कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास

सुर्खेत, १३ असार ।
विनासकारी भूकम्प गएको अवस्थामा जीवनरक्षक खोज, उद्धार तथा आपत्कालीन् स्वास्थ्य सेवा प्रवाह कसरी गर्न सकिन्छ भन्ने बारेमा ‘कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास’ सम्पन्न गरिएको छ ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतको आयोजना, युरोपेली संघ (ईयु), युएनडिपी, युएनओमन, युनिसेफ, ह्याण्डिक्याप इन्टरनेश्नलको समन्वय तथा सुन्दर नेपाल संस्थाको स्थानीय साझेदारीमा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तरगत आज वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास’ सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा विपद् विषयका विज्ञ डा. सिर्जन मल्लले विनासकारी भूकम्प गएको समयमा राज्यका संयन्त्रको शीघ्र खोज, उद्धार तथा आपतकालीन् स्वास्थ्य सेवामा गर्नुपर्ने कार्यका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। विपद्को समयमा खोज तथा उद्धारमा हुने ढिलाईले जनधनको ठूलो क्षति हुने भएकोले यसमा राज्यका सबै संयन्त्रको क्रियाशीलता बढाउन गरिने क्रियाकलापका विषयमा उनले जानकारी दिए ।


अभ्यासको क्रममा प्रदेश विपद् व्यवस्थापन समिति, विषयगत समुह तथा निजी क्षेत्र र प्रदेश आपतकालीन आपतकालीन् सञ्चालन केन्द्रले छुट्टा छुट्टै समुह कार्य गरी कार्ययोजना निर्माण गरेका थिए । समुह कार्यमा विपद्को बेला सम्बन्धित निकायहरुको भूमिका, जिम्मेवारी र प्राथमिकताका विषयमा व्यापक छलफल भएको थियो ।
अभ्यासमा प्रदेश विपद् व्यवस्थापन समितिको तर्फबाट प्रमुख सेनानी प्रज्ज्वल अधिकारीले आधुनिक प्रविधिमैत्री विश्व सञ्चारलाई आधार बनाउँदै टोलीलाई कसरी तैनाथ गर्ने, यसमा क–कसको के भूमिका हुने भन्ने तथ्य समुह कार्यबाट निकालिएको निष्कर्ष प्रस्तुत गरे । गोदाम घरको प्रवलीकरण, नीतिगत हिसाबले हरेक निकायमा भएका अभ्यास तथा प्रयास, विपद्बाट जनधन क्षति हुँदा त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेबारे कार्ययोजना निर्माण गरिएको उनले जानकारी दिए ।
विषयगत समुह तथा निजी क्षेत्रको नेतृत्व गर्दै विश्व स्वास्थ्य संगठनका डा.भोजराम बमले जीवनरक्षक, राहत तथा आपतकालीन् स्वास्थ्य सेवाका क्रियाकलाप कसरी गर्ने, आपतकालीन् क्षमता बढाउने, कर्णाली र भेरी करिडोर दुवैमा वायरहाउस खोल्नुपर्ने, तीन तहको सरकारबीच समन्वय प्रभावकारी बन्नुपर्ने, खानेपानी तथा सरसफाई, खाद्य तथा पोषण सेवाको कार्यादेश र त्यसको प्रमुख जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लिनुपर्ने सुझाव दिए ।
त्यसैगरी, प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको नेतृत्व गर्दै नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका प्रतिनिधि यज्ञ लामिछानेले सबै पालिकाका स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई क्रियाशील बनाउनुपर्ने समुह कार्यको निष्कर्ष रहेको बताए । जिल्ला विपद् व्यवस्थापन समितिको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएकोले त्यसको क्षमता अभिवृद्धि गर्नुपर्ने उनकाे भनाई थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशका सचिव निधिराज न्यौपानेले पहिचान भएका अन्तराल एवं समस्याहरुले विपद् पूर्वतयारी र प्रतिकार्यमा सहयोग पुग्ने बताए । “हामीले गरिरहेका गतिविधिहरुको पुनरावलोकन हुनुपर्दछ,” उनले भने भन्नुभयो, “टेबलटप अभ्यासले फिल्डमा पुगेर गर्ने कामको ढाँचा निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने कुरामा बल पुग्ने अपेक्षा गरेको छु ।”
सहजकर्ता दामोदर अधिकारीले ठूलो विपद्मा हाम्रो तयारी कस्तो हुने र त्यसको प्रभावकारिता कसरी बढाउने भन्ने विषय प्रमुख भएको बताए । जोखिम क्षेत्र पहिचान, त्यसका लागि आवश्यक समन्वय हुनुपर्ने र कार्ययोजना राम्रो आउनुपर्ने उनकाे भनाई थियो । अभ्यासमा सहभागी वक्ताहरुले नागरिक विषयगत क्षेत्रको समन्वयात्मक संयन्त्रलाई बलियो बनाउनुर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा विनासकारी भूकम्प गएको, भौतिक तथा राज्यका सबै संरचनाहरु ध्वस्त भएको, सडक, पूल भत्केर आवातजावत अवरुद्ध, सञ्चारका सबै स्रोत तथा संरचना पनि ध्वस्त भई सम्पर्क विच्छेदको अवस्थामा कसरी खोज, उद्धार तथा आपत्कालीन स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने विषयमा भएको अभ्यासले मूलतः आपतकालीन् अवस्थामा व्यक्ति, समाज, समुदाय, राज्यका सबै संरचनाहरु बीचको आपसी समन्वय तथा सहकार्य हुनुपर्ने सहभागीहरुले सुझाएका थिए ।

कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास

आइतबारदेखि कर्णाली कप टी-२० प्रतियोगिता हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *