खानेपानी तथा सरसफाइ योजनाको दिगोपनाका लागि कालिमाटीमा पालिका स्तरीय मर्मत–सम्भार कार्यशाला सम्पन्न

सल्यान, कालिमाटी,२२ जेठ ।
कालिमाटी गाउँपालिकामा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाहरूको दिगोपना र प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने उद्देश्यले पालिका स्तरीय मर्मत–सम्भार कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कालिमाटी गाउँपालिका र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमअन्तर्गत Helvetas Nepal को आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्था को सामाजिक तथा प्राविधिक सहजीकरणमा आयोजित कार्यक्रम गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री (केसी) को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष संशिल्ता वली डिसीको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा हेल्भेटास नेपालका क्षमता विकास विषयगत विज्ञ नीलकण्ठ पाण्डेले खानेपानी तथा सरसफाइ योजनाहरूको दीर्घकालीन सञ्चालन, नियमित मर्मत–सम्भार, स्रोत व्यवस्थापन तथा उपभोक्ता समितिको भूमिकाबारे सहजीकरण गरेका थिए।
कार्यशालामा गाउँपालिकाभित्रका सबै वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, कर्मचारी तथा ५६७ ग्रान्टअन्तर्गत सञ्चालित खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूबीच खानेपानी तथा सरसफाइ योजनामा देखिएका चुनौती, मर्मत–सम्भारका आवश्यकता, व्यवस्थापनका अभ्यास तथा योजनाहरूलाई दिगो र प्रभावकारी बनाउने उपायबारे व्यापक छलफल गरिएको थियो। साथै योजनाको नियमित अनुगमन, पारदर्शी व्यवस्थापन र समुदायको सक्रिय सहभागितालाई थप सुदृढ बनाउने विषयमा समेत जोड दिइएको थियो।

कार्यक्रमले खानेपानी तथा सरसफाइ योजनाहरूको सुचारु सञ्चालन, दीर्घकालीन संरक्षण तथा सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।






