विपद् आउनुअघि जुम्लामा नेपाली सेनाद्वारा उद्धारको तयारी

गाेल्डेन बुढा,
जुम्ला,१३ जेठ ।
भीरमाथिबाट झुन्डिएको डोरी, तल खोँचमा उद्धारको पर्खाइमा परेका ‘घाइते’, नदीको बहाव चिरेर अघि बढिरहेका सुरक्षाकर्मी र पहिरोले पुरिएको बस्तीबाट मानिस निकाल्ने हतारो। केहीबेर दासाँघु क्षेत्र वास्तविक विपद्को दृश्यजस्तै देखिन्थ्यो। तर,त्यो वास्तविक घटना थिएन, सम्भावित मनसुनजन्य विपद्को सामना गर्न गरिएको ‘रेस्क्यु रिहर्सल’ थियो।मनसुन सुरु हुन केही दिन बाँकी रहँदा जुम्लामा नेपाली सेनाले सम्भावित विपद्को पूर्वतयारीस्वरूप ‘विपद् प्रतिकार्य संयुक्त अभ्यास मनसुन–६’ सञ्चालन गरेको छ। चन्दननाथ नगरपालिका–१ दासाँघुमा गरिएको उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानीयवासी र विभिन्न सरकारी निकाय सहभागी भए।नेपाली सेनाको देविदत्त गण जुम्लाको नेतृत्वमा गरिएको अभ्यासमा पहिरो, बाढी, डुबान, भीर तथा नदीमा फसेका व्यक्तिलाई कसरी सुरक्षित रूपमा उद्धार गर्ने भन्ने प्रत्यक्ष प्रदर्शन गरिएको थियो। कृत्रिम रूपमा सिर्जित विपद्का दृश्यहरूबीच सुरक्षाकर्मीले खोँचमा फसेका व्यक्तिलाई डोरीको सहायताले माथि तान्दै गर्दा उपस्थित स्थानीय केहीबेर स्तब्ध देखिन्थे।अभ्यासमा ‘हाइ एंगल रेस्क्यु’ प्रविधिबाट नदीमा फसेका व्यक्तिको उद्धार, पहिरोले पुरिएका नागरिकको खोज तथा उद्धार, डुबानमा परेकालाई पानीबाट बाहिर निकाल्ने, बाढीले बगाएका व्यक्तिलाई सुरक्षित स्थानमा लैजाने तथा रिभर क्रसिङमार्फत जोखिमयुक्त क्षेत्र पार गराउने अभ्यास गरिएको थियो।देविदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले जुम्ला प्राकृतिक विपद्को उच्च जोखिममा रहेको भन्दै विपद् आउनुअघि नै तयारी आवश्यक रहेको बताए। “मनसुन सुरु भएपछि मात्र तयारी गर्ने समय हुँदैन,” उनले भने, “विपद् आइपर्दा कसले के गर्ने भन्नेबारे समुदायलाई पहिल्यै अभ्यस्त बनाउन यो अभ्यास गरिएको हो।”उनका अनुसार विपद् व्यवस्थापन केवल सुरक्षाकर्मीको जिम्मेवारी नभई समुदायको पनि साझा दायित्व हो।
“उद्धार टोली पुग्नुअघि स्थानीय आफैंले प्रारम्भिक उद्धार गर्न सक्ने अवस्था बनाउनुपर्छ,” उनले भने।कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत, उपमेयर रामदेवी खड्का, २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति अर्जुन बस्नेत, जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी चिरञ्जीवी दाहाल, सशस्त्र प्रहरी बल ३३ नम्बर गण जुम्लाका एसपी देबबहादुर बोहोरा, राष्ट्रिय अनुसन्धान कार्यालय जुम्लाका प्रमुख लक्ष्मण चौधरी, जनप्रतिनिधि, कर्मचारी,विद्यार्थी र स्थानीय गरी पाँच सयभन्दा बढीको सहभागिता थियो।मेयर राजुसिंह कठायतले विपद्का बेला नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिका उच्च प्रशंसनीय रहेको बताए। “आगलागी, बाढी, पहिरो जस्ता घटनामा सेनाले सधैं अग्रपंक्तिमा रहेर काम गरेको छ,” उनले भने, “विपद् प्रतिकार्य कुनै एक संस्था वा व्यक्तिको भरमा सम्भव हुँदैन, यसका लागि सामूहिक प्रयास आवश्यक छ।”उनले नगरपालिकाले प्रत्येक वर्ष विपद् व्यवस्थापनका लागि बजेट छुट्याउँदै आएको जानकारी दिँदै डोजर, दमकल, ट्याक्टर, एम्बुलेन्स र शववाहन तयारी अवस्थामा राखिएको बताए।उप-मेयर रामदेवी खड्काले बर्सेनि वर्षात्का कारण जुम्लामा बाढी, पहिरो र डुबानले जनधनको क्षति पुर्याउँदै आएको उल्लेख गर्दै यस्ता अभ्यासले समुदायमा आत्मविश्वास र सचेतना बढाउने बताइन्। “विपद् जतिबेला पनि आउन सक्छ,” उनले भनिन्, “त्यसैले हरेक नागरिक उच्च सतर्कतामा रहनुपर्छ।”२४ नम्बर बाहिनी अड्डाका बाहिनीपति अर्जुन बस्नेतले अहिलेको अवस्थामा विपद् पूर्वतयारी सबैभन्दा महत्वपूर्ण विषय बनेको बताए। “कतै पुल भाँचियो भने? सडक अवरुद्ध भयो भने? उद्धार टोली पुग्न नसक्ने अवस्था आयो भने?” उनले प्रश्न गर्दै भने, “त्यस्तो अवस्थामा डोरीको सहायताले कसरी ज्यान बचाउन सकिन्छ भन्ने अभ्यास अहिलेको आवश्यकता हो।”उनका अनुसार भीर र पहरामा अड्किएका व्यक्तिलाई सुरक्षित रूपमा बाहिर ल्याउने सीप समुदायसम्म पुर्याउन खोजिएको हो। “विपद् कसैलाई सोधेर आउँदैन,” उनले भने, “तयारी नै सबैभन्दा ठूलो सुरक्षा हो।”जिल्ला प्रशासन कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिले केही दिनअघि ‘मनसुन तथा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुमोदन गरिसकेको छ। योजनाअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा विपद् लक्षित बजेट, राहत सामग्री, तालिमप्राप्त जनशक्ति र उद्धार संरचना तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
सरकारी तथ्यांकअनुसार जुम्ला अझै पनि आगलागी, डढेलो, बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको जिल्ला हो। वर्षात्सँगै गाउँबस्ती जोखिममा पर्ने, सडक अवरुद्ध हुने, नागरिक विस्थापित हुने र मानवीय क्षति हुने घटना यहाँ नयाँ होइनन्। त्यसैले यसपटकको अभ्यासलाई केवल ‘प्रदर्शन’ होइन, सम्भावित संकटअघि गरिएको तयारीका रूपमा हेरिएको छ।स्थानीयका अनुसार अभ्यासले समुदायमा भरोसा थपेको छ। विपद्का बेला राज्य संयन्त्र, सुरक्षाकर्मी र समुदायबीच समन्वय कसरी हुन्छ भन्ने प्रत्यक्ष देखेपछि धेरैले यसलाई “मनसुनअघि गरिएको आवश्यक पाठ” का रूपमा बुझेका छन्।






