नरैनापुरमा प्रशासनिक अराजकता विरुद्ध जनदबाब  जेनजी र नागरिक समाजद्वारा प्रमुख प्रशासकलाई ज्ञापन

बाँके, २२ मंसिर ।

बाँकेको नरैनापुर गाउँपालिकामा पछिल्ला महिनादेखि बढ्दै गएको प्रशासनिक अराजकता, अपारदर्शिता र कर्मचारीतन्त्रको मनपरी व्यवहारका कारण आक्रोशित बनेका स्थानीय नागरिक समाज, जेनजी युवाहरू र सरोकारवालाहरूले आइतबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन् ।

ज्ञापन–पत्रमा विकास–निर्माणदेखि प्रशासनिक सेवा र सामाजिक गतिविधिसम्मका सबै क्षेत्रमा अस्वाभाविक ढिलाइ, फाइल रोक्ने प्रवृत्ति, गैर–कानुनी चलखेल, बजेट दुरुपयोग र कर्मचारीबीचको अनावश्यक विवादले जनसेवा प्रभावित भएको उल्लेख गरिएको छ ।

विशेष गरी गाडी भाडा, इन्धन कुपन, मर्मत खर्च, खाजा–नास्ता तथा जिन्सी सामग्री वितरणमा मनपरीको श्रृंखला चलिरहेको आरोप लगाइएको छ । स्थायी कर्मचारीलाई ओझेलमा पारेर अनावश्यक करार नियुक्ति गर्ने, आफन्त–परिचितलाई प्राथमिकता दिने र कार्यालय समयमै जनसेवाप्रति उदासीनता देखाउने जस्ता क्रियाकलापले स्थानीयवासी झनै निराश बनेको जेनजी युवाहरूको टिप्पणी छ ।

नागरिक समाजका अगुवाहरूले स्थानीय सरकार नैतिक, पारदर्शी र जवाफदेही हुनुपर्नेमा प्रशासनिक नेतृत्वको उदासीनता र कमजोर नियमनले सुशासनका सिद्धान्तमै धक्का पुगेको आरोप लगाएका छन् । शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था, विषयगत शिक्षक अभाव, विद्यालय व्यवस्थापन समिति गठन नहुनु, शिक्षकहरूले सामाजिक सञ्जालमा राजनीतिकरण गर्नु तथा विद्यार्थीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्तिले अभिभावकहरू आक्रोशित बनेको उल्लेख छ । विद्यालय अनुगमन तथा मूल्याङ्कन प्रणाली कमजोर हुँदा शिक्षाको गुणस्तर जोखिममा परेको उनीहरूको धारणा छ ।

ज्ञापन–पत्र बुझाउँदै नागरिक समाजका अगुवा गुफरान अली शाहले नरैनापुरमा देखिएको प्रशासनिक अस्तव्यस्तताले जनविश्वासमा ठूलो चोट पुगेको बताउँदै सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न दबाब दिन बाध्य भएको प्रतिक्रिया दिए । उनले यस आन्दोलन व्यक्तिगत विरोध नभई प्रणालीगत सुधारको माग भएको स्पष्ट गरे ।

ज्ञापन–पत्रमा उल्लेख गरिएका माग तोकिएको समयमा सम्बोधन नगरिए मंसिर २४ र २५ गते गाउँपालिका कार्यालय अगाडि कालोपट्टीसहित दुई घण्टा शान्तिपूर्ण धर्ना दिने र मंसिर २६ गतेदेखि गाउँपालिका तथा वडा कार्यालयहरूलाई कब्जा गर्ने चेतावनी दिइएको छ । जेनजी युवाहरूका अनुसार यो दबाब आन्दोलन कानुनसम्मत, नागरिकमैत्री र परिवर्तनमुखी उद्देश्यका साथ अघि बढाइएको हो ।

ज्ञापन–पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले युवापुस्ताको माग नागरिकमैत्री र आवश्यक रहेको प्रतिक्रिया दिए । केही मागहरू पहिल्यै सम्बोधन भइसके पनि सूचनाको पहुँचका कारण जानकारी नपुगेको हुन सक्ने बताए । आफ्नो तहबाट तात्कालिक रूपमा समाधान गर्न सकिने कुरामा तत्काल पहल गर्ने र बाँकी विषय कार्यपालिकाको बैठकबाट निर्णय गराउने प्रतिबद्धता व्यक्त गरे। उनले आन्दोलनका नाममा सेवा–प्रवाह अवरुद्ध नगर्न आग्रह पनि गरे ।

ज्ञापन–पत्र बुझ्ने कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री कृष्ण केसी नमूना, गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा अध्यक्ष अजय मिश्रा, प्रेम मौर्यलगायतको सहभागिता थियो । जेनजी युवाहरूले ज्ञापन–पत्रका प्रतिलिपि प्रधानमन्त्री, गृहमन्त्री, सामान्य प्रशासनमन्त्री, शिक्षामन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत बोधार्थ पठाइएको जानकारी दिएका छन् ।

नरैनापुरमा प्रशासनिक अराजकता विरुद्ध जनदबाब   जेनजी र नागरिक समाजद्वारा प्रमुख प्रशासकलाई ज्ञापन

ती दिन सम्झन चाहँदैनन् तिलागुफावासी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds