धान उत्पादन बढे पनि कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

यस वर्ष बाँकेमा करिब १ लाख ५६ हजार २ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । तर, कम्पनीले २० हजार क्विन्टल मात्र खरिद गर्ने निर्णय गरेपछि किसानहरूमा निराशा छाएको छ ।

नरैनापुरका किसान त्रिभुवन यादव भन्छन्, “उत्पादन बढेको छ, तर बजार छैन । बाहिर व्यापारीले सरकारी मूल्यमा धान किन्दैनन्, घरमा राख्ने ठाउँ पनि छैन, के गर्ने भनेर चिन्तित छु ।” उनी भन्छन् । गत वर्षको तुलनामा यसपटक धान उत्पादन राम्रो भए पनि कम्पनीले भण्डारण समस्याका कारण सीमित मात्रामा खरिद गर्न थालेपछि किसान मर्कामा परेका छन् ।

राप्तीसोनारी–७ का किसान कालुराम थारु पनि निराश छन् । उनी भन्छन् — “धान बेच्न खाद्य कम्पनी गएँ, तर कोटा सकिएको भन्दै फर्काइयो ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाँकेका प्रमुख रामशरण लामिछानेले आइतबारबाट मात्र किसानबाट धान खरिद सुरु भएको जानकारी दिए । उनका अनुसार यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल खरिद गर्ने कोटा निर्धारण गरिएको छ । लामिछानेले भने — “हाम्रो भण्डारण क्षमता सीमित छ । गत वर्षकै करिब २० हजार क्विन्टल चामल अझै गोदाममा बाँकी छ, त्यसको व्यवस्थापनपछि मात्रै थप खरिद गर्न सकिन्छ ।”

कम्पनीका अनुसार, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले मोटा धानको मूल्य रु. ३,४६३.८१ र मध्यम धानको मूल्य रु. ३,६२८.३३ तोकेको छ ।

यसैबिच धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने मागसहित राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेश समितिले आज नेपालगन्जमा प्रदर्शन गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपियाँ ३३ पैसा तोकेको भए पनि, धान खरिद कम्पनीहरूले सस्तो मूल्यमा धान खरिद गर्न थालेपछि किसानहरू सडकमा आउन बाध्य भएको किसान नेता तुलसा पोख्रेलले बताउनुभयो ।

धान उत्पादन बढे पनि कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

रैथाने उत्पादन अब बजारसम्म

धान उत्पादन बढे पनि कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds