जुम्लाका पाटनमा बढ्दो पर्यटकीय चहलपहल

गाेल्डेन बुढा

जुम्ला,२३ असार ।
जुम्लाको सदरमुकाम खलंगाबाट करिब एक घण्टाको सडक यात्रा तय गरेपछि सडक एकाएक विशाल हरियो चौरमा खुल्छ। चारैतिर डाँडाले घेरेको, बीचमा खुला फाँट फैलिएको त्यो भूभाग हो—पातारासी गाउँपालिका–७ को खाली पाटन। साविकको पट्मारा गाविसमा पर्ने यो पाटन अहिले राराताल पुग्ने हजारौं यात्रुको अनिवार्य विश्रामस्थल मात्र होइन, जुम्लाको उदीयमान पर्यटन गन्तव्यका रूपमा पनि चिनिन थालेको छ।खलंगा–उर्थु बजार–पट्मारा हुँदै जाने सडक यही पाटनको बीच भएर मुगुको रारातालतर्फ उक्लिन्छ। त्यसैले रारा पुग्ने अधिकांश यात्रुले केहीबेर भए पनि यहीँ रोकिन्छन्। कसैले हरियाली चौरसँग तस्बिर कैद गर्छन्, कसैले चिसो हावामा विश्राम लिन्छन्, कसैले दुर्लभ जडीबुटीबारे जानकारी खोज्छन्। यही प्राकृतिक आकर्षणले खाली पाटनलाई यात्राको बीचको विश्रामस्थलबाट छुट्टै पर्यटकीय गन्तव्यमा रूपान्तरण गरिरहेको छ।ऋतु फेरिएसँगै खाली पाटनको स्वरूप पनि बदलिन्छ।

वर्षायाममा हरियालीले ढाकिएको विशाल चौरमा भेडाबाख्रा र गाईबस्तु चरिरहेका दृश्यले हिमाली जीवनको मौलिकता झल्काउँछ। हिउँद लागेपछि यही पाटन ढपक्कै हिउँले ढाकिन्छ र सेताम्य मैदानमा रूपान्तरण हुन्छ। एउटै ठाउँले दुई फरक मौसममा दुई फरक सौन्दर्य प्रस्तुत गर्ने भएकाले पर्यटकलाई बारम्बार आकर्षित गरिरहेको स्थानीय बताउँछन्।रारा जाने सडककै किनारमा अहिले एक दर्जन होटल सञ्चालनमा छन्। होटल व्यवसायी ललिता थापाका अनुसार पछिल्लो समय खाली पाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ। उनका अनुसार एक महिनामै झण्डै चारदेखि पाँच हजार पर्यटक यहाँ आइपुग्ने गरेका छन्।‘हाम्रो व्यवसाय पनि राम्रोसँग चलिरहेको छ,’ थापाले भनिन्, ‘असारदेखि असोजसम्म पर्यटकको चाप यति धेरै हुन्छ कि खानपान र व्यवस्थापन गर्नसमेत कठिन पर्छ। धेरैजसो पर्यटक फोटो खिच्न, टिकट बनाउन, यहाँ पाइने जडीबुटी अध्ययन गर्न तथा अनुसन्धानका लागि आउँछन्। जिपमा यात्रा गर्नेहरू पनि केहीबेर रोकिएर तस्बिर खिचेर मात्र अगाडि बढ्छन्।’स्थानीय संगिता बुढाका अनुसार खाली पाटन पछिल्लो समय पिकनिक गन्तव्यका रूपमा पनि लोकप्रिय बन्दै गएको छ। जिल्ला तथा गैरसरकारी कार्यालयहरूले शनिबार–आइतबार यही क्षेत्रमा पिकनिक आयोजना गर्ने क्रम बढेको छ। खुला चौर, स्वच्छ वातावरण र सहज पहुँचका कारण स्थानीयको रोजाइमा यो क्षेत्र परेको उनको भनाइ छ।

डोफाड्ना, बलिफिर, डोरपाटन, झुलारुख पाटन र डाँफे लेकले घेरिएको खाली पाटन प्राकृतिक विविधताले भरिएको क्षेत्र हो। स्थानीय बुढापाकाका अनुसार तत्कालीन राजा वीरेन्द्र जुम्लाबाट घोडा चढेर राराताल जाने क्रममा एक रात यही क्षेत्रमा बास बसेका थिए। त्यसयता खाली पाटन नजिकैको मैदानलाई ‘राजा चौर’ भनेर चिन्ने गरिएको छ। इतिहाससँग जोडिएको यही स्मृतिले पनि यस क्षेत्रको पहिचानलाई थप गहिरो बनाएको छ।खाली पाटन केवल मनोरम दृश्यको थलो मात्र होइन, जैविक सम्पदाको भण्डार पनि हो। यहाँ भुजपत्र, ठिंगो सल्लो र खर्सुका रुख प्रशस्त पाइन्छन्। बाटो हिँड्ने यात्रुका लागि ठाउँ–ठाउँमा प्राकृतिक पानीका मुहान छन्। सेतो चिमालोसहित झण्डै ४० भन्दा बढी प्रजातिका फूल यही क्षेत्रमा फुल्ने गर्छन्। अतिस, भुल्ते, सतुवा, कटुको, पाँचऔँले, बायोजडी, गन्नाइनो, चुक र तितोजस्ता बहुमूल्य जडीबुटी तथा साग पनि यही पाटनमा पाइन्छन्। यही मौसममा ठूलो संख्यामा स्थानीय किसान जडीबुटी र साग संकलन गर्न पाटन पुग्ने गर्छन्।डाँफे, कालीज, बनकुखुरा र च्याखुराको बासस्थानका रूपमा परिचित यो क्षेत्र दुर्लभ रेड पाण्डाको ‘पकेट क्षेत्र’ समेत हो। नजिकैको जंगलमा रेड पाण्डामाथि अनुसन्धानसमेत भइरहेको छ। जैविक विविधता, हिमाली वनस्पति र वन्यजन्तुको उपस्थितिले खाली पाटनलाई प्राकृतिक अध्ययनका लागि पनि महत्त्वपूर्ण बनाएको छ।जुम्ला सदरमुकामबाट खाली पाटन हुँदै राराताल पुग्ने सडक छोटो र सहज भएकाले पछिल्लो समय यो मार्ग पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ। तर, पर्यटकको बढ्दो चापसँगै यस क्षेत्रको दीगो संरक्षण, फोहोर व्यवस्थापन, पूर्वाधार विस्तार र जैविक सम्पदाको संरक्षणमा समानान्तर ध्यान दिन सके मात्रै खाली पाटनको प्राकृतिक मौलिकता जोगाउन सकिने देखिन्छ। नत्र, प्रकृतिले बनाएको यो अनुपम उपहार बढ्दो मानवीय चापको भार थेग्न कठिन हुने जोखिम पनि उत्तिकै छ।राराको प्रवेशद्वार मानिने खाली पाटन आज केवल एउटा बाटोको बीचमा परेको चौर होइन, जुम्लाको पर्यटन, जैविक विविधता, स्थानीय अर्थतन्त्र र हिमाली प्राकृतिक सम्पदाको सम्भावनालाई एकै ठाउँमा बोकेको जीवित पहिचान बनेको छ।वर्षायामसँगै जुम्लाको गुठीचौर पाटन यतिबेला रङ्गीचङ्गी फूलले ढकमक्क बनेको छ। विशाल पाटनभरि फुलेका सयौं प्रजातिका फूलले प्राकृतिक सौन्दर्यलाई नयाँ उचाइ दिएका छन्। यही मनमोहक दृश्य अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक दैनिकजसो गुठीचौर पुगिरहेका छन्। तर, पर्यटकलाई लोभ्याउने आकर्षण केवल फूल मात्रै होइन। जाजरकोटबाट सयौं भैँसी लिएर उक्लिएका गोठालाहरू, पाटनभरि चरिरहेका भैँसीका बथान र भेडीखर्कको मौलिक हिमाली जीवनशैली पनि यहाँको अर्को प्रमुख आकर्षण बनेको छ।जाजरकोटको बारेकोट गाउँपालिका–लुम्साका हस्तबहादुर बोहोरा यतिबेला गुठीचौर पाटनमै भेटिनुहुन्छ। पछिल्लो एक दशकदेखि हरेक वर्ष बर्खा लाग्नासाथ उहाँ भैँसीको बथान लिएर यही पाटन उक्लिनुहुन्छ। यस वर्ष जेठ २२ गते घरबाट हिँडेका उहाँले ११ दिनको कठिन पैदल यात्रा पार गरेर गुठीचौर पुग्नुभएको हो। जाजरकोटतिर बर्खायाममा पर्याप्त घाँसपात नपाइने भएकाले वर्षेनी भैँसी चराउन जुम्लाको यो उच्च हिमाली पाटन रोज्ने गरेको उहाँ बताउनुहुन्छ।विगत र वर्तमान तुलना गर्दा गुठीचौर विस्तारै फेरिँदै गएको अनुभूति उहाँलाई छ। “खर्कमा अझै खानेपानीको अभाव छ। बिरामी परियो भने उपचारको समस्या उस्तै छ। दैनिक उपभोगका सामग्री महँगा छन्,” उहाँ भन्नुहुन्छ, “तर पहिलेभन्दा अहिले धेरै सहज भएको छ। खर्कसम्म चाहिने सामग्री आइपुग्छ। सबैभन्दा ठूलो परिवर्तन त सञ्चारमा आएको छ। अहिले यहीँबाट फोन गरेर घरपरिवारको सञ्चो–बिसञ्चो बुझ्न पाइन्छ।

पहिले यो कल्पनासमेत गर्न सकिँदैनथ्यो।”पाँच वर्षअघिसम्म घरमा कुनै घटना भए पनि खबर ढिलो पुग्थ्यो। बाटोभरि खाद्यान्न नपाइने भएकाले घरबाटै महिनौँ पुग्ने सामल बोकेर आउनुपर्ने बाध्यता थियो। अहिले भने गुठीचौर आसपास नेपाल टेलिकमले सञ्चार टावर विस्तार गरेपछि गोठालाको दैनिकी सहज बन्दै गएको छ। सडक पहुँच विस्तारसँगै पर्यटकका सवारी पनि खर्कसम्म पुग्न थालेका छन्।गुठीचौर अहिले केवल गोठालाको बासस्थान मात्र होइन, पर्यटन र स्थानीय अर्थतन्त्र जोड्ने जीवित थलो बन्दै गएको छ। फूलले सजिएको पाटन अवलोकन गर्न आएका पर्यटकहरू भैँसीगोठसम्म पुगेर दूध, दही र घ्यू खरिद गर्छन्। कतिपय पर्यटक गोठालासँगै बसेर स्थानीय परिकारको स्वाद लिन्छन्, हिमाली जीवनशैली नजिकबाट अनुभव गर्छन्। यसले गोठालाहरूको अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको छ।यतिबेला पाटन उक्लिएका गोठालाहरू दशैँ–तिहार सुरु हुनुअघि मात्रै भैँसीका बथान लिएर जाजरकोट फर्किने तयारी गर्छन्। त्यसअघि उनीहरूको संसार यही विशाल पाटन, भैँसीगोठ र हिमाली प्रकृतिमै सीमित हुन्छ।डोल्पा जाने मुख्य पदमार्गमा पर्ने गुठीचौर पाटन पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। फूलले ढकमक्क ढाकिएको विशाल चौर, मौलिक गोठालो संस्कृति, चरिरहेका भैँसीका बथान र हिमाली जीवनको सरल दैनिकीले गुठीचौरलाई प्राकृतिक पर्यटनसँगै ग्रामीण जीवन अनुभव गर्ने अनुपम गन्तव्यका रूपमा स्थापित गरिरहेको छ।जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित धिमीचौर पाटन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ। पाटनभरि ढकमक्क फुलेका फूल, तिनको मादक सुगन्ध, घना जंगल, चिसो हावापानी र हिमाली प्राकृतिक सौन्दर्यले धिमीचौरलाई जुम्लाको उदाउँदो पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरिरहेको छ।सदरमुकाम खलंगादेखि झण्डै एक घण्टाको पैदल यात्रापछि पुगिने धिमीचौर यतिबेला पर्यटकको चहलपहलले भरिएको छ। एकातिर विशाल चेरेचौर, बीचबाट कलकल बग्ने घुघुत्ती खोला, चारैतिर घना जंगल र त्यसकै बीचमा फैलिएको फराकिलो फाँटले धिमीचौरलाई अन्य पाटनभन्दा फरक पहिचान दिएको छ। प्रकृतिले सिर्जना गरेको यही अनुपम दृश्य हेर्न दैनिक सयौँ पर्यटक यहाँ पुगिरहेका छन्।कतिपय पर्यटक बिहान खलंगाबाट पुगेर दिनभर घुमफिर गरी साँझ फर्किन्छन् भने धेरैले पाल टाँगेर धिमीचौरमै रात बिताउने गरेका छन्। सयौँ प्रजातिका फूल, दर्जनौँ प्रकारका बहुमूल्य जडीबुटी, खर्सुसहितका अग्ला रुख र खुला पाटनको सम्मिश्रणले यहाँ पुगेपछि छुट्टै संसारमा पुगेजस्तो अनुभूति हुने पर्यटक बताउँछन्।अहिले देखिएको चहलपहललाई स्थानीयले सुरुआत मात्र मान्छन्। साउन र भदौमा पाटन फूलले ढाकिएपछि धिमीचौरमा पर्यटकको भीड अझै बढ्ने गर्छ। विशेषगरी शुक्रबार, शनिबार र आइतबार धिमीचौर पुग्नेको घुइँचो लाग्ने स्थानीयको अनुभव छ।

पर्यटकको सुविधालाई ध्यानमा राख्दै नेपाली सेनाले धिमीचौरमा ट्रस घर निर्माण गरेको छ। यसले रात बिताउने पर्यटकलाई सुरक्षित बासको व्यवस्था गरेको मात्र होइन, जंगली जनावरको जोखिमबाट समेत जोगाउन सहयोग पुगेको छ। जाली र गेटसहित निर्माण गरिएको संरचना वर्षायाममा स्थानीय गोठाला तथा पशुपालकका लागि पनि सुरक्षित आश्रय बन्दै गएको छ।चन्दननाथ नगरपालिकाका अनुसार धिमीचौरमा अहिले हरेक दिन एक सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। फूलको सुगन्ध, मनोरम दृश्य र शीतल वातावरणको अनुभव गर्न आउनेको संख्या वर्षेनी बढ्दो क्रममा छ। जुम्ला सदरमुकामबाट राराताल जाने तथा राराबाट फर्किने धेरै पर्यटकले समेत धिमीचौर पुगेर मात्रै यात्रा पूरा गर्ने गरेका छन्। सामाजिक सञ्जालमा धिमीचौरबाट बनाइएका टिकटक भिडियो र रिल्सले पनि यस क्षेत्रलाई देशभर चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।धिमीचौरको अर्को आकर्षण यहाँको गोठालो संस्कृति हो। पाटनको बीचभागमा रहेका भैँसीगोठ र भेडीखर्कमा चरिरहेका पशुचौपायाको दृश्यले प्राकृतिक सौन्दर्यमा थप जीवन्तता थपेको छ। गोठालाले खर्कमै बनाउने ताजा दूध र दहीको स्वाद पर्यटकका लागि अविस्मरणीय अनुभव बन्ने गरेको छ।

जुम्लाका पाटनमा बढ्दो पर्यटकीय चहलपहल

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’

Leave a comment

Your email address will not be published. Required fields are marked *