वातावरण दिवसमा:जलवायु र प्रकृति जोगाउन जुम्लाको सामूहिक पहल

गाेल्डेन बुढा
जुम्ला,२३ जेठ ।
जलवायु परिवर्तनको बढ्दो चुनौतीबीच विश्व वातावरण दिवस २०८३ जुम्लामा वृक्षारोपण, जनचेतनामूलक सडक नाटक, चित्रकला तथा हाजिरीजवाफ प्रतियोगिताजस्ता कार्यक्रममार्फत मनाइएको छ। ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित आयोजित कार्यक्रमले वातावरण संरक्षण केवल सरकारी अभियान नभई भावी पुस्ताको दायित्व भएको सन्देश दिएको छ।डिभिजन वन कार्यालय जुम्लाको आयोजनामा सदरमुकाम खलंगास्थित चन्दननाथ माध्यमिक विद्यालय परिसरमा २५ वटा धुपीका बिरुवा रोपिएका छन् भने गुठिचौर गाउँपालिका–१ स्थित नायपानी सामुदायिक वन क्षेत्रमा ५३ वटा देवदारका बिरुवा रोपिएको डिभिजन वन कार्यालय जुम्लाका भरत बुढ्थापाले जानकारी दिए।

जुम्लाको जुगाडखाेलामा पनि सरसफाइ गरिएको थियो।बढ्दो वन विनाश, तापक्रम वृद्धि र जलवायु परिवर्तनका असरबीच गरिएका यस्ता वृक्षारोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न टेवा पुग्ने विश्वास गरिएको छ।दिवसको अवसरमा सदरमुकामको केन्द्र बालमन्दिर अगाडि सन्देशमूलक सडक नाटक प्रदर्शन गरिएको थियो। नाटकमार्फत वन विनाश, वातावरण प्रदूषण, जलवायु परिवर्तन र मानव जिम्मेवारीका विषयलाई कलात्मक रूपमा प्रस्तुत गरिएको थियो। उपस्थित सर्वसाधारणले वातावरण जोगाउने जिम्मेवारी राज्यको मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व भएको अनुभूति गरेका थिए।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको सहकार्यमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा विद्यार्थीहरूले प्रकृति संरक्षण, स्वच्छ वातावरण, हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनका विषयलाई सिर्जनात्मक रूपमा चित्रमा उतारेका थिए। माध्यमिक विद्यालयतर्फ चन्दननाथ माध्यमिक विद्यालयकी निभाश्री श्रेष्ठ प्रथम, जनता माध्यमिक विद्यालयकी रोशनी न्यौपाने द्वितीय तथा कर्णाली माध्यमिक विद्यालय अनामनगरका सुनिल कामी तृतीय भएका छन्।

जनता माध्यमिक विद्यालयका प्रशान्त भण्डारीले सान्त्वना स्थान प्राप्त गरेका छन्।आधारभूत विद्यालयतर्फ मालिका आधारभूत विद्यालय आचार्यबाडाका राजन सार्की प्रथम, भगवती आधारभूत विद्यालय जातिभिडका गोल्डेन रोकाया द्वितीय तथा मालिका आधारभूत विद्यालय आचार्यबाडाकी सरला सार्की तृतीय भएकी छन्। भगवती आधारभूत विद्यालयकी कृष्मा थापाले सान्त्वना स्थान हासिल गरेकी छन्।चन्दननाथ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले वातावरणीय शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सचेतना विस्तार गर्नुपर्ने बताए। उनका अनुसार वातावरण संरक्षणसम्बन्धी व्यवहारिक शिक्षा बिना दिगो विकासको परिकल्पना सम्भव छैन।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाका सुपर परियोजना अधिकृत ईश्वरा सुवेदीले विद्यार्थीहरूमा वातावरणप्रतिको सकारात्मक सोच, जिम्मेवारीबोध र संरक्षण संस्कृतिको विकास गर्न यस्ता सिर्जनात्मक प्रतियोगिता प्रभावकारी हुने बताइन्।

प्रतियोगिताका विजेताहरूलाई शैक्षिक सामग्री, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।यसै अवसरमा चन्दननाथ माध्यमिक विद्यालयमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा चन्दननाथ माध्यमिक विद्यालय प्रथम, कनिकानिशा माध्यमिक विद्यालय द्वितीय तथा जनता माध्यमिक विद्यालय तृतीय भएको सुब्बा तेजेन्द्रबहादुर रावलले जानकारी दिए।
प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँसहित शैक्षिक सामग्री प्रदान गरिएको थियो।वृक्षारोपणदेखि सिर्जनात्मक प्रतिस्पर्धा र सडक नाटकसम्मका गतिविधिमार्फत जुम्लामा मनाइएको विश्व वातावरण दिवसले वातावरण संरक्षणको अभियानलाई कक्षाकोठाबाट समुदायसम्म विस्तार गर्ने सन्देश दिएको छ। जलवायु संकट विश्वव्यापी चुनौतीका रूपमा उभिएको वर्तमान अवस्थामा प्रकृतिमैत्री विकास र वातावरणीय जिम्मेवारीलाई व्यवहारमा उतार्न सके मात्र समृद्ध भविष्यको आधार निर्माण हुने सरोकारवालाहरूले बताएका छन्।







