मधुवनमा मृत अवस्थामा वयस्क चितुवा फेला

बर्दिया ,२९ भदौ ।
बर्दियाको मधुवन नगरपालिका–६ स्थित महिला जागृति सामुदायिक वनमा मृत अवस्थामा एक वयस्क चितुवा फेला परेको छ। लामो समयदेखि मरेको अवस्थामा रहेको चितुवाको शरीरका अधिकांश अंग कुहिएकाले भाले वा पोथी छुट्याउन नसकिएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ।
सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा चितुवा फेला परेको जानकारी आइतबार मात्रै डिभिजन वन कार्यालयलाई गराइएको थियो। कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा चितुवाको मृत्यु प्राकृतिक कारणबाट भएको देखिएको छ।
डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ सहायक वन अधिकृत रामगोपाल चौधरीले प्रारम्भिक अनुसन्धानबाट चितुवाको मृत्यु प्राकृतिक कारणले भएको पाइएको बताउनुभयो। उहाँका अनुसार शरीरका अंगहरू कुहिसकेकाले मृत्युको थप कारण पहिचान गर्न कठिन भएको छ।
बर्दियामा पछिल्ला वर्षहरूमा मानव–वन्यजन्तु द्वन्द्वसँगै चितुवासहित अन्य वन्यजन्तुको मृत्युका घटना पनि देखिँदै आएका छन्। डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा चितुवाको आक्रमणबाट चार जनाको मृत्यु भएको थियो भने जंगली हात्ती र गैँडाको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा चितुवाको आक्रमणबाट आठ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ। सोही अवधिमा पाटेबाघको आक्रमणबाट दुई जना र हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।
मानव बस्ती तथा वन क्षेत्र आसपासमा समस्याग्रस्त वन्यजन्तुको गतिविधि बढ्दै गएपछि वन कार्यालयले नियन्त्रण तथा व्यवस्थापनको कामसमेत गर्दै आएको छ। कार्यालयका अनुसार पछिल्लो अवधिमा छ वटा समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिइएको छ।
वरिष्ठ सहायक वन अधिकृत चौधरीका अनुसार पछिल्ला दुई वर्षमा मात्रै बर्दियामा प्राकृतिक कारणले छ वटा चितुवाको मृत्यु भएको छ। पछिल्लो पटक महिला जागृति सामुदायिक वनमा मृत अवस्थामा फेला परेको चितुवासमेत प्राकृतिक कारणले मृत्यु भएका चितुवाको सूचीमा थपिएको कार्यालयले जनाएको छ।






