कर्णालीका १२ निर्वाचन क्षेत्रबाट एमालेका ३१ जना उम्मेदवार सिफारिस

ओम शाही

सुर्खेत, २८ पुस।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेकपा एमालेले उम्मेदवार सिफारिस टुङ्गो लगाएको छ । एमाले कर्णाली प्रदेश कमिटीले कर्णाली १० वटै जिल्लाबाट सिफारिस भइ आएका नामहरुलाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

कर्णाली प्रदेशका १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि ३१ जनाको नाम सिफारिस भएर जिल्लाबाट प्रदेश कमिटीमा आएको थियो । नेकपा एमाले कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष टेकराज पछाईका अनुसार जुम्ला, सल्यान, रुकुम पश्चिम सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रका लागि एकल नाम सिफारिस भएको छ ।

जुम्लाबाट शान्तिलाल महत, सल्यानबाट प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दलाल देवकोटाको नाम सिफारिस भइ आएको थियो । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट ध्रुवकुमार शाही र २ बाट जिल्ला अध्यक्ष कुलमणि देवकोटाको नाम सिफारिस भइ आएको थियो । बाँकी जिल्लाहरुमा हुम्लाबाट केन्द्रीय सदस्य दल रावल र दल फडेराको नाम प्रदेश कमिटीमा सिफारिस भएको थियो ।

डोल्पाबाट जिल्ला अध्यक्ष लंक रोकाया, केन्द्रीय सदस्य बद्मीक्वाँरी बोहरा र पूर्णबहादुर डाँगीको नाम सिफारिस भएको थियो । मुगुबाट राजबहादुर कार्की, पूर्ण रोकाय, गोपाल बम, बालचन्द्र विश्वकर्मा, खड्गराज मल्ल, कर्णशिला मल्ल, जनादेवी भामको नाम सिफारिस भएर प्रदेश कमिटीमा आएको थियो ।

उपाध्यक्ष पछाईका अनुसार दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट रविन्द्र शर्मा, नन्दकिशोर बस्नेत, लिला विसी, निर्वाचन क्षेत्र नम्बर २ बाट विष्णु रिजाल, लक्ष्मी पोखरेल र अम्बिका बोहराको नाम सिफारिस भइ आएको थियो । जाजरकोटबाट निरज आचार्य, नारायण घर्ती, डम्बर सिंह, गणेश थापा र कौशिला खत्रीको नाम सिफारिस भइ आएको थियो । कालीकोटबाट नगिन्द्र शाही नेशनल, वकिल बम र सिता शाहीको नाम सिफारिस भएको थियो ।

दश वटा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदावरका लागि सिफारिस भइ आएका ३१ वटै नाम प्रदेश कमिटीबाट केन्द्रीय कमिटीमा पठाईएको उपाध्यक्ष पछाईले जानकारी दिए । ‘सम्भव भएका केही नामहरु जिल्ला कमिटीमै संशोधन भएका छन्, प्रदेशमा आएका नाम भने हेरफेर कुनै नगरी हामीले जस्ताको तस्तै केन्द्रीय कमिटीमा पठाएका छौं ।’ उनले भने ।

यस्तो छ उम्मेदवारको पृष्ठभूमि

नेकपा एमालेले कर्णालीबाट प्रतिनिधि सभाको उम्मेदवारको आकांक्षीका रुपमा नाम सिफारिस गरिएका व्यक्तिहरु विभिन्न पृष्ठभूमिका छन् । राजनीतिक रुपमा कोहीले प्रदेश र प्रतिनिधि सभाको सदस्यका रुपमा प्रतिनिधित्व गरिसकेका छन् भने कोही पार्टीको प्रदेश तथा जिल्ला नेतृत्वमा पुगेर काम गरेका र गरिरहेकाहरु छन् ।

जुम्लाबाट एकल नाम सिफारिस भइ आएका शान्तिलाल महत नेकपा एमालेको वर्तमान जिल्ला अध्यक्ष हुन् । सल्यानबाट एकल सिफारिस भएका गुलाबजंग शाह यसअघि २०७४ को प्रदेश सभा निर्वाचनबाट निर्वाचित भएर संसदमा प्रतिनिधित्व गरिरहेका छन् । उनी त्यसबेला नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक पनि भएका हुन् । उनी नेकपा एमालेको कर्णाली प्रदेश कमिटीका वर्तमान अध्यक्ष हुन् ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएका ध्रुवकुमार शाहीले यसअघि पनि प्रतिनिधि सभा सदस्यका रुपमा प्रतिनिधित्व गरिसकेका छन् । २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा शाहीले तत्कालिन समयसम्म अपराजित संसद यात्रा गरिरहेको काँग्रेस नेता पूर्णबहादुर खड्कालाइ ब्रेक लगाइदिएका थिए ।

तत्कालिन समयमा नेकपा एमाले र माओवादी मिलेर भएको गठबन्धनबाट उम्मेदवार बनेका शाहीले खड्कालाइ पराजित गर्र्दै सांसद बनेका थिए । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित बनेका शाही हाल नेकपा एमालेको प्रदेश कमिटी सचिव हुन् । यसअघि उनले सुर्खेत जिल्ला अध्यक्षको रुपमा पनि नेतृत्व गरिसकेका थिए । स्थानीय निकायको संरचना हुँदा उनी गाविस अध्यक्ष पनि भइसकेका हुन् ।

त्यस्तै सुर्खेत २ बाट एकल सिफारिस भएका कुलमणि देवकोट नेकपा एमालेको वर्तमान जिल्ला अध्यक्ष हुन् । लामो समयदेखि वीरेन्द्रनगरमा खानेपानी उपलब्ध गराउने सुर्खेत उपत्यका खानेपानी संस्थाको नेतृत्व गरिरहेका उनले एक दशदेखी संस्थाको निर्वाचन नगरेर अबैधानिक चलाइरहेका उनी यसअघिका संसदीय चुनावमा भने उम्मेदवार थिएनन् ।

केन्द्रीय सचिव यामलाल कँडेलको निकट मानिने उनी एमालेबाट सुर्खेत २ का उम्मेदवारका रुपमा नयाँ अनुहार हुन् । हुम्लाबाट सिफारिस भएका दल रावल २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारमा सामाजिक विकास मन्त्री भएर लामो समय काम गरिसकेका छन् ।

उनी नेकपा एमालेको दशौं र र एघारौं दुवै महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । डोल्पाबाट प्रतिनिधि सभाको उम्मेदवार सिफारिस भएकी बद्मीक्वाँरी बोहरा पनि २०७४ मा कर्णाली प्रदेश सभा सदस्य बनिसकेकी छन् । उनी २०७४ को पहिलो प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । हाल उनी केन्द्रीय सदस्य छन् । अर्का सिफारिस भएका लंक रोकाया वर्तमान जिल्ला अध्यक्ष हुन् ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस भएका रविन्द्र शर्मा यसअघि पनि प्रतिनिधि सभा सदस्य बनिसकेका छन् । २०७४ मा भएको निर्वाचनमा उनी यही क्षेत्रबाट सांसद बनेका हुन् । २०७९ को निर्वाचनमा भने उनी तत्कालिन नेकपा (एस) का उम्मेदवार अम्मरबहादुर थापासँग पराजित भएका थिए ।

दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट सिफारिस भएका विष्णु रिजाल हाल केन्द्रीय सदस्य हुन् । उनी नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा रहेर काम गरिरहेका छन् । पार्टीको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने रिजाल पहिलोपटक संसदीय चुनाव लड्ने प्रयासमा छन् । यसअघि यो क्षेत्रमा उम्मेदवार छान्नका लागि भएको निर्वाचनमा पनि उनले सबैभन्दा धेरै मत पाएका थिए ।

यही निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएका अर्का लक्ष्मी पोखरेले २०७० को संविधान सभा निर्वाचनबाट सभासद निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनले यही क्षेत्रबाट हारेका थिए । जाजरकोटबाट सिफारिस भएका निरज आचार्य एमालेका केन्द्रीय सदस्य हुन् ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी शक्ति बस्नेतसँग पराजित भएका थिए । आचार्य अहिले दोस्रोपटक प्रतिनिधि सभा सदस्यका लागि लड्ने प्रयासमा छन् । जाजरकोटबाट उम्मेदवार बनेकी कौशिला खत्री २०७४ निर्वाचनबाट कर्णाली प्रदेश सभा सदस्य बनिसकेकी हुन् ।

नेकपा एमाले कालीकोटमा उम्मेदवार सिफारिसको विषयमा विवाद उत्पन्न भएको छ । विवादपछि युवा नेता वकिल बमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् । शुक्रबार ‎पार्टीले उम्मेदवार सिफारिसमा एकलौटी गरेको र इमानदार कार्यकर्तालाई पाखा लगाएको आरोप लगाउँदै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

‎‎केही दिनअघि काठमाडौंमा भएको कालिकोटको जिल्ला भेलाले वकिल बमसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उक्त निर्णय विवादित बनेपछि पुस २३ गते जिल्लामा बसेको समितिको बैठकले नगीन्द्र शाही ‘नेशनल’ को नाम पुनः एकल सिफारिस गरेको थियो । बमले ‎आफूलाई पन्छाएर एकल नाम सिफारिस गरिएको भन्दै आफू जिम्मेवारीमा नरहने गरी राजीनामा दिएको बताएका छन् ।

एमालेको प्रदेश कमिटी उपाध्यक्ष पछाईले बीचबीचमा विवाद भएपनि सबै नाम केन्द्रमा सिफारिस गरिएको बताएका छन् । ‘पहिले तीन जनाको नाम आएको हो, पछि फेसर एकल नाम आयो,’ उनले भने, ‘राजीनामा दिने र असन्तुष्टी जनाउने कुरा फरक भयो, हामीले यहाँ आएका दुइवटै सिफारिसमा भएका नाम केन्द्रमा पठाइदिएका छौं ।’

टिकट नपाउने भएपछि बस्नेत रास्वपा प्रवेश

नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर १ बाट पतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएका नन्दकिशोर बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । शनिबार रास्वपाको केन्द्रीय कार्यालयमै गएर उनी पार्टी प्रवेश गरेका हुन् ।

एमालेका जिल्लाभित्र परिचित नेतामध्येमा पर्ने बस्नेतसहित एमालेले उक्त क्षेत्रबाट सुरुमा पाँच जनाको नाम सिफारिस गरेको थियो । उनीसँगै सिफारिस भएका रत्नबहादुर खड्का र तेजबहादुर चन्दले नाम फिर्ता लिएका थिए । बस्नेतसहित रविन्द्रराज शर्मा र लिला विसीको नाम पार्टी केन्द्रमै सिफारिस गरिएको छ । सिफारिस भएपनि एमालेबाट टिकट नपाउने निश्चित भएसँगै बस्नेतले रास्वपा प्रवेश गरेका हुन् ।

कर्णालीका १२ निर्वाचन क्षेत्रबाट  एमालेका ३१ जना उम्मेदवार सिफारिस

सम्पादकीय : गरिबीको चपेटामा कर्णाली

कर्णालीका १२ निर्वाचन क्षेत्रबाट  एमालेका ३१ जना उम्मेदवार सिफारिस

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर 

Leave a comment

Your email address will not be published. Required fields are marked *