“पुस्तकालय केवल किताब राख्ने स्थान होइन, ज्ञान र संस्कृतिको केन्द्र हो”:मन्त्री तिमिल्सिना

कपिलवस्तु ,१५ भदौ।

लुम्बिनी प्रदेशमा १८औँ पुस्तकालय दिवस–२०८२ आइतबार कपिलवस्तुमा विविध कार्यक्रमसहित मनाइएको छ । ‘हाम्रो पुस्तकालय हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ मनाइएका कार्यक्रममा पुस्तकालयलाई शिक्षित, सशक्त र जागरूक समाज निर्माण गर्ने आधारस्तम्भका रूपमा प्रस्तुत गरिएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पुस्तकालयलाई केवल पुस्तक भण्डारण गर्ने स्थल नभई “ज्ञान, चेतना र संस्कृतिको केन्द्र” का रूपमा परिभाषित गर्नुभयो । उहाँले सूचना र प्रविधिको युगमा पुस्तकालयको महत्त्व अझै बढेको भन्दै सामुदायिक, विद्यालय र डिजिटल पुस्तकालयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रदेश सरकारको नीति स्पष्ट गर्नुभयो ।

मन्त्री तिमिल्सिनाले सामुदायिक पुस्तकालयलाई शैक्षिक स्रोत केन्द्रका रूपमा विकास गर्ने, विद्यालय पुस्तकालयलाई आधुनिक शिक्षण सामग्रीले समृद्ध बनाउने र डिजिटल प्रणालीलाई विस्तार गर्ने योजनाबारे जानकारी दिनुभयो । साथै उहाँले “हाम्रो पुस्तकालय हाम्रो भविष्य” भन्ने नाराले जिम्मेवारी र संकल्प दुवै गराएको भन्दै पुस्तकालयलाई जन–जनको अभियान बनाउन सबैलाई आह्वान गर्नुभयो ।

उहाँले बालबालिकादेखि वृद्धसम्म सबैलाई पुस्तकालयतर्फ आकर्षित गर्ने, अध्ययन–संस्कृतिको पुनर्जागरणमार्फत उज्ज्वल भविष्य निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

यस अवसरमा वि.सं. १९९३ सालमा स्थापित पशुपति प्रताप पुस्तकालयलाई सम्मान गरिएको थियो । मन्त्री तिमिल्सिनाले उक्त पुस्तकालयले पठन संस्कृतिको विकासमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनमा यसको स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य सुधाकर पाण्डेले पुस्तकालयलाई “सामाजिक रुपान्तरणको आधार” भन्दै पठन संस्कृतिको पुनर्जागरण गर्न सबै तहबाट पहल हुनुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका सचिव बसन्त प्रसाद कोईरालाले डिजिटल युगसँगै पुस्तकालयलाई नयाँ स्वरूप दिनुपर्ने औंल्याउनुभयो भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कबिन्द्र नेपालले पुस्तकालयलाई जनतासँग जोड्ने र सबै उमेर समूहलाई आकर्षित गर्न सरकार–समुदाय सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

त्यसैगरी मन्त्रालयका उपसचिव ऋषिराज शर्माले पुस्तकालयलाई समाजको समग्र विकाससँग गाँसिएको अमूल्य सम्पत्ति भन्दै राज्यको दायित्व पुस्तकालयलाई पुनः परिभाषित गर्नु पर्नेमा जोड दिनुभयो । कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले पुस्तकालयको इतिहास जनचेतना, अध्ययन संस्कृति र सामाजिक रूपान्तरणसँग जोडिएको बताउँदै यसको संरक्षण र आधुनिकीकरण प्राथमिकता हुनुपर्ने धारणा राख्नुभयो ।


यस्तै कपिलवस्तुका सम्पुर्ण विद्यालयको प्रतिनिधितब गर्दै श्री तिलौराकोट माबी गोबरीका प्रअ सन्जय बर्माले बालबालिकाको पठन सीप बिकासको लागि हरेक विद्यालयमा पुस्तकालय अनिवार्य आवस्यकता रहेको बताउनु भएको छ। बर्माले रुम टु रिड र पिस नेपालले कपिलवस्तु जिल्लाको  तीन पालिका मायादेवी गाउँपालिका, बुद्धभुमी नगरपालिका र कपिलवस्तु नगरपालिकाका ४८वटा विद्यालयमा बाल पुस्तकालय निर्माण गरेको प्रती धन्यवाद ज्ञापन समेत गर्नुभएको छ। सस्थाले विद्यालयमा पुस्तकालय निर्माण गर्न सक्छ भने त्यसलाई निरन्तरता दिन मन्त्रालय अनि स्थानिय तहले पनि हरेक बर्ष बजेट बिनियोजन गर्नु पर्ने धारणा राख्नुभएको छ।


कार्यक्रममा कपिलवस्तु जिल्लाका विभिन्न पालिकाका प्रमुख–उपप्रमुख, जनप्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, पत्रकारलगायतको उपस्थिति थियो । सो अवसरमा वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई मन्त्रालयद्वारा  सम्मान गरिएको थियो भने रुम टु रिड र पिस नेपालको सहयोगमाउनिहरुलाई हौसला प्रदान होस भनी पुरस्कार प्रदान गरिएको थियो। र कार्यक्रम स्थलमा रुम टु रिड र पिस नेपालद्वारा  डेमो पुस्तकालय पनि प्रदर्शनीमा राखिएको थियो, जसको अवलोकन मन्त्रीसहित अन्य अतिथिले गर्नुभएको थियो ।

 

 

“पुस्तकालय केवल किताब राख्ने स्थान होइन, ज्ञान र संस्कृतिको केन्द्र हो”:मन्त्री तिमिल्सिना

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधनप्रति

“पुस्तकालय केवल किताब राख्ने स्थान होइन, ज्ञान र संस्कृतिको केन्द्र हो”:मन्त्री तिमिल्सिना

सुन बनाउने भन्दै: भारतीय नागरिक जुम्लाका गाउ

Leave a comment

Your email address will not be published. Required fields are marked *