दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ, ८ साउन ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ ।
यसका लागि प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ । गत असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, पिपिएअन्तर्गतका दायित्वको कार्यान्वयन र आरसिओडीको अवस्थाका आधारमा चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाको आरसिओडी थप्ने प्रक्रिया अघि बढाइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बुधबार जलविद्युत् प्रवद्र्धकसँगको छलफलमा सरकारले निजी क्षेत्रलाई समस्यामा पार्ने होइन, निर्माणाधीन आयोजनालाई सहजीकरण गर्ने उद्देश्यले आरसिओडी थप गर्न लागेको स्पष्ट पारे । उनले यस्तो निर्णय कुनै व्यक्ति विशेषको इच्छाअनुसार नभई संस्थागत प्रणालीबाट हुने व्यवस्था विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
मन्त्री श्रेष्ठले निजी क्षेत्रको आत्मसम्मान र लगानी सुरक्षाप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै प्रवद्र्धकहरूले पनि आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्नेमा जोड दिए । सरकार र निजी क्षेत्रबीच पारस्परिक उत्तरदायित्व कायम हुँदा मात्रै ऊर्जा क्षेत्रको विकासले अपेक्षित गति लिने उनको भनाई थियो ।
प्राधिकरणका अनुसार हाल आठ हजार २९२ मेगावाट क्षमताका ३२० जलविद्युत् आयोजना निर्माणाधीन छन् । तीमध्ये समूह ‘क’ मा चार हजार ४९१ मेगावाट क्षमताका १५० आयोजना छन् । समूह ‘ख’ मा एक हजार ४२० मेगावाट क्षमताका ६८ आयोजना समावेश छन् । बाँकी आयोजना समूह ‘ग’ र ‘घ’ मा वर्गीकृत गरिएका छन् ।
छलफलमा ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले प्राकृतिक न्यायको सिद्धान्तका आधारमा सबै आयोजनाको आरसिओडी अन्तिम पटक निश्चित सर्तसहित थप गरिनुपर्ने धारणा राखे । उनले एक वर्षभित्र पिपिए सम्पन्न गर्ने र त्यसपछि छ महिनाभित्र निर्माण सुरु गर्ने प्रतिबद्धताका आधारमा सबै आयोजनालाई समान अवसर दिन आग्रह गरे ।
प्राधिकरणले तयार गरेको मापदण्डअनुसार समूह ‘क’ मा आरसिओडी अवधि समाप्त नभएका तथा उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन, जग्गा व्यवस्थापनलगायत पिपिएमा उल्लिखित दायित्व पूरा गरेका वा सम्झौताअनुसार पूरा गर्न बाँकी समय रहेका आयोजना पर्नेछन् ।
समूह ‘ख’ मा आरसिओडी सकिए पनि प्राधिकरणतर्फबाट प्रसारण लाइन वा सबस्टेसन निर्माणमा ढिलाइ भएका कारण सञ्चालनमा आउन नसकेका आयोजना समावेश छन् । साथै, काबुबाहिरको परिस्थितिका कारण निर्माण प्रभावित भई आवश्यक प्रमाणसहित आरसिओडी थपको स्वीकृति पाएका तथा आरसिओडी अवधि सकिँदासम्म कम्तीमा २५ प्रतिशत भौतिक प्रगति हासिल गरेका आयोजना पनि यही समूहमा राखिएका छन् ।
समूह ‘ग’ मा आरसिओडी नसकिए पनि उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन वा जग्गा व्यवस्थापनजस्ता आधारभूत दायित्व पूरा नगरेका वा आरसिओडी समाप्त हुँदासम्म २५ प्रतिशतभन्दा कम भौतिक प्रगति भएका आयोजना राखिनेछन् ।
समूह ‘घ’ मा आरसिओडी सकिएपछि पनि उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन, जग्गा व्यवस्थापनजस्ता अनिवार्य दायित्व पूरा नगरेका वा सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र नै खारेज भएका आयोजना पर्नेछन् ।
प्राधिकरणले भौतिक प्रगति मापनका लागि २०७१ को कार्यविधिलाई आधार बनाएको छ । त्यसअनुसार हेडवर्क्स, सुरुङ, पाइपलाइन, पावरहाउसलगायत मुख्य संरचनाको निर्माण सुरु भई उल्लेखनीय प्रगति भएको अवस्थालाई भौतिक प्रगति मानिनेछ ।
सौर्य आयोजनाका हकमा प्यानल खरिद सम्झौता, एलसी खोलिएको, जग्गा व्यवस्थापन सम्पन्न भएको तथा माउन्टिङ स्ट्रक्चर र फाउन्डेसन निर्माण सुरु भएको अवस्थालाई पनि प्रगतिको सूचकका रूपमा स्वीकार गरिनेछ ।
समूह ‘ख’ मा परेका आयोजनाको नियमित अनुगमन गरिनेछ । प्राधिकरणको विद्युत् व्यापार विभागले समयमै निर्माणसम्पन्न गर्न आवश्यक निर्देशन दिनेछ । उक्त निर्देशन कार्यान्वयन भए–नभएको पनि अनुगमन गरिनेछ । आवश्यकताअनुसार बढीमा छ महिनाभित्र आयोजनाको पुनः वर्गीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, समूह ‘ग’ मा रहेका आयोजनालाई पिपिएअनुसार ‘नोटिस अफ डिफल्ट’ जारी गरिनेछ । त्यसपछि पनि चित्तबुझ्दो सुधार वा जवाफ नआएमा सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।
इआइए स्वीकृत भएका आयोजनामा जलविद्युतको वर्चस्व
कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन स्वीकृत गरेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ । यस अवधिमा २६ वटा इआइए प्रतिवेदन र छ वटा पूरक इआइए प्रतिवेदन स्वीकृत भएका छन् ।
त्यसैगरी, नौ वटा परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका छन् भने सात वटा आयोजनालाई वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएको छ । १५ वटा आयोजनाले पूरक अध्ययनको सहमति प्राप्त गरेका छन् । पाँच आयोजनाको म्याद थप गरिएको छ भने छ आयोजनालाई जरिवाना गरिएको छ ।
इआइए स्वीकृत भएका आयोजनामध्ये अधिकांश जलविद्युत् आयोजना छन् । मन्त्रालयले एक वर्षको अवधिमा ९० मेगावाट क्षमताको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना र २७० मेगावाट क्षमताको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको इआइए स्वीकृत गरेको छ ।
त्यसैगरी ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना, ९१ दशमलव १५ मेगावाट क्षमताको बूढीगण्डकी नदी जलविद्युत् आयोजना तथा ३५ मेगावाट क्षमताको माथिल्लो अप्सुखोला जलविद्युत् आयोजनाको पनि इआइए स्वीकृत भएको छ ।
मन्त्रालयका अनुसार ८८ मेगावाट क्षमताको रोल्वालिङ, ३० मेगावाट क्षमताको माथिल्लो दूधखोला जलविद्युत् आयोजना तथा ३४ दशमलव ३९ मेगावाट क्षमताको सुपर बूढीगण्डकी जलविद्युत् आयोजनाको पनि इआइए स्वीकृत भएको छ ।
पूरक इआइए स्वीकृत भएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन् । तीमध्ये सङ्खुवा खोला जलविद्युत् आयोजना, सिम्बुवा खोला जलविद्युत् आयोजना र मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना छन् ।
परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका आयोजनामध्ये पनि जलविद्युत् आयोजनाको सङ्ख्या बढी छ । तीमध्ये सुपर तमोर, माथिल्लो बलेफी, तिनाउ खोला, रोल्वालिङ खोला, बलेफी खोला तथा कालीगण्डकी गर्ज जलविद्युत् आयोजना रहेका छन् ।
विद्युत् प्रसारण लाइनतर्फ लप्सीफेदी–रातामाटे, रातामाटे–न्यू हेटौंडा, रातामाटे–न्यू दमौली, न्यू दमौली–न्यू बुटवल तथा न्यू बुटवल–नेपाल–भारत सीमा ४०० केभी डबल सर्किट प्रसारण लाइनका साथै रातामाटे, न्यू दमौली र न्यू बुटवल ४०० केभी सबस्टेशनको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि स्वीकृत भएको छ । यी प्रसारण लाइन र सबस्टेसन अमेरिकी सहयोग परियोजना एमसिए–नेपालमार्फत निर्माण भइरहेका छन् ।
त्यस्तै, २०१ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि मन्त्रालयले स्वीकृत गरेको छ । वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन् । त्यसमा रोल्वालिङ खोला, कालिका कालीगण्डकी, तमोर खोला–५, कालीगण्डकी गर्ज र मध्य तादी खोला जलविद्युत् आयोजना छन् ।






