क्यान्सर बिरामीलाई ठूलो राहत : खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक कुरुवा घर सञ्चालन

बाँके ,१३ साउन ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा आएको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी र उनीहरूका आफन्तलाई लक्षित गर्दै लायन्स क्लब नेपालगन्ज–खजुराको सहकार्यमा १५ कोठे सुविधासम्पन्न कुरुवा घर सञ्चालनमा ल्याइएको हो।
अस्पतालका निर्देशक डा. निरज भट्टराईले लामो समयसम्म क्यान्सर उपचार गराइरहेका बिरामीका कुरुवा तथा आफन्तले बसोबास र खानपानका कारण भोग्दै आएको समस्या समाधान गर्ने उद्देश्यले कुरुवा घर सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार अब कुरुवाहरूले न्यूनतम शुल्कमा सुरक्षित, स्वच्छ र सुविधासम्पन्न आवासको सेवा लिन सक्नेछन्।
कुरुवा घरका प्रत्येक कोठामा टेलिभिजन, आधुनिक एट्याच बाथरुम तथा २४सै घण्टा निःशुल्क उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराइएको निर्देशक डा. भट्टराईले जानकारी दिनुभयो। यसले बिरामीका आफन्तलाई उपचार अवधिभर सहज र आरामदायी वातावरण उपलब्ध गराउने विश्वास अस्पतालले लिएको छ।
कुरुवा घरको प्रभावकारी सञ्चालन र व्यवस्थापनका लागि अस्पतालले डा. सुवास मेहताको संयोजकत्वमा चार सदस्यीय बिरामी कुरुवा घर व्यवस्थापन समिति गठन गरेको छ। समितिमा पूजा उपाध्याय, राजेश रिजाल र भुवन खनाल सदस्य रहनुभएको छ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पश्चिम नेपालका विभिन्न दुर्गम जिल्लाका साथै छिमेकी भारतबाट समेत ठूलो संख्यामा क्यान्सरका बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालले पछिल्ला वर्षहरूमा सेवा र सुविधाको दायरा विस्तार गर्दै आफूलाई पश्चिम नेपालको प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा स्थापित गर्दै आएको छ।
निर्देशक डा. भट्टराईले अस्पताललाई अझ बढी जनमुखी, सेवामूलक र गुणस्तरीय बनाउने अभियान निरन्तर जारी रहेको बताउँदै सेवा विस्तारसँगै थप सुधारका कामहरू पनि अघि बढाइने जानकारी दिनुभयो।
खजुराका नागरिक अगुवा महेन्द्र मल्लले चितवनको भरतपुरदेखि पश्चिम नेपालसम्म क्यान्सर उपचारका लागि यो एक मात्र विशिष्टीकृत अस्पताल भएकाले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो। अस्पताल सञ्चालनमा आएपछि पश्चिम नेपालका बिरामीले उपचारका लागि भरतपुर वा भारत धाउनुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य भएको उहाँको भनाइ छ।
उहाँले अस्पतालमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पर्याप्त सरकारी दरबन्दी व्यवस्था गर्न र अत्याधुनिक उपचार उपकरण थप गर्न सरकारको ध्यानाकर्षण गराउँदै त्यसो भए पश्चिम नेपालका क्यान्सर बिरामीले आफ्नै प्रदेशमा अझ गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।






