नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

हिमाल लम्साल/रासस
काठमाडौँ, १२ साउन ।
नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रूपमा सवारीसाधन गुडाइँदैछन् ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले साउन ११ गते सुरुङमार्ग उद्घाटन गरेर सञ्चालनमा ल्याइएको छ । “नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा ल्याएका छौँ । पूर्वाधार विकास मन्त्रालय, जाइकाका प्रतिनिधिलगायतको उपस्थितिमा सञ्चालनमा ल्याएकाछौँ,” उनले भने, “सुरुङमार्ग तयार हुने काम त धेरै अघि भइसकेको थियो । सुरुङमार्गको पश्चिमतर्फ पहिरोको समस्या देखिएकाले केही समय लागेको हो । सुरुङभित्रको आवश्यक सुरक्षालगायतका व्यवस्थापनमा पनि केही समय लागेजस्तो देखिएको हो ।’’
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले ढिलै भए पनि नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङमार्गको युगमा प्रवेश गरेको दाबी गरे । “सुरुङमार्गको उद्घाटन भएसँगै पहिलो चरणमा आकस्मिक खालका सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकाय र दमकललगायतका सवारीसाधन सञ्चालन गर्नेछौँ”, उनले भने, “अन्य सवारीसाधनको हकमा भने सुरुङमार्गको क्षमता र अवस्था हेरेर थप निर्णय गरिनेछ । एकैपटक सुरुङमार्गका सबै खालका सवारीसाधन गुडाउन सकिँदैन । आवश्यक सुरक्षा प्रबन्ध मिलाउँदै क्रमशः सुरुङमार्गमा थप सवारीसाधन चलाउँदै अघि बढाउनेछौँ ।”
सुरुङमार्ग सञ्चालनमा आउन लागेसँगै सवारीचालक तथा यातायात व्यवसायी पनि उत्साहित रहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा सवारीसाधनको इन्धन र समय दुवै बचत हुने बताए । “नागढुङ्गा–नौबिसे सुरुङमार्गमा घण्टाँै सवारीसाधनको चाप हुँदा इन्धन र समयको ठूलो बर्बादी भइरहेको थियो”, उनले भने, “सरकारले सुरुङमार्ग तयार पारेर उदाहरणीय कार्य गरेको छ । देशमा आवश्यक पर्ने सबै ठाउँमा सुरुङमार्ग बनाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बेला भइसकेको छ ।” अध्यक्ष सिटौलाले सुरुङमार्ग उपयोग गरेर आउजाउ गर्ने सवारीसाधनसँग उठाइने शुल्कको विषयमा सरकारले यातायात व्यवसायीसँग राम्रोसँग परामर्श नगरेको बताए ।

यसरी बन्यो सुरुङमार्ग
सन् २०१३ मा सडक विभागले नागढुङ्गा सुरुङमार्गको विषयमा अध्ययन थालेको थियो । सन् २०१५ मा जापानी सहायता निकाय (जाइका)को सहयोगमा नागढुङ्गा सुरुङमार्गको वातावरणीय र सामाजिक सर्वेक्षणसहित परियोजना तयारी सर्वेक्षण सम्पन्न गरेर प्रतिवेदन पेस गरेको थियो । सुरुङमार्गको निर्माणको काम भने जापानी कम्पनी हाजमा एन्डो कर्पोरेसन जापानले गरेको हो ।
सन् २०१९ नोभेम्बर १४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरुङमार्ग निर्माणको थालनीको शुभारम्भ गरिएको थियो । सुरुङमार्ग निर्माण सुरु भएको ५३ महिना अर्थात २०८१ वैशाख ३ गते नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’ अर्थात सुरुङ छेड्ने काम भएको थियो । निर्माण कम्पनीको ढिलासुस्ती, स्थानीयवासीको अवरोध, पहिरोलगायतका कारणले पनि आयोजना तोकिएको समयभित्रै सञ्चालनमा आउन सकेन । सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो ।
सुरुङमार्ग काठमाडौँको नागढुङ्गादेखि सिस्नेखोलासम्म दुई हजार ६८८ मिटरको रहेको छ । सुरुङमार्गसँगै दुई हजार ५५७ मिटर लामो आकस्मिक उद्धारको लागि ‘रेस्क्यू टनेल’ निर्माण पनि गरिएको छ । सुरुङमार्गबाहेक ‘फ्लाइओभर’, पुल, ‘बक्स कल्भर्ट’, ‘अन्डरपास’ र ‘ओभरपास’लगायतका एक दर्जन थप संरचनासमेत बनेका छन् । सुरुङमार्गलाई जोड्नको लागि पूर्वतर्फको एप्रोचमार्ग दुई दशमलव तीन किलोमिटर र पश्चिततर्फको एप्रोचको लम्बाई शून्य दशमलव ५६५ किलोमिटर रहेको छ ।
आयोजनाको प्रारम्भिक लागत भने रु २२ अर्ब ८२ करोड रहेको थियो तर अनुमानित लागतभन्दा एक अर्बभन्दा धेरै लागत बढेको छ । यसमध्ये दातृसंस्था जाइकाबाट सहुलियत ऋण रु १७ अर्ब १५ करोड र नेपाल सरकारको तर्फबाट रु पाँच अर्ब ६७ करोड लागत रहेको छ । आयोजनाका निर्देशक नेपालले भने निर्माण र मुआब्जा वितरणतर्फ गरेर करिब रु २४ अर्ब खर्च लाग्ने अनुमान गरेको बताए ।
इन्धन, दूरी र समयको बचत हुँदै
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा सिस्नेखोला वरपर हुने घण्टौँको ट्राफिक जामको पनि अन्त्य हुनेछ । त्यति मात्रै होइन, सवारी चापमा लाग्ने समय र इन्धन र समयमा पनि बचत गराउनेछ । आयोजना निर्देशक नेपालले सुरुङमार्ग सञ्चालन भएसँगै ठूलासवारीसाधनको लाग्ने समयमा ३५ मिनेट र साना सवारीसाधनको लागि २० मिनेट छिटो हुने बताए । “सुरुङमार्ग सञ्चालनमा आएपछि मोटामोटी तीन किलोमिटर दुरी घट्ने हो,” उनले भने, “उकालो, घुमाउरो बाटो छल्ने भएकाले पनि ठूला सवारीसाधनको लागि कम्तिमा पनि ३५ मिनेट बचत हुनेछ ।”
आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुईपाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा धेरै साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन् । आयोजनाका निर्देशक नेपालले नागढुङ्गा–नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिने सवारीसाधनमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए । आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुईपाङ्ग्रे सवारीसाधन भने चलाउन पाइने छैन ।
यस्तो छ शुल्क
नेपाल सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको छ । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनको लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनको लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने रु ६० तोकिएको छ । त्यस्तै मिनीबस, मिनी ट्रिपर/ट्रकको लागि काठमाडौँैं प्रवेश गर्दा रु एक सय २५ र काठमाडौँबाट प्रस्थान गर्दा भने रु ८० दस्तुर तोकिएको छ । त्यसैगरी बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौँ प्रवेश गर्दा रु दुई सय ६० र काठमाडौँबाट प्रस्थान गर्दा रु दुई सय दस्तुर तोकिएको छ । त्यसैगरी मल्टिएक्सल ट्रक/सवारीसाधन, भारी उपकरणको लागि काठमाडौँ प्रवेश गर्दा रु छ सय र काठमाडौँबाट प्रस्थान गर्दा रु दुई सय ५० दस्तुर तोकिएको छ । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि रु ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ ।
यस्तो छ नेपालमा सुरुङमार्गको इतिहास
नेपालको सुरुङमार्गको इतिहासलाई नियाल्ने हो भने मुस्ताङ जिल्लामा मात्रै करिब दुई हजार वर्षभन्दा पुरानो भूमिगत संरचना भेटिएको इतिहास छ । अहिले पनि मुस्ताङको त्यो पुरानो भूमिगत खालका संरचना देख्न सकिन्छ । ती संरचना विशेषगरी बसोबास र चिहान प्रयोजनका लागि निर्माण गरिएको जनविश्वास छ । करिब ४०० वर्षअघि पनि पाल्पाको अर्गेलीमा सिँचाइ प्रयोजनको लागि पुरानो संरचनाको सुरुङ खनिएको थियो । त्यो अझै पनि सिँचाइको लागि प्रयोग हुँदै आइरहेको बताइन्छ ।
नेपालमा चार सय वर्ष अघिदेखि नै भूमिगत संरचना र सुरुङ निर्माण भएको देखिन्छ तर ती सुरुङमार्ग र भूमिगत संरचनाहरू व्यवस्थित र व्यावसायिक प्रकृतिका भने थिएनन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालको पहिलो जलविद्युत केन्द्र मात्रै नभएर १९७५ सालमा मकवानपुरको चुरियामाईमा करिब५००/६०० सय मिटर लम्बाइको सुरुङमार्ग निर्माण गरेर साना चारपाङग्रे सवारीसाधन समेत गुडाइएको बताइन्छ ।
स्विटजरल्यान्डका भूगर्भविद् टोनी हेगनले ‘दी हिमालयन किङ्डम अफ नेपाल’ पुस्तकमा मकवानपुरको चुरियामाईमा रहेको सुरुङलाई एसियाकै पहिलो मानव निर्मित सुरुङ हुनसक्ने दाबी गरेका छन् । चुरियामाईको सुरुङ नेपाली डिजाइन, लगानी र जनशक्तिबाटै निर्माण गरिएको थियो ।
५३५ किलोमिटर सुरुङ तयार
नेपालमा पछिल्लो समय सडक सुरुङमार्गको मात्रै नभएर अन्य स्थानमा पनि भूमिगत संरचनाको आवश्यकता र औचित्य झन्–झन् खड्किँदै आइरहेको छ । जलविद्युत् आयोजनामा सुरुङमार्गको उपयोग अत्यधिक मात्रामा हुने गर्दछ । जटिल भूबनोट, भिरपाखा तथा पहिरो झरिरहने ठाउँमा सुरुङमार्गको आवश्यकता र महत्व झनै बढी रहेको छ ।
नेपाल टनेलिङ एसोसिएसनका पूर्वअध्यक्ष डा ज्ञानेन्द्रलाल श्रेष्ठले सन् २०२६ को जनवरीसम्म नेपालमा सबै खालका गरेर ५३७ किलोमिटर सुरुङ निर्माण भएको बताउनुभयोे । उहाँका अनुसार नेपालका जलविद्युत् परियोजनामा ४५४ किलोमिटर सुरुङमार्ग बनेको छ । निर्माणाधीन जलविद्युत् परियोजनामा २५० किलोमिटर बन्ने क्रममा रहेको छ । खानेपानी परियोजनाअन्तर्गत मेलम्ची खानेपानी आयोजनामा सबैभन्दा लामो अर्थात २६ किलोमिटर सुरुङ निर्माण भएर सञ्चालनमा आइसकेको छ । सिन्धुपाल्चोक जिल्लाको अम्बाथानदेखि काठमाडौँको सुन्दरीजलसम्म करिब २६ किलोमिटर सुरुङ खनेर मेलम्चीको पानी राजधानीमा वितरण हुँदै आइरहेको छ ।खानेपानी परियोजनामा पनि विभिन्न परियोजनाको लागि ३० किलोमिटर सुरुङ तयार भइसकेको छ । ढल निकासको लागि पनि शून्य दशमलव ५२ किलोमिटर तयार भइसकेको छ ।
त्यस्तैगरी, सडकतर्फ पनि अहिलेसम्म २३ किलोमिटर सुरुङमार्ग तयार भइसकेको छ । खानीतर्फ भने शून्य दशमलव ०२ किलोमिटर सुरुङ खनिएको छ । सङ्ग्रहालयतर्फ भने ३०० मिटर सुरुङ तयार भइसकेको छ । एसोसिएसनका अनुसार २५० किलोटिर सुरुङ निर्माणाधीन अवस्थामा रहेका छन् । निजी क्षेत्र र सरकार दुवैले गरेर आगामी वर्षहरूमा थप छ सय ४० किलोमिटर सुरुङ खन्ने योजना बनाएको छ ।
सिँचाइको प्रयोजनको लागि पनि सुरुङमार्ग निर्माण भइसकेको छ । भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङमार्ग निर्माण गर्दा अत्याधुनिक खालको टनेल बोरिङ मेसिन(टिबिएम) प्रयोग गरिएको थियो । ‘टिबिएम’ मेसिन प्रयोग गर्न नमिल्ने अन्य परियोजनामा ‘ड्रिल एण्ड ब्लास्ट’ प्रविधिबाट सुरुङ खन्ने गरिन्थ्यो । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनामा पनि टिबिएमको प्रयोग गरेर खनिसकेको छ ।
सुरुङ निर्माणमा दक्षता बढ्दै
नेपाल टनेलिङ एसोसिएसनका पूर्वअध्यक्ष डा श्रेष्ठले नेपालमा सुरुङमार्गका पूर्वाधार मात्रै नभएर सुरुङमार्ग निर्माण गर्ने क्षमता र दक्षतामा पनि अभिवृद्धि हुँदै आइरहेको बताए । “नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल सुरुङमार्गको युगमा प्रवेश गर्नेछ”, उनले भने,“अहिले सिद्धबाबा सुरुङमार्ग, काठमाडौँ–तराई/मधेसलगायतका सुरुङमार्ग पनि निर्माण भइरहेको छ ।”
पूर्वअध्यक्ष श्रेष्ठले नेपालमा सुरुङमार्गको डिजाइन, निर्माण र परामर्शदाता सेवालगायतमा क्षेत्रमा विस्तारै आत्मनिर्भरको बाटोमा अघि बढिरहेको बताए । सुरुङमार्ग सम्बन्धित प्रविधि र ज्ञानको दायरा विस्तार बढ्दै गइरहेको छ । नेपालमा छोटो समयमा नै सुरुङमार्ग डिजाइन तथा निर्माण गर्ने जनशक्ति र निर्माण कम्पनीहरू पनि तयार भइसकेका छन् ।






