सम्पादकीय : जनकल्याणबाट सिक्नुपर्ने पाठ

विद्यालयको सफलताको मापन भवन, नतिजा वा भर्ना भएका विद्यार्थीको संख्याले मात्र हुँदैन । वास्तविक सफलता त्यतिबेला देखिन्छ, जब विद्यालयले निराशा, गरिबी र अभिभावकविहीन अवस्थासँग जुधिरहेका बालबालिकालाई पनि भविष्यप्रति आशावादी बन्ने आधार दिन्छ । सल्यानको सारदा नगरपालिका–५ स्थित जनकल्याण प्राथमिक विद्यालयले पछिल्ला केही वर्षमा गरेको रूपान्तरण यस्तै सन्देश बोकेको उदाहरण हो । बन्द हुने संघारमा पुगेको एउटा सामुदायिक विद्यालय आज एक सय ४० विद्यार्थी अध्ययन गर्ने शैक्षिक केन्द्र मात्र बनेको छैन, ४७ जना आश्रयविहीन तथा जोखिममा परेका बालबालिकाको सुरक्षित घर पनि बनेको छ । यसले देखाएको बाटो अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्छ । केही वर्षअघि यो विद्यालयमा जम्मा ६ जना विद्यार्थी र दुई जना शिक्षक मात्र थिए । जीर्ण भवन, कमजोर शैक्षिक वातावरण र अभिभावकको घट्दो विश्वासका कारण विद्यालय अस्तित्व जोगाउनै संघर्षरत थियो । तर, शिक्षक कृष्णबहादुर वलीको नेतृत्वमा सुरु भएको पुनर्जीवन अभियानले यो अवस्था उल्टाइदियो । भौतिक पूर्वाधार सुधार, शिक्षक व्यवस्थापन, घरदैलो अभियान र अभिभावकसँग विश्वास पुनःस्थापित गर्ने प्रयासले विद्यालयप्रतिको आकर्षण बढायो ।
परिणामस्वरूप विद्यार्थी संख्या निरन्तर बढ्दै गयो र विद्यालयले नयाँ जीवन पायो । यसले एउटा महत्वपूर्ण सन्देश दिन्छ—सामुदायिक विद्यालयको संकटको समाधान केवल नयाँ भवन निर्माण वा बजेट थप्नु मात्र होइन, समुदायको विश्वास जित्नु पनि हो । धेरै ठाउँमा सरकारी विद्यालयप्रति अभिभावकको भरोसा कमजोर बन्दै गएको छ । यसको कारण शिक्षणको गुणस्तर, शिक्षकको उत्तरदायित्व, पूर्वाधारको अभाव वा स्थानीय विवाद जे भए पनि अन्ततः त्यसको प्रत्यक्ष असर बालबालिकामाथि पर्छ । जनकल्याण प्राथमिक विद्यालयले भने नेतृत्व, प्रतिबद्धता र समुदायसँगको सहकार्य भए परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरेको छ । यो विद्यालयको अर्को प्रेरणादायी पक्ष यसको आवासीय कार्यक्रम हो । बाबुआमा गुमाएका, पारिवारिक विघटनका कारण जोखिममा परेका वा चरम आर्थिक अभाव झेलिरहेका बालबालिकालाई निःशुल्क आवास, शिक्षा र संरक्षण उपलब्ध गराउनु सामान्य काम होइन ।
विद्यालयले शिक्षा मात्र दिएको छैन, उनीहरूलाई आत्मविश्वास, सुरक्षा र भविष्यप्रतिको भरोसा पनि दिएको छ । शिक्षा वास्तवमा सामाजिक न्यायको सबैभन्दा प्रभावकारी माध्यम हो भन्ने तथ्य यसले पुनः पुष्टि गरेको छ । यद्यपि, यस्तो अभियान दीगो बनाउन चुनौती कम छैन । स्थानीय तहको सीमित स्रोत, आवासीय व्यवस्थापनको बढ्दो खर्च र दातृ सहयोगमा निर्भरता दीर्घकालीन समाधान हुन सक्दैन । विद्यालयले तरकारी खेतीमार्फत आत्मनिर्भर बन्ने प्रयास थालेको छ, जुन सकारात्मक सुरुआत हो । तर, यस्ता विद्यालयलाई प्रदेश र संघीय सरकारले पनि विशेष नीति, बजेट र प्राविधिक सहयोगमार्फत सघाउन आवश्यक छ । बालअधिकार, शिक्षा र सामाजिक सुरक्षालाई जोड्ने यस्ता मोडेललाई विस्तार गर्न सकिए धेरै आश्रयविहीन र विपन्न बालबालिकाको जीवन बदलिन सक्छ । जनकल्याण प्राथमिक विद्यालयको कथा एउटा विद्यालयको मात्र सफलता होइन, सार्वजनिक शिक्षामा विश्वास पुनर्जीवित गर्न सकिने सम्भावनाको कथा पनि हो । विद्यालय जोगाउनु भनेको केवल एउटा संस्था बचाउनु होइन, समाजको भविष्य सुरक्षित गर्नु हो । यस्तो उदाहरणलाई अपवाद बनाएर होइन, नीति र अभ्यासको हिस्सा बनाएर देशभर फैलाउनु आजको आवश्यकता हो ।
सम्पादकीय : जनकल्याणबाट सिक्नुपर्ने पाठ

बाँके पूर्ण खोपयुक्त जिल्ला कायम : ११

सम्पादकीय : जनकल्याणबाट सिक्नुपर्ने पाठ

अझै रोकिएको छैन कोल्ड स्टोरका  नाममा सरकारी

Leave a comment

Your email address will not be published. Required fields are marked *