पोखरामा भलिबलको महाकुम्भ : छैटौँ टाइगर कपमा एनसेल मुख्य प्रायोजक

काठमाडौं ,९ माघ।
खेलकुद विकास र युवा सशक्तीकरणमा आफ्नो योगदानलाई निरन्तरता दिँदै एनसेलले पोखरामा शुक्रबारदेखि सुरु हुन गइरहेको छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ।
विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको टाइगर कपमा एनसेल गत वर्ष पनि मुख्य प्रायोजक रहेको थियो। यस वर्ष पनि आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल सँग साझेदारी गर्दै एनसेलले प्रतियोगितालाई निरन्तर साथ दिएको हो।
एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता ले टाइगर कपसँगको सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रति एनसेलको गहिरो प्रतिबद्धता झल्काउने बताए। “यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्यका राष्ट्रिय प्रतिभा विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने। खेलकुदले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने माध्यम भएको उनको भनाइ छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्चका रूपमा स्थापित यो प्रतियोगिता माघ १७ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टर मा सञ्चालन हुनेछ। आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा ले यस वर्ष पनि निरन्तर सहकार्य गरेकोमा एनसेलप्रति आभार व्यक्त गर्दै यस्तै सहयोग, सहकार्य र योगदानका कारण टाइगर कप देशकै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता बन्न सफल भएको बताए।
छैटौँ टाइगर कपमा महिला तर्फ ५ र पुरुष तर्फ ६ गरी कुल ११ टोली ले प्रतिस्पर्धा गर्नेछन्। महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोर्ट्स क्लब र थाइल्यान्ड क्विन्स सहभागी छन्। पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल संघ र मालदिभ्सका टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा विजेता हुने महिला र पुरुष दुवै टोलीले समान रूपमा रु ६,६६,६६६ प्रथम पुरस्कार, रु ३,६६,६६६ दोस्रो पुरस्कार र रु २,०६,६६६ तृतीय पुरस्कार प्राप्त गर्नेछन्।
एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले भलिबल मात्र नभई क्रिकेट, फुटबल लगायतका खेलहरूको विकासमा पनि सहकार्य गर्दै आएको छ। साथै, आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेल फाउन्डेसन मार्फत पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणमा समेत निरन्तर सहयोग गर्दै आएको छ।






