“विज्ञान केवल विषय होइन, भविष्य हो” – जीवन ज्योती स्कुलको विज्ञान प्रदर्शनी उद्घाटन गर्दै सुर्य ढकाल

सरला सुवेदी
बाँके ,४ माघ ।
बाँके क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित पूर्व प्रतिनिधिसभा सदस्य सुर्य ढकालले कोहलपुर नगरपालिका–१० रामनगरस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आयोजित विज्ञान तथा हस्तकला प्रदर्शनी र फुड फेस्टिबलको शनिबार उद्घाटन गर्नुभएको हो। विद्यालयमा भएको उक्त प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनशीलता, वैज्ञानिक सोच र व्यवहारिक सीपलाई उजागर गरेको छ भने फुड फेस्टिबलले कार्यक्रममा थप रौनक थपेको छ।
उद्घाटन समारोहमा बोल्दै पूर्व सांसद ढकालले कोहलपुरलाई शैक्षिक हब बनाउने उद्देश्यमा जीवन ज्योती स्कुलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। “कोहलपुरलाई शैक्षिक हव बनाउने सपना आज सबैको मुखमा झुन्डिएको शब्द बनेको छ। यस लक्ष्यलाई व्यवहारमा उतार्न जीवन ज्योती स्कुलले शैक्षिक रुपान्तरणमा उल्लेखनीय योगदान दिएको छ,” उहाँले भन्नुभयो।

ढकालका अनुसार यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू अन्य विद्यालयमा गएर पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्, जुन यहाँको शैक्षिक गुणस्तरको प्रमाण हो। शिक्षक, विद्यार्थी र अभिभावक—तीनै पक्षलाई आत्मसन्तुष्टि दिलाउन सफल जीवन ज्योती स्कुलले पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता हासिल गरेको उहाँको भनाइ थियो।
“समयपालना, जिम्मेवारी पूरा गर्ने बानी, अग्रजलाई सम्मान र सानालाई माया गर्ने संस्कार सिकाउने विद्यालय संस्कृतिले विद्यार्थीलाई जीवन उपयोगी मूल्य दिएको छ,” ढकालले जोड दिनुभयो।
विज्ञानको अर्थ केवल किताबमा लेखिएका सूत्र, प्रयोगशालामा गरिने प्रयोग वा परीक्षाका प्रश्नहरू मात्रै नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विज्ञान भनेको सोच्ने तरिका हो, प्रश्न गर्ने साहस हो र समाधान खोज्ने क्षमता हो। यहाँ शिक्षकले के पढाए भन्दा पनि विद्यार्थीले के सिके भन्ने कुरामा जोड दिइएको छ, जुन अत्यन्तै प्रशंसनीय छ।”
आजको आधुनिक जीवन विज्ञानको देन भएको उल्लेख गर्दै ढकालले मोबाइलको अलार्मदेखि इन्टरनेट, गाडी, औषधि सबै विज्ञानकै उपहार भएको बताउनुभयो। प्रदर्शनीमार्फत विद्यार्थीहरूको प्रतिभा बाहिर ल्याउने प्रयास सराहनीय रहेको उल्लेख गर्दै उहाँले भने, “विज्ञानले हामीलाई चिकित्सक, इन्जिनियर, वैज्ञानिक मात्र होइन—समस्या समाधान गर्न सक्ने जिम्मेवार नागरिक बनाउँछ।”

विश्व जलवायु परिवर्तन, रोग, ऊर्जा संकट, खाद्यान्न अभावजस्ता समस्यासँग जुधिरहेको अवस्थामा विज्ञान र वैज्ञानिक सोच अपरिहार्य रहेको भन्दै उहाँले नेपालजस्तो विकासोन्मुख देशलाई दक्ष वैज्ञानिक जनशक्ति आवश्यक रहेको धारणा राख्नुभयो।
“विज्ञान पढ्नु सजिलो छैन। मेहनत, अनुशासन र निरन्तर अभ्यास चाहिन्छ। असफलता नै सफलताको पहिलो पाठ हो,” ढकालले महान वैज्ञानिक आइन्स्टाइनको भनाइ स्मरण गर्दै विद्यार्थीहरूलाई प्रश्न गर्न र जिज्ञासु बन्न प्रेरित गर्नुभयो। अन्त्यमा उहाँले भन्नुभयो, “विज्ञान केवल विषय होइन, भविष्य हो। विज्ञानलाई सही तरिकाले बुझ्यौँ भने हामी देशको भविष्य उज्यालो बनाउन सक्छौँ।”
प्रदर्शनी अवलोकनपछि ढकालले कक्षाकोठामा सिकेका कुरा विद्यार्थीहरूले व्यवहारिक रूपमा प्रस्तुत गरेको देख्दा खुसी लागेको बताउँदै स–साना बालबालिकाको मनछुने प्रतिभाले आफूलाई प्रभावित पारेको धारणा व्यक्त गर्नुभयो।
कोहलपुर क्षेत्रमा शैक्षिक विकास र गुणस्तरमा छुट्टै पहिचान बनाइसकेको जीवन ज्योती स्कुल आज अभिभावक र विद्यार्थीको भरोसाको केन्द्र बनेको छ। हरियाली र सुन्दर वातावरणबीच अभिभावकहरूको बाक्लो उपस्थिति, उत्साह र खुसीले शनिबार विद्यालय परिसर निकै जीवन्त देखिन्थ्यो। विज्ञान तथा हस्तकला प्रदर्शनीले म्युजियमको झल्को दिएको थियो भने फुड फेस्टिबलले कार्यक्रममा सुनमा सुगन्ध थपेको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) ले विद्यालयले आयोजना गरेको विज्ञान तथा हस्तकला प्रदर्शनीले विद्यार्थीहरूको आत्मविश्वास बढाउने बताउनुभयो। प्रविधिको विकाससँगै विद्यार्थीहरूले निर्माण गरेका रोबोट, डोजर र ड्रोनले चौतर्फी विकासमा टेवा पुगेको उहाँको भनाइ थियो।

प्रदर्शनी अवलोकन गर्ने अभिभावक भुपेन्द्र सुवेदीले विद्यार्थीहरूले तयार पारेका कलात्मक तथा वैज्ञानिक सामग्री मन लोभ्याउने रहेको प्रतिक्रिया दिनुभयो। विद्यालयले गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षा दिइरहेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो।

विद्यालयका प्रीन्सिपल फादर जोमन जेम्सका अनुसार विद्यालयको शैक्षिक क्यालेण्डरअनुसार यस वर्ष विज्ञान तथा हस्तकला प्रदर्शनीसँगै फुड फेस्टिबल पनि आयोजना गरिएको हो। “विद्यार्थीहरूको अन्तरनिहीत क्षमता प्रस्फुटन गर्नु र व्यावहारिक सीप विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो। कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले प्रदर्शनीमा सहभागिता जनाएका छन् भने अन्य विद्यालयका विद्यार्थीहरू समेत अवलोकनका लागि पुगेका थिए भने विद्यार्थीहरुले आफ्नो मेहनत यसरी सबैसामु देखाउन पाउँदा खुसी व्यक्त गरेका थिए।

जीवन ज्योती स्कुलले आयोजना गरेको विज्ञान तथा हस्तकला प्रदर्शनीले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै कोहलपुरलाई शैक्षिक केन्द्र बनाउने अभियानमा थप ऊर्जा दिएको छ।







