेकाले तत्काल घरमा फर्कन सक्ने अवस्था छैन,’ उनले भने । भएभरको जमिन पहिरोले लगेपछि खत्रीलाई परिवार कहाँ राख्ने भन्ने चिन्ताले सताउन थालेको छ । उनले गाउँको सिरानमा खनिएको सडककै कारण सिंगो गाउँ जोखिममा परेको बताए ।
‘सडक खनेपछि माथिल्लो भाग कमजोर भएको थियो । अहिले वर्षापछि त्यही क्षेत्रबाट पहिरो खस्दा गाउँ नै जोखिममा परेको छ,’ उनले भने । उनले पहिरो पीडितको दीर्घकालिन व्यवस्थापन गर्न राज्यले वस्ती स्थानान्तरणको काम तत्काल अघि बढाउन माग गरे । भूकम्पले घरविहीन बनाएको ३४ महिनापछि स्थायी आवासको प्रतीक्षामा रहेका रिसाङवासीका लागि अहिले अर्को प्रश्न पहाड बनेर उभिएको छ—अब उनीहरू फर्कने घर कहाँ छ ? भूकम्पपछि पुनर्निर्माणको पर्खाइमा रहेका उनीहरूको घरसँगै जमिनसमेत पहिरोले बगाएपछि राहत र अस्थायी सेल्टरभन्दा परको दीर्घकालीन पुनर्वास नै अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ । भूकम्पपछिको पुनर्निर्माणको गती देखेका पहिरो पीडित नागरिकले राज्यले आफूहरुलाई सुरक्षित स्थानमा सार्नेमा भने विश्वस्त हुन सकेका छैनन् ।
सेल्टरमा चार सय ६९ विस्थापित
भेरी नगरपालिकाले वडा नम्बर ३ को विजय प्रावि स्याँला, महिला आश्रयस्थल थाप्ले, वडा नम्बर २ को रिसाङ र विष्णु प्रावि दारनेटा गरी विभिन्न स्थानमा अस्थायी होल्डिङ सेन्टर स्थापना गरेर विस्थापित नागरिकलाई आश्रय दिइरहेको छ । भेरी नगरपालिकाको विपद् शाखाका प्रमुख यज्ञप्रसाद गौतमका अनुसार ती होल्डिङ सेन्टरमा चार सय ६९ नागरिकलाई राखिएको छ ।
सेल्टरमा बस्नेमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संख्या बढी छ । गौतमका अनुसार एक सय ३३ बालबालिका, पाँच गर्भवती महिला र पाँच अपाङ्गता भएका व्यक्तिहरु सेल्टरमा आश्रय लिइरहेका छन् । उनका अनुसार पहिरोका कारण तीन सय २३ घर प्रभावित भएका छन् ।
रिसाङ गाउँका १२, स्याँलाका एक र कोलचौरका एक गरी १४ घरमा पूर्णरूपमा पहिरोले क्षति पुर्याएको गौतमले बताए । जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले विस्थापित नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राखिएको बताए ।
उनीहरूको बास, आवश्यक स्वास्थ्य सेवा, खानेपानीलगायत सुरक्षा व्यवस्थापन मिलाइएको उनले जानकारी दिए । उनले तत्काल बस्तीमा फर्कन सक्ने अवस्था नरहेकाले व्यवस्थापनमा चुनौती थपिदै गएको बताए । जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य बेदराज सिंहले पहिरो पीडित नागरिकको उचित व्यवस्थापन तत्काल हुनुपर्ने बताउँछन् ।
भूकम्प गएको लामो समयसम्म पीडा भोगेका नागरिकलाई राज्यले समयमै सुरक्षित स्थानमा सार्नतर्फ ध्यान दिनुपर्ने उनले बताए । दुखमा परेका नागरिकलाई अभिभावकिय भूमिकामा रहेर काम गर्नुपपर्ने राज्य आफ्नो दायित्वबाट बिमुख हुनु लोककल्याणकारी राज्यको उपहास भएको उनको आरोप छ । प्रभावितहरुलाई राखिएको होल्डिङ्ग सेन्टरमा खानेपानी र स्वास्थ्य लगायतका समस्या देखा पर्न थालेको भन्दै यथासिंघ्र उचित व्यवस्थापनको काम संघ र प्रदेश सरकारले अघि सार्नुपर्ने उनको माग छ ।
तत्काल बस्तीमा फर्कन जोखिम
घटना घटेलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रभावित क्षेत्रमा खटिएको भूगर्भविद्सहितको टोलीले सो क्षेत्र तत्कालका लागि बस्न योग्य नरहेको निष्कर्ष निकालेको छ । प्राधिकरणका उपसचिव सुरेश सुनारका अनुसार उक्त टोलीले पहिलो प्रभावित बस्तीमा पुगेर वास्तविक अवस्थाबारे जानकारी लिएको थियो ।
‘भूगर्भविद्को टोलीले गरेको स्थलगत अनुगमनबाट सो क्षेत्रमा रहेका सम्पूर्ण घरहरू जोखिममा रहेको पाइएको छ । तत्कालका लागि प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भएको छ,’ उनले भने, ‘पहिरो प्रभावित क्षेत्रको अवस्था हेर्ने हो भने नागरिकलाई अस्थायीरूपमा राखिएको क्षेत्र नै सुरक्षित देखिँदैन ।’ प्राविधिक टोलीले प्रारम्भिक रूपमा प्रभावित क्षेत्रका बस्तीका घर तथा पहिरो प्रभावित नागरिकलाई तत्काल सारिने क्षेत्र सुरक्षित भए–नभएको यकिन गर्ने काम सम्पन्न गरेको उनले बताए ।
प्रभावित क्षेत्रमा बस्ती बसाउन मिल्ने वा नमिल्ने विषयमा प्राविधिक टोलीले पुनः अध्ययन गर्ने उनको भनाइ छ । अध्ययनपछि जोखिम कम भएको खण्डमा बस्ती बसाइने र अन्यथा सरकारले उपयुक्त निर्णय गरेर सुरक्षित स्थानमा सार्नेलगायतका काम गर्ने उनले बताए ।






