कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

बाँके ,१३ साउन ।
बाँकेको कोहलपुरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीमा बुधबार बिहान फसेर सोही वडाका तीन जना मजदुर मृत अवस्थामा फेला परेका हुन्।
मृत्यु हुनेमा कालु थारु, प्रकाश थारु र बिर्जा थारु रहनुभएको छ। उहाँहरू मिस्त्री तथा मजदुरीको काम गरिरहेका बेला सेफ्टी ट्याङ्कीभित्र फसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
प्रहरी नायब उपरीक्षक राठौरका अनुसार सेफ्टी ट्याङ्कीमा मानिस फसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र डम्मरपालको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर बिहान करिब १० बजे तीनै जनाको शव बाहिर निकालेको हो।
मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।






