भेरीगंगाको नीति तथा कार्यक्रम सार्वजनिक पूर्वाधारदेखि रोजगारीसम्म प्राथमिकता

सुर्खेत, ४ असार ।
सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि “समृद्ध भेरीगंगा, सुखी भेरीगंगाबासी” भन्ने नारासहित वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा नगर प्रमुख यज्ञप्रसाद ढकालले सुशासन, भ्रष्टाचार नियन्त्रण, डिजिटल नगरपालिका, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा मुस्कानसहितको सेवा, अर्गानिक कृषि उत्पादन, सीपमूलक शिक्षा, नगर अस्पताल निर्माण, हरें–मनिरामकाँडा सडकको निर्माणलाई तीव्रता, औद्योगिक ग्राम स्थापना, भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण, भेरी–बबई डाइभर्सन प्रभावित क्षेत्रका समस्या समाधान, क्षेत्रीय विमानस्थल निर्माणका लागि पहल तथा आधुनिक भेरीगंगा उपत्यका विकास योजना अघि बढाउने विषय समेटिएका छन् ।
त्यस्तै, स्थानीय भाषा, कला तथा संस्कृतिको संरक्षण, वन तथा वातावरण संरक्षण, खेलकुद प्रवद्र्धन, लागुऔषध नियन्त्रण, वैज्ञानिक कर प्रणाली, विद्युत विस्तार र नगरको अभिलेख व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने कार्यक्रम पनि समावेश गरिएको छ ।
स्वास्थ्यतर्फ नसर्ने रोग नियन्त्रणका लागि जनचेतनामूलक अभियान सञ्चालन गरिने, सबै स्वास्थ्य चौकीमा छुट्टै नसर्ने रोग सेवा इकाइ स्थापना गरिने, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको विस्तार, योग हल तथा खुला व्यायामशाला निर्माण, विद्यालयमा योग शिक्षा, घुम्ती आयुर्वेद सेवा, जडीबुटीको संरक्षण र अनुसन्धानलाई प्राथमिकता दिइएको छ ।
साथै नगर अस्पताल निर्माण, अपाङ्गता पुनःस्थापना केन्द्र सञ्चालन तथा आँखा उपचार केन्द्रलाई थप व्यवस्थित बनाउने योजना पनि समेटिएको छ। शिक्षातर्फ विद्यालयको शैक्षिक तथा भौतिक सुधार, डिजिटल स्कुल अभियान, सबै विद्यालयमा ई–हाजिरी, ल्यापटप र प्रिन्टर उपलब्ध गराउने, प्राविधिक शिक्षामा छात्रवृत्ति, हरित विद्यालय, नगर पुस्तकालय, पढाइ मेला तथा शिक्षक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ ।
कृषितर्फ “एक घर, एक करेसाबारी” अभियान, तरकारी पकेट क्षेत्र, अर्गानिक उत्पादन, किसान लगानी कोष, कृषि यान्त्रीकरण, मल–बीउ व्यवस्थापन, कृषि हाटबजार, उत्कृष्ट कृषक पुरस्कार, किसानसँग मेयर कार्यक्रम, फलफूल तथा पशुपालन पकेट क्षेत्र विस्तार, कृषि बीमा तथा किसान परिचयपत्र वितरणलाई निरन्तरता दिइने भएको छ ।
खानेपानी तथा सरसफाइतर्फ “एक घर, एक धारा” अभियानलाई विस्तार गर्दै फोहरमैला प्रशोधन केन्द्र सञ्चालन, सार्वजनिक शौचालय निर्माण, खानेपानीको गुणस्तर परीक्षण, ढल व्यवस्थापन तथा सरसफाइ सचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
उद्योग तथा रोजगारीतर्फ औद्योगिक ग्राम र औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिने, उद्योग–व्यवसाय दर्ता तथा नवीकरणलाई थप व्यवस्थित बनाउने, सीपमूलक तालिम प्राप्त युवालाई व्यवसायसँग जोड्ने तथा उद्यमशीलता विकासमार्फत बेरोजगार युवा र महिलालाई स्वरोजगार बनाउने नीति लिइएको नगरपालिकाले जनाएको छ ।






