खुला सिमानाको छायाँमा बाँकेमा लागू औषधको भयावह जालो

बाँके, २७ पुस ।
बाँकेमा लागू औषधको समस्या दिनप्रतिदिन भयावह बन्दै गएको छ । खुला सिमाना, बढ्दो बेरोजगारी, पारिवारिक बेवास्ता र मानसिक दबाबका कारण विशेषगरी युवा तथा बालबालिका लागू औषधको लतमा फस्दै गएका छन् । निगरानी र नियन्त्रणका प्रयास निरन्तर भइरहे पनि बाँके जिल्ला लागू औषध सेवन र ओसारपसारको सहज गन्तव्य बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।
खुला सिमाना रहेको बाँके जिल्लामा लागू औषध सेवन र बेचबिखनको समस्या गम्भीर बन्दै गएको छ । जमुनाहा, जयसपुर, हिरमिनिया, उदयपुर लगायतका नाका तथा नगर क्षेत्रबाट लागू औषध सेवन तथा कारोबारमा संलग्नलाई प्रहरीले नियमित रूपमा पक्राउ गर्दै आएको छ । तर, यस्ता कारबाहीका बाबजुद समस्या न्यूनीकरण हुन सकेको छैन । रोजगारीको अभाव, पारिवारिक असहयोग र सामाजिक–मानसिक दबाबका कारण बालबालिका र युवाहरू लागू औषध दुर्व्यसनतर्फ धकेलिँदै गएका छन् ।
स्थानीय तथ्यांकअनुसार बाँकेमा करिब १२ हजार जना लागू औषध सेवनकर्ता रहेको अनुमान गरिएको छ । युवाहरू रचनात्मक तथा उत्पादनमूलक गतिविधिमा संलग्न हुन नसक्दा सजिलै लागू औषधको ट्रयाकमा फस्ने गरेको देखिन्छ । लागू औषध विरुद्धका अभियन्ता अभिराज क्षेत्री भन्छन्,
“युवालाई सही दिशामा लैजाने खेलकुद, सीपमूलक तालिम र रोजगारीका अवसर नहुँदा उनीहरू सजिलै गलत संगतमा फस्छन् । परिवार र समाजले समयमै ध्यान नदिँदा समस्या झन् जटिल बनेको छ ।”
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा लागू औषधसम्बन्धी १७७ वटा मुद्दा दर्ता भएका थिए । ती मुद्दामा २६४ जना पक्राउ परेका छन् । लागू औषध सेवन मात्र होइन, ओसारपसारको अवस्था पनि दिनप्रतिदिन भयावह बन्दै गएको तथ्यांकले देखाउँछ । यसका कारण घरेलु हिंसा, बेरोजगारी, यौनजन्य रोग, चोरी, लुटपाटजस्ता सामाजिक समस्या समेत बढ्दै गएका छन् ।
बाँके कारागार व्यवस्थापन विभागका अहेव कबिराम बुढाथोकीका अनुसार लागू औषधका कारण जेल पुग्नेको संख्या पनि बढ्दो क्रममा छ । उनी भन्छन्, “लागू औषधमा फसेका धेरैजसो युवा सामान्य कामकाज गर्न नसक्ने अवस्थामा पुग्छन् । यसले परिवार मात्र होइन, समग्र समाजलाई असर पुर्याइरहेको छ ।”
चिन्ताजनक पक्ष के छ भने लागू औषध सेवनमा युवतीहरूको संख्या पनि बढ्दै गएको छ। २० देखि ३५ वर्ष उमेर समूहका युवा–युवती सबैभन्दा बढी जोखिममा रहेका छन् । प्रहरीका अनुसार बाँकेमा ब्राउन सुगरको प्रयोग सबैभन्दा बढी देखिएको छ । नेपालगञ्ज हुँदै अफिम र चरेस भारततर्फ जाने तथा भारतबाट ब्राउन सुगर लगायतका नार्कोटिक ड्रग नेपाल भित्रिने क्रम जारी छ। खुला सिमानाकै कारण सेवन र ओसारपसार सहज बनेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पाताली भन्छन्, “खुला सिमानाले चुनौती थपिएको छ । हामीले नियमित चेकजाँच, गस्ती र विशेष अपरेसन चलाइरहेका छौं। तर, सीमापार समन्वय र समुदायको सहयोग बिना समस्या नियन्त्रण गर्न गाह्रो छ ।”
लागू औषध न्यूनीकरणका लागि बाँकेमा हाल १७ वटा उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालनमा छन् । जसमध्ये १५ वटा पुरुष र दुईवटा महिलाका लागि छुट्टै छन् । यी केन्द्रमा करिब ३०० जना उपचारका लागि भर्ना भएका छन् । तर, अनुमानित सेवनकर्ताको संख्या हेर्दा उपचार र पुनर्स्थापनाको पहुँच अझै अपर्याप्त देखिन्छ ।
सरकार, सुरक्षा निकाय, स्थानीय तह, विद्यालय, परिवार र समुदायबीच समन्वय गरेर मात्र लागू औषधको बढ्दो समस्या नियन्त्रण गर्न सकिने सरोकारवालाहरूको जोड छ । समयमै सचेतना, रोजगार सिर्जना, पारिवारिक निगरानी र कडा कानुनी कार्यान्वयन नभए बाँकेमा लागू औषधको समस्या झन् गहिरिँदै जाने चेतावनी उनीहरूले दिएका छन् ।






