‘कोड फर इम्प्याक्ट’ ह्याकाथनले सुर्खेतमा नवप्रवर्तन र उत्साह थप्यो
सुर्खेत,२० माघ ।
देशव्यापी नवप्रवर्तन यात्रालाई थप गति दिँदै ‘कोड फर इम्प्याक्ट: अमेरिका – नेपाल टेक इनोभेसन ह्याकाथन’ को सुर्खेत संस्करण कोपिला भ्याली स्कूलमा फेब्रुअरी १ मा सम्पन्न भएको छ। यसले नेपालभर तीव्र गतिमा अघि बढिरहेको नवप्रवर्तन यात्रामा थप ऊर्जा थपेको छ।
कर्णालीका लागि यो ऐतिहासिक पहिलो हो: सुर्खेत संस्करण कर्णाली प्रदेशमा पहिलो पटक आयोजना भएको ह्याकाथन हो। सहभागी सबैजना पहिलो पटक ह्याकाथनमा सहभागी भएका थिए—जहाँ उनीहरूले पहिलो पटक प्रोटोटाइप बनाउँदै मेन्टरहरूको सहयोगमा आफ्ना आइडिया परीक्षण र परिमार्जन गर्ने अवसर पाए।
गत जनवरी १८–१९ मा बुटवलबाट सुरु भएको यो राष्ट्रिय अभियानले गण्डकी, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा सफलताका साथ आफ्ना संस्करणहरू सम्पन्न गरिसकेको छ। कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा भने यस प्रादेशिक श्रृंखलाकै हिस्साका रूपमा ह्याकाथन आयोजना गरिएको थियो। यस प्रादेशिक यात्राको अर्को गन्तव्य बागमती प्रदेश हुनेछ।
सुर्खेतमा कर्णाली प्रदेशभरिका युवा नवप्रवर्तकहरू प्रविधिको माध्यमबाट वास्तविक चुनौतीहरूको समाधान निर्माण गर्न दुई दिनसम्म उत्साहका साथ जुटेका थिए। सहभागी टोलीहरूले स्वास्थ्य, शिक्षा र पर्यटनजस्ता प्राथमिकताका क्षेत्रहरूमा आधारित समाधानहरू विकास गरेका थिए। यस प्रक्रियामा उनीहरूलाई नेपालको फस्टाउँदै गएको प्राविधिक क्षेत्रमा आबद्ध मेन्टरहरूले मार्गदर्शन गरेका थिए। ह्याकाथनले तत्कालको समाधानभन्दा पनि दीर्घकालीन सम्भावना बोकेका सोचहरू, सिकाइ, सहकार्य र मानवीय आवश्यकतामा केन्द्रित डिजाइनलाई जोड दिएको थियो।
कर्णाली प्रदेश ह्याकाथनको समापनमा निम्न टोलीहरू प्रादेशिक विजेता तथा सेमिफाइनलिस्टका रूपमा चयन भएका छन्:
टोली Neuro (“Medico”) ले परिवारको दैनिक स्वास्थ्य व्यवस्थापन सहज बनाउने डिजिटल हेल्थ प्लेटफर्मको प्रोटोटाइप प्रस्तुत गरेको छ। यसमा एआई-आधारित हेल्थ असिस्टेन्ट, बालबालिकाको स्वास्थ्य विवरण सुरक्षित राख्ने पेडियाट्रिक हेल्थ भल्ट (डेटाबेस), तथा औषधि र खोपका लागि स्मार्ट रिमाइन्डर समावेश छन्—जसले परिवारहरूलाई स्वास्थ्य जानकारी व्यवस्थित गर्न र समयमै औषधि/खोप व्यवस्थापन गर्न सहयोग गर्ने लक्ष्य राख्छ।
टोली GOAT ले ट्रेकिङ र होमस्टे क्षेत्रलाई लक्षित डिजिटल पर्यटन प्लेटफर्मको अवधारणा विकास गरेको छ। यसले रुट/सूचनाको एकीकृत प्रणालीको अभाव, यात्राको सुरक्षा जोखिम, र स्थानीय होमस्टेको कम दृश्यता जस्ता समस्याहरू समाधान गर्ने उद्देश्य राख्छ। समाधानले यात्रुहरूलाई रुट तथा म्यापमा सजिलो पहुँच, जोखिम/सुरक्षा सम्बन्धी अपडेट, र स्थानीय सेवा तथा अनुभवहरू खोज्न सहज बनाउने लक्ष्य लिएको छ।
कर्णालीमा पहिलो पटक आयोजित ह्याकाथनबारे कोपिला भ्याली स्कूलकी सह–संस्थापक म्यागी डोयन (Maggie Doyne) ले भनिन्: “सहभागीहरूले निर्माण गरिरहेका समाधानहरू कर्णाली प्रदेशलाई ठ्याक्कै चाहिएको कुरा हो, र उनीहरूको सिर्जनशीलता तथा समर्पणबाट म अत्यन्त प्रेरित भएकी छु।”
‘कोड फर इम्प्याक्ट’ अमेरिकी दूतावास नेपालको नेतृत्वमा आद्यन्त एडभाइजरी, एमचाम नेपाल र आद्यन्त फण्ड म्यानेजमेन्टसँगको साझेदारीमा सञ्चालित एक राष्ट्रिय पहल हो। ६ महिना लामो यस कार्यक्रमले सातै प्रदेशका झन्डै १७५ युवा नवप्रवर्तकहरूलाई समेट्दै ह्याकाथन, मेन्टरशिप तथा इन्क्युबेशन र लगानीका अवसरसँग जोड्ने लक्ष्य राखेको छ।
यो अभियानअन्तर्गत काठमाडौं संस्करण फेब्रुअरी ५–६ का लागि तय गरिएको छ। त्यसपछि सेमिफाइनलिस्टहरूका लागि उन्नत मेन्टरशिप तथा राष्ट्रिय प्रोटोटाइप शोकेस लगायतका चरणहरू अघि बढ्नेछन्।
काठमाडौं बाहिरका प्रतिभाहरूलाई प्रस्फुटित गर्दै, स्थानीय सोचहरूलाई विश्वव्यापी औजार र मेन्टरशिपसँग जोड्न ‘कोड फर इम्प्याक्ट’ ले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। यसले नेपालमा प्रविधिमा आधारित समाधानको नयाँ पुस्ता तयार पार्न मद्दत पुर्याउने विश्वास लिइएको छ।
थप जानकारी तथा अपडेटका लागि अमेरिकी दूतावास नेपाल र आद्यन्त एडभाइजरीका आधिकारिक सामाजिक सञ्जालहरू हेर्न सक्नुहुनेछ।





