बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

कैलाली, २८ साउन । 

बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ । धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश मन्त्रीपरिषद्को यही साउन १९ गतेकोे बैठकको निर्णयअनुसार वन संरक्षण क्षेत्र घोषणा गरिएको बताए । 

“दुई जिल्लाका महत्त्वपूर्ण वन तथा प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले सरकारले निर्णय गरिसकेको छ । सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) बमोजिम संरक्षण क्षेत्र घोषणा गरिएको हो”, मुख्यमन्त्री शाहले भने, “बडीमालिका र रामारोशन क्षेत्रको प्राकृतिक सम्पदा, जैविक विविधता तथा वन संरक्षणलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ ।”

घोषित संरक्षण क्षेत्रमा बाजुराको बडीमालिका नगरपालिका–५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिका–५, ६, ७ र ९ का क्षेत्र समेटिएका छन् । त्यस्तै, अछामको मेल्लेख गाउँपालिका–१ र २ तथा रामारोशन गाउँपालिका–४, ५ र ६ का क्षेत्र गरी ४९८ दशमलव चार वर्गकिलोमिटर वन संरक्षण क्षेत्रमा समावेश गरिएका छन् ।

बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र हो भने रामारोशन प्राकृतिक सौन्दर्य, ताल तथा जैविक विविधताका कारण परिचित छ । यी दुई क्षेत्रलाई एउटै संरक्षण भूगोलमा समेटिएसँगै वन तथा प्राकृतिक स्रोतको संरक्षणसँगै पर्यावरणीय पर्यटनको विकासका लागि समेत आधार तयार हुने प्रदेश सरकारको विश्वास छ ।

प्रदेश सरकारले संरक्षण क्षेत्रभित्र रहेका वन, वन्यजन्तु, जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षण, व्यवस्थापन र स्थानीय समुदायको सहभागितालाई प्राथमिकतामा राख्ने जनाएको छ । दुई जिल्लाका स्थानीय तहबीच संरक्षण र पर्यटन विकासमा सहकार्य बढाउनसमेत यस घोषणाले आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु  

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुँदैछ । दर्शनार्थीको बढ्दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिनअघि नै यहाँ मेला सुरु गर्ने निर्णय गरिएको हो । 

जिल्लामा भएको सर्वपक्षीय बैठकले एकैदिन अत्यधिक भीड हुने भएकाले भदौ १ गतेदेखि नै पूजा सुरु गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले जानकारी दिए । मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार यहाँ हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन त्यहाँ मुख्य पूजा हुँदै आएको छ । यस वर्ष भदौ १२ गते जनैपूर्णिमा भएकाले त्यसको अघिल्लो दिन बडीमालिकामा मुख्य पूजा हुनेछ ।

उनका अनुसार गत वर्ष मन्दिरमा करिब ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए । हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत यहाँ त्यहाँ पुग्ने परम्परा छ । 

यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेको छ । त्यस आधारमा पनि दर्शनार्थीको सङ्ख्या बढ्ने अनुमान गरिएको स्थानीय चन्द्र थापाले बताए । 

बडीमालिका नगरपालिका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी सुरु गरिएको जानकारी दिए । त्यसका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका उनले बताए । 

प्रमुख खडकाले भन्नुभयो, “मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णयसमेत गरिएको छ । मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचनापाटी राख्ने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागुपदार्थ र मासुजन्य वस्तु निषेध गरिने निर्णय भएको छ ।” 

निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेले त्यहाँ पुग्ने दर्शनार्थीमा लेक लागे, बिरामी परे वा अन्य कारणले आपत्‌कालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था मिलाएको बताए । 

समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको सङ्गमका रूपमा परिचित छ । स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने उहाँले जानकारी दिए । यस वर्ष मेलाअगावै सञ्चार सम्पर्क सहज बनाउन टेलिकम टावर सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको छ । मौसम खराबीका कारण सामग्री ढुवानीमा भने केही समस्या भइरहेको छ । 

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

हात्तीको आतंक र लालपुर्जा विहीनताको दोहोरो मारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *