सम्पादकीय : बजार अनुगमनलाई प्रभावकारी बनाऊ !

केही दिनयता वीरेन्द्रनगरमा आधिकारिक ग्याँस विक्रेता डिलरमा उपभोक्ताको बाक्लो भीड लागिरहेको छ । कारण हो, मध्यपूर्वी देशमा चर्किएको युद्ध । अमेरिका र इजरायलले सुरु गरेको इरानविरुद्धको युद्धको चर्को मूल्य अमेरिका र इजरायलसँगै सिंगो पश्चिम एसिया र विश्वले चुकाउनु परिरहेको छ । आपूर्ति शृंखलामा अवरोध उत्पन्न भएसँगै नेपालमा यतिबेला आधा सिलिन्डर ग्याँस बिक्री सुरु भएको छ । विश्वको २० प्रतिशत इन्धन आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा इरानले निरन्तर निसाना बनाइरहँदा तेलको आपूर्ति शंखृला बिग्रिएको छ । तर नेपालमा तत्काल इन्धन आपूर्तिमा भने समस्या आइसकेको छैन । सरकारले युद्धकै कारण तेल आपूर्तिमा समस्या हुनसक्ने भन्दै वितरणमा नयाँ प्रणाली लागु गरेको थियो । जसका कारण वीरेन्द्रनगरमा इन्धन अभाव हुने भन्दै आवश्यकताभन्दा बढी ग्याँस सिलिण्डर भण्डार गर्ने उपभोक्ताका कारण कृतिम अभाव सिर्जना भएको छ ।

वीरेन्द्रनगरमा दैनिक एक हजार दुई सयको पेरीफेरीमा खाना पकाउने ग्याँस खपत हुँदै आएको छ । तर नेपाल आयल निगमले आधा सिलिण्डर ग्याँस दिन सुरु गरेपछि शुक्रबार मात्रै दुई हजार ६७ वटा सिलिण्डर उपभोक्ताले लिएका छन् ।

स्थानीय ग्याँस विक्रेताका अनुसार पछिल्लो समय उपभोक्ताले सम्भावित अभावको आशङ्कामा आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो । पहिले दैनिक सीमित संख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ । नेपालमा पेट्रोलियमजन्य इन्धन आपूर्ति गर्दै आएको इन्डियन आयल कर्पोरेशनले हालसम्म सहज आपूर्ति गरिरहेकाले तत्काल इन्धन अभाव हुने सम्भावना देखिदैन । कर्णालीमा मनकामना, राप्ती, भेरी, रेडियन्ट र नेपाल ग्याँस कर्णालीले नियमित खाना पकाउने ग्याँस आपूर्ति गर्दै आएका छन् । भेरी ग्याँसका उपभोक्ता अन्य कम्पनीको तुलनामा बढी छन् । इन्धन अभाव हुने हल्लाका बीच उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर होल्ड गरेपछि विपन्न र विद्यार्थीहरु समस्यामा परेका छन् । हल्लाका पछि दौडिएर आवश्यकताभन्दा बढी ग्याँस थुपारेर कृतिम अभाव सिर्जना गरिनुलाई एक प्रकारले अपराध नै मानिन्छ । वास्तविक तथ्य भने एलपि ग्याँसको आयात र विक्री वितरणको अवस्था नियमित भईरहेको छ । आगामी दिनमा पनि निरन्तर हुँदै जानेछ ।

तर मध्यपूर्वको तनावले विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुत हुनेछैन । यसकारण आवश्यक परिमाणमा मात्र इन्धन तथा ग्याँस खरिद गरौं । अनावश्यक भण्डारण नगरौं । ग्याँसको सट्टा विजुलीको खपत बढाऔं । अमेरिकाले रुसबाट एक महिनाका लागि इन्धन खरिद गर्न अनुमती दिएकाले भारतमा तत्काल आयातको चक्र बिग्रिने नदेखिएकाले आत्तिनुपर्ने अवस्था छैन । बजारमा हल्ला फैलाएर खाना पकाउन प्रयोग हुने ग्याँस जस्तो अत्यावश्यक वस्तुको अभाव सिर्जना हुनु नियामक निकायको कमजोरी हो । बजार अनुगमनको पाटो एकदमै फितलो हुँदा कालोबजारीले समेत प्रसय पाइरहेको छ । यो आफैमा कानुनी राज्यको उपहास हो । हरेक संकटका समयमा राज्यले अत्यावश्यक सामग्रीको आपूर्ति श्रृंखला बिग्रन नदिन अनुगमनको पाटो बलियो बनाउनु पर्दछ । अनुगमनका क्रममा दोषि पाइएमा चाहे ति आवश्यकताभन्दा बढी भण्डार गर्ने उपभोक्ता हुन् वा कृतिम अभाव सिर्जना गर्ने व्यापारी, उनीहरुलाई कानून बमोजिम हदैसम्मको कारवाही गर्न राज्यका संयत्र संक्षम हुन्छन्, तब मात्र विपन्न नागरिकले राज्य भएको आभाष गर्न पाउँछन् । यसर्थ, मध्यपूर्वको तनावका कारण सिर्जना हुनसक्ने कृत्रिम इन्धन अभावलाई रोक्न प्रशासनले बजार अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक छ ।

 

सम्पादकीय : बजार अनुगमनलाई प्रभावकारी बनाऊ !

जुम्लामा मौरीपालनतर्फ किसानको आकर्षण, तर संरक्षण नीति

सम्पादकीय : बजार अनुगमनलाई प्रभावकारी बनाऊ !

अन्तर्वार्ता :  पुराना दलले पनि आत्तिनु पर्दैन,

Leave a comment

Your email address will not be published. Required fields are marked *