पहिरोपीडित नौ परिवारलाई राहत

गाेल्डेन बुढा
जुम्ला,३१ साउन ।
गत साउन ९ गते मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा बिहान ४ बजे ढुंगासहितको पहिरो खस्दा एउटा परिवारको आशा र भविष्य उजाडियो। होटलमा सुतिरहेका ३ वर्षीय बालक रमेश बडुवालले पहिरोमा ज्यान गुमाए। उनका बाबुआमा घाइते भए।स्थानीय पेमा छेन्जाेक ताेर्चे तामाङको घरमा भाडामा होटल व्यवसाय सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्प गाउँका निवासी ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगासहितको पहिरो खसेको थियो।घटनालगत्तै प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक सइ वीर बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार कार्य सुरु गरेका थिए।

पहिरोमा च्यापिएका ३ वर्षीय बालक रमेश बडुवाललाई उद्धार गरी उपचारका लागि बिहान ४ बजेर ४८ मिनेटमा पुलु स्वास्थ्य चौकी पुर्याइएको थियो।मध्यम अवस्थामा अस्पताल पुर्याइएका बालकलाई बिहान ५ बजेर ४५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनका बाबु जगनाथ र आमा सृजना बडुवाल घाइते भए।पहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त भयो। घटनास्थल वरपर रहेका अन्य आठ वटा घरसमेत जोखिममा परेपछि ती घरमा बसोबास गर्ने परिवारलाई नजिकैको सुरक्षित स्थानमा स्थानान्तरण गरियो।बिहानको अँध्यारोमै खसेको ढुंगासहितको पहिरोले एउटा परिवारको आशा र भविष्य खोस्यो। होटलमा सुतिरहेका तीन वर्षीय रमेशका लागि त्यो बिहान कहिल्यै नफर्किने बिहान बन्यो। बाबुआमा घाइते भए, घर पूर्ण रूपमा क्षतिग्रस्त भयो र वरपरका आठ घरका परिवार पनि आफ्नो थातथलो छाडेर सुरक्षित स्थानमा सर्न बाध्य भए।यही पीडालाई मध्यनजर गर्दै शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी टेवा नेपालको आर्थिक सहयोग र महिला अधिकार केन्द्र नेपाल मुगुको समन्वयमा पहिरोबाट प्रभावित तथा जोखिममा रहेका ९ घरपरिवारलाई राहत वितरण गरिएको छ।पेमा छेेन्जाेक ताेर्चे तामाङ, पेमा साङ्गे तामाङ, जगन्नाथ बडुवाल, कर्णबहादुर खड्का, कार्मा ताेर्चे लामा, पेमा लामा, ठिल्ले लामा, साेनाम ताेर्चे लामा र साेनाम नाेर्बु तामाङलाई राहत दिइएको हो।महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीका अनुसार १ लाख ५० हजार रुपैयाँ बढी मूल्य बराबरको राहत वितरण गरिएको हो। उक्त वडाका वडा अध्यक्ष रतन बहादुर बुढाको उपस्थितिमा राहत सामग्री वितरण गरिएको शाहीले बताइन्।

राहतअन्तर्गत प्रति परिवार एक बोरा चामल, १ केजी दाल, एक केजी नुन, एक प्याकेट तेल, चिउरा, एक थान डसना, फाइबर सिरक र तन्ना उपलब्ध गराइएको छ।भने, मृतक घरपरिवारलाई नगद रुपैयाँ सहिद दुई बोरा चामल, दुई केजी दाल, दुई प्याकेट नुन, तेल, चिउरा, दुई फाइबर सिरक, डसना र तन्ना दिइएको थियो। पूर्णरूपमा घर क्षतिग्रस्त परिवारलाई दुई बोरा चामल, दुई केजी दाल, दुई प्याकेट नुन, तेल, चिउरा, दुई फाइबर सिरक, डसना र तन्ना दिइएको थियो।राहत पाएपछि पीडित घरपरिवार खुसी भएका छन्। विपत्तिले दिएको पीडाबाट पूर्ण रूपमा मुक्त हुन नसके पनि प्राप्त सहयोगले केही राहतको महसुस भएको उनीहरूले बताएका छन्। पहिरोले घर भत्कायो, परिवारको एउटा सदस्य खोस्यो र सुरक्षित बासका लागि थातथलो छाड्न बाध्य बनायो। तर विपत्तिको घडीमा पाएको यो साथ र सहयोगले पीडित परिवारको दुःखमा केही मल्हम लगाउने काम गरेको छ।तीन वर्षीय रमेशको जीवन भने फर्किने छैन। तर उनको परिवार र पहिरोको जोखिममा परेका अन्य घरपरिवारका लागि विपत्तिपछिको कठिन यात्रामा प्राप्त यो सहयोगले बाँच्न र अघि बढ्न केही आधार दिएको छ।







