जुम्लामा तीन दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न

काली बहादुर परियार
जुम्ला,१५ भदौ।
जुम्ला । तीन दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय र प्राविधिक सहयोग, स्वीस रेडक्रसको आर्थिक सहयोग तथा चन्दननाथ नगरपालिकाको सहजिकरणमा रेडक्रस जुम्ला शाखाले तालिम सम्पन्न गरेको हो।
शहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्धन परियोजनाअन्तर्गत सञ्चालित उक्त तालिममा नगर प्रहरी, सशस्त्र प्रहरी, नगरपालिका भित्रका विपद् व्यवस्थापन समिति, रेडक्रसका उपशाखा सभापति तथा दमकलकर्मी लगायतको सहभागिता रहेको थियो ।
सुपर परियोजना जुम्लाका परियोजना अधिकृत ईश्वरा सुवेदीका अनुसार तालिमले विपद् व्यवस्थापनमा आवश्यक पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य तथा पुनःस्थापनामा सहभागीहरूलाई सीपमूलक दक्षता प्रदान गरेको छ।
चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले आगलागी नियन्त्रण र उद्धारका लागि पर्याप्त तयारी नहुँदा जोखिम बढ्दो अवस्थामा यस्ता तालिमले व्यवहारिक ज्ञान दिलाउने बताए।
त्यसैगरी, नरेसो विपद् व्यवस्थापन तथा तालिम संयोजक तिर्थराज पाण्डेले बहुप्रकोप जोखिमयुक्त सहरी क्षेत्रमा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धि गर्न तालिम अत्यन्तै महत्वपूर्ण भएको धारणा राखे।
चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतका अनुसार, विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सबै निकायको सहकार्य आवश्यक हुने भएकाले आगामी दिनमा यस्ता तालिमलाई गाउँ–गाउँसम्म विस्तार गरिने योजना रहेको छ।
नेपाल रेडक्रस सोसाइटी जुम्लाका सभापति लोकदर्शन श्रेष्ठले रेडक्रसले स्थानीय तहसँग प्रत्यक्ष सहकार्य गर्दै विपद् रोकथामदेखि उद्धार र राहतसम्म निरन्तर भूमिका खेल्दै आएको जानकारी दिए।






