बाघसँगै पर्यटनको आकर्षण बढ्दै बाँके राष्ट्रिय निकुञ्ज, प्रवर्द्धनमा सरोकारवालाको साझा पहल

बाँके ,१३ साउन ।
जैविक विविधता, प्राकृतिक सौन्दर्य र वन्यजन्तुको समृद्ध बासस्थानका कारण बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय लुम्बिनी प्रदेशकै उदीयमान पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। निकुञ्जमा बाघलगायतका दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै जानु, बासस्थान व्यवस्थापनमा सुधार आउनु तथा पर्यटन पूर्वाधार विस्तार हुन थालेपछि पर्यटकको आकर्षण पनि बढ्न थालेको छ। यससँगै निकुञ्जको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउन सरकारी निकाय, संरक्षणकर्मी, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक, मध्यवर्ती क्षेत्रका बासिन्दा तथा होटल व्यवसायीबीच सहकार्यसमेत विस्तार हुन थालेको छ।
बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन पछिल्लो समय विभिन्न निकायले संयुक्त रूपमा पहल गरिरहेका छन्। वन्यजन्तुको संरक्षण, बासस्थान सुधार, पर्यटकीय पूर्वाधार निर्माण तथा प्रचारप्रसारलाई एकसाथ अघि बढाइँदा निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले वन्यजन्तुको बासस्थान व्यवस्थापन, संरक्षणका गतिविधि र सरोकारवालाबीचको सहकार्यले निकुञ्जमा बाघ तथा चौकाको सङ्ख्या वृद्धि भएको बताउनुभयो। वन्यजन्तुको उपस्थिति बढेसँगै पर्यटकको आकर्षण पनि क्रमशः बढ्दै गएको उहाँको भनाइ छ।
निकुञ्जभित्र वन्यजन्तु अवलोकनलाई सहज बनाउन विभिन्न स्थानमा मचान निर्माण गरिएको छ भने वन्यजन्तुको पानीको आवश्यकता पूरा गर्न पानीपोखरी निर्माण तथा घाँसे मैदान व्यवस्थापनको काम पनि सम्पन्न गरिएको छ। यी संरचनाले वन्यजन्तुको बासस्थान सुधार हुनुका साथै मानव–वन्यजन्तु द्वन्द्वसमेत घट्दै गएको छ। यसले पर्यटन प्रवर्द्धनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
जेडएसएल नेपालका प्रतिनिधि प्रदीप सेढाईंले संरक्षण र पर्यटनलाई सँगसँगै अघि बढाउन सके निकुञ्जको दिगो विकास सम्भव हुने बताउनुभयो। स्थानीय समुदायको सहभागिता र संरक्षणप्रतिको अपनत्वले पर्यटनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।
बाँके राष्ट्रिय निकुञ्जमा बाघ, जरायो, हाती, चौका तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ। यस क्षेत्रमा रहेको राप्ती नदीमा भविष्यमा र्याफ्टिङ सञ्चालन गर्न सकिए निकुञ्जको पर्यटन सम्भावनाले अझ नयाँ आयाम पाउने विश्वास गरिएको छ।
इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी प्रचारप्रसार, निजी क्षेत्रको लगानी र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। सरोकारवालाबाट आएका सुझाव कार्यान्वयन गर्न सके बाँके राष्ट्रिय निकुञ्ज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि थप आकर्षक गन्तव्य बन्ने उहाँको विश्वास छ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले अधिकांश पर्यटक निकुञ्जमा बाघ अवलोकनको उद्देश्यले आउने भए पनि बाँके राष्ट्रिय निकुञ्ज चौकाको उत्कृष्ट बासस्थानका रूपमा पनि परिचित भएकाले यसको प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। निकुञ्जको जैविक विविधतालाई समग्र रूपमा प्रवर्द्धन गर्न सके पर्यटन क्षेत्रले थप गति लिने उहाँको भनाइ छ।
सरोकारवाला निकायहरूको साझा पहल, वन्यजन्तु संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसारलाई निरन्तरता दिन सकिए बाँके राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना, होमस्टे तथा होटल व्यवसायको विस्तार, आयआर्जन वृद्धि र जैविक विविधताको दीगो संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।






