जुम्ला काङ्ग्रेसको ‘जरा अभियान’ सुरु
गाेल्डेन बुढा
जुम्ला ,११ बैशाख ।
नेपाली कांग्रेस जुम्लाले संगठन सुदृढीकरण र क्रियाशील सदस्यता व्यवस्थापनलाई केन्द्रमा राख्दै “जरा अभियान” सुरु गरेको छ। बिहीबारदेखि गुठिचौर गाउँपालिकाबाट सुरु गरिएको अभियानबारे नेपाली कांग्रेस जुम्लाका पार्टी प्रवक्ता मेघराज गिरीले जानकारी दिए।उनका अनुसार अभियानअन्तर्गत बिहीबार गुठिचौर–१ र २ वडामा कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार ३, ४ र ५ वडाको झारज्वालामा कार्यक्रम सम्पन्न गरिएको हो, र शनिबार पातारासी गाउँपालिका–५ लासी बजारमा कार्यक्रम हुने तय भएको छ।प्रवक्ता गिरीका अनुसार यो अभियान क्रमशः जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाभर विस्तार गरिनेछ। उनले अभियानलाई संगठनलाई गाउँ–टोल तहसम्म पुनः सक्रिय बनाउने दीर्घकालीन प्रयासका रूपमा लिइएको बताए।यसअघि मंगलबार जुम्लाको सदरमुकाम खलंगास्थित मानसरोवर होटलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य छाँया सुनारको प्रमुख आतिथ्यमा अभियानको औपचारिक उद्घाटन गरिएको थियो।पार्टीभित्र आन्तरिक एकता मजबुत बनाउने, कार्यकर्ताको सक्रियता बढाउने तथा संगठनात्मक संरचनालाई पुनः व्यवस्थित गर्ने उद्देश्यसहित सुरु गरिएको यो अभियानलाई कांग्रेसले “जरा अभियान” नाम दिएको हो। जुम्लामा ४ हजार तीन सय क्रियाशील सदस्य छन्।देशव्यापी रूपमा सञ्चालन भइरहेको ‘एक महिने जरामा जाऊँ अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण तथा डिजिटल ‘कांग्रेस आईडी’ प्रणाली अनिवार्य गर्ने लक्ष्य राखिएको छ।

सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा क्रियाशील सदस्यता अद्यावधिक गर्दै अभियानको औपचारिक सुरुवात गरेका थिए।अभियानमार्फत पार्टीले वडास्तरमै सदस्यता व्यवस्थापन, नागरिक संवाद विस्तार, भ्रातृ संस्थाको अवस्था मूल्यांकन, स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया तथा आगामी नीति–बजेटमा पार्टी भूमिकाबारे छलफल गर्ने जनाएको छ।नेतृत्वले “जरा” लाई संगठनको आधार तहका रूपमा व्याख्या गर्दै केन्द्रबाट मात्र होइन, गाउँ–टोलसम्म पुगेर संरचना सुदृढ गर्ने मर्म अभियानले बोकेको जनाएको छ।पार्टी संगठनलाई पुनर्जीवन दिँदै दीर्घकालीन रूपमा सक्रिय, व्यवस्थित र जनमुखी बनाउने लक्ष्यसहित यो अभियान अघि बढाइएको कांग्रेसले जनाएको छ।





