लक्ष्यभन्दा साढे ४ अर्ब कम राजस्व उठ्यो, नेपालगन्ज भन्सारको सङ्कलन भने २० अर्बकै हाराहारीमा

बाँके ,१ साउन ।

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ९ करोड ४८ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। निर्धारित लक्ष्यको ८१.८७ प्रतिशत मात्र राजस्व उठे पनि कार्यालयले पछिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि राजस्व सङ्कलन २० अर्ब रुपैयाँको हाराहारीमा कायम राख्न सफल भएको जनाएको छ।
कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार गत आर्थिक वर्षका लागि २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। तर लक्ष्यभन्दा करिब ४ अर्ब ४५ करोड रुपैयाँ कम राजस्व मात्र सङ्कलन भएको हो।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपैयाँ तथा आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यस आधारमा आर्थिक वर्ष २०८२/८३ को राजस्व अघिल्लो वर्षको तुलनामा करिब १९ करोड रुपैयाँले घटेको देखिन्छ। यद्यपि, आर्थिक वर्ष २०८०/८१ को तुलनामा भने करिब १ अर्ब ९४ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ।
नेपालगन्ज नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, ट्र्याक्टर तथा ट्रेलर, पोलिथिनका दाना, चामल, अन्य खाद्यान्न, फलाम तथा विभिन्न औद्योगिक कच्चा पदार्थ आयात हुने गरेका छन्। यी वस्तुबाट नै सबैभन्दा बढी राजस्व सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ। यसैगरी जडीबुटीलगायतका नेपाली उत्पादन निर्यात पनि हुँदै आएको छ।
कार्यालयका अनुसार विश्वव्यापी आर्थिक मन्दी, इन्धन आपूर्तिमा देखिएका समस्या, मूल्यवृद्धि तथा विकास निर्माणका गतिविधिमा आएको सुस्तताले आयात व्यापार प्रभावित हुँदा राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको हो।
त्यसैगरी कालोपत्रे सडक निर्माणमा प्रयोग हुने बिटुमिन, कोइला, पीभीसी रेजिन, कम्पाउन्डलगायत औद्योगिक कच्चा पदार्थको मूल्य वृद्धि भएपछि ती वस्तुको आयात घटेको कार्यालयले जनाएको छ। साथै, पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसक्दा निर्माण सामग्रीको मागमा कमी आएको र त्यसको प्रभाव राजस्व सङ्कलनमा परेको भन्सार कार्यालयको निष्कर्ष छ।
भन्सार कार्यालयले आर्थिक गतिविधिमा अपेक्षित सुधार, विकास निर्माणका कामले गति लिनु तथा आयात–निर्यात व्यापार विस्तार हुन सके आगामी वर्ष राजस्व सङ्कलनमा समेत सकारात्मक सुधार आउने विश्वास व्यक्त गरेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *