जाजरकोटको लसुन निर्यात हुन थाल्यो

जाजरकोट, १९ साउन ।
पाँच वर्षअघि तरकारी, दालमा लसुन प्रयोग गर्नका लागि नलगाड नगरपालिका–१० रग्दाका डम्वर रावत एक दिनको पैदल बाटो हिँडेर रुकुम पश्चिमको राडीमा पुग्थे यातायातको सहज पहुँच नभएको त्यतिबेला पिठ्यूमा बोकेर ल्याएको लसुनले गाउँभरी अलि, अलि सहायता गर्थ्यो ।
टाउको दुख्दा होस् वा झाडापखाला लाग्दा यहाँका सर्वसाधारणहरु लसुन पकाएर झोल बनाई खाँदा अचुक औषधिको काम गरेको डम्बर सम्झिन्छन् । ‘औषधिका लागि एक गानो (१ पिस) लसुन खोज्न गाउँभरी भौतारिने हामी, अहिले गाउँमा क्विन्टलका, क्विन्टल लसुन विक्री गर्ने अवस्थामा पुगेका छौँ’ उनले भने ।
त्यस्तै, अर्का कृषक रामबहादुर ध्यार डम्वरको सिको गर्दै लसुन लगाउन सुरु गरेको बताउँछन् । अहिले दुईसयभन्दा बढी कृषकहरु लसुन खेतीमा सक्रिया छन् । मिहिनेति किसान अहिले लसुन खेतीमा जुटेका छन् । युद्धकालमा भूमिगत जीवन बिताएका हालका नगरप्रमुख टेकबहादुर रावलले लसुनको सम्भावना अध्ययन गरेको बताउँदै सो ठाउँमा तीन वर्ष अघि लसुनको पकेट क्षेत्र बनाउन विशेष कार्ययोजना बनाएका थिए ।
सो कार्ययोजनालाई प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले तुरुन्तै कृषि शाखामार्फत सल्लाह गरी नीति तथा कार्यक्रममा समावेश गदै लसुनको पकेट क्षेत्र घोषणासम्मका काम गरेका थिए। रग्दालाइ नलगाड नगरपालिकाको पकेट क्षेत्र बनाएको नगरले पछिल्लो तीन वर्षमा वडा नं ८,९,१० र ११ लाई समेटेर पकेट क्षेत्र घोषण गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए ।
उनले भने, ‘सुरुका दिनमा सानो क्षेत्रमा लसुनको बीउ उत्पादन गर्नका लागि लगानी गरिएको थियो, अहिले १ देखि १३ नम्वर वडामा विस्तार गरी सवै कृषकलाई व्यवसायिक खेतीतर्फ उन्मुख गराएका छौँ ।’ तीन वर्षको उत्पादन कति ? कृषि शाखाका बालकृष्ण आचार्यका अनुसार तीन वर्षमा लसुनको उत्पादन दर पहिलो वर्ष तीन सय, दोस्रो ६ सय, तेस्रो तीन सय पचास क्विन्टल रहेको छ । क्वीन्टल उत्पादन भएको थिया े। यो वर्ष रोगका कारण अघिल्लो वर्ष भन्दा कम उत्पादन भएको छ ।
गहुँ, जौँ, उत्पादन गरेर दुख समेत उठ्न धौँ, धौँ भएको बताउने कृषकहरु लसुनखुतीबाट मनग्य आम्दानी भएपछि खुसी भएका छन् । अर्थआर्जन सँगै घरियासी काम देखि छोरा,छोरी पठाउने सम्मको खर्च लसुन विक्रीबाट भएको आम्दानीले टरेको कृषक कालीबहादुर डिसीले बताए । नलगाडको लसुन सुर्खेत, नेपालगन्ज र काठमाडौँ सम्मा पुगेका प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए ।
नलगाड नगरपालिकाले वडा १, २ र ४ लाई मह, वडा नं. ५ लाई मकै, वडा नं. ६ लाई आलु, वडा नं. ७ र ८ लाई धान तथा ८, ९ र १० लाई लसुन उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ । वडा नं. ३ लाई अलैंची र १३ लाई स्याउ उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको छ । जिल्लाको सबैभन्दा कृषि उत्पादनका साथै विद्युतको हर्वको रुपमा विकास हुँदै गरेको नलगाड नगरपालिका आत्मनिर्भरको दिशातिर गएको छ ।







