प्रतिनिधिसभा निर्वाचन  कर्णालीमा थपिए ३० हजार नयाँ मतदाता  माघ पहिलो साताबाट चुनावी आचारसंहिता लाग्ने

ओम शाही

सुर्खेत, १४ पुस ।

आगामी २१ फागुनमा हुने प्रनिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगले आइतबार मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेकोमा यस पटक नौ लाख १५ हजार एक सय १९ मतदाता थपिएको आयोगले जनाएको छ ।

प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष,  ९२ लाख ४० हजार एक सय ३१ महिला र अन्य दुई सय गरी कुल एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै, कर्णालीमा यस पटक ३० हजार तीन सय ७८ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका निमित्त निर्वाचन अधिकारी नन्दप्रसाद चौलागाईका अनुसार पाँच लाख २७ हजार आठ सय ८६ पुरुष, पाँच लाख नौ हजार तीन सय ६१ महिला र अन्य तीन गरी कुल मतदाता संख्या १० लाख ३७ हजार दुई सय ५० पुगेका छन् ।

उनले कर्णालीमा नौ सय ४१ मतदानस्थल रहदा एक हजार चार ३७ मतदान केन्द्र निर्धारण गरिएको बताए । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी २० फागुनसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको उनले बताए ।

२३–२४ भदौको जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले २०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्ष अगावै देशलाई पुनः प्रतिनिधिसभा निर्वाचनमा धकेलेको थियो । सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरोध, भ्रष्टाचार अन्त्य र सुशानको माग राखेर सडकमा उत्रिएका जेन–जी समूहमाथी सरकारले अत्याधिक बल प्रयोग गरेपछि २३ भदौमा १९ जनाले ज्यान गुमाएका थिए ।

त्यसको विरोधमा भोलिपल्ट (२४ भदौ)मा भएको आन्दोलनले नेकपा एमाले र नेपाली कांग्रेसबीच बनेको गठवन्धन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली राजिनामा दिन बाध्य बनेका थिए । ओलीको राजिनामा पछि जेन–जी समूहको समर्थनमा प्रतिनिधिसभा विघटन भएर पूर्वप्रधानन्याधीस सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन ।

कार्की नेतृत्वको सरकारलाई २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउने म्याण्डेड छ । यद्यपी, सरकारले निर्वाचनलाई तोकिएकै समयमा सम्पन्न गराउने दावी गरिरहेको भएपनि नागरिक भने विश्वस्त हुन सकेका छैनन् । पछिल्लो समय सरकारले प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँग संवाद थालेकाले निर्वाचनको वातावरण तय बन्दै गएको बताइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग प्रधानमन्त्री कार्कीले संवाद अघि बढाएपछि दल र सरकारबीचको दुरी नजिकिएको समेत विश्लेषण भइरहेको छ । तर, शिर्ष नेताहरुले अझै पनि सुरक्षा, चुनावको निष्पक्षता लगायतका विषयमा आशंका व्यक्त गरिरहेका छन् ।

माघ पहिलो साताबाट आचारसंहिता लाग्ने

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ ।

यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो । आएका सुझावसमेत समेटेर आचारसंहिता स्वीकृत गरिएको आयोगले जनाएको छ । यस पटकको आचारसंहिताको दायरा फराकिलो बनाएको आयोगले दाबी छ । आयोगका अनुसार यस पटकको आचारसंसिहता सचेतनाको मोडेलमा नभई सोझै कारवाहीको मोडलमा छ । आचारसंहिता तत्काल लागु गर्दा सरकारका कामकारबाहीमा प्रभाव पर्ने भएकाले माघको पहिलो साताबाट लागु गर्न लागिएको आयोगले जनाएको छ ।

स्वीकृत भएको नयाँ निर्वाचन आचारसंहिता अनुसार चुनावको प्रचार प्रसारमा समेत कडाई गरिएको छ । आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा जुनसुकै प्रकारको र्‍याली, गर्दा बढीमा दश वटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न सकिने उल्लेख छ । साथै निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचार प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ ।

त्यस्तै, निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले प्रयोग गर्ने सवारीमा समेत कडाइ गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले चुनावी प्रचार प्रसार गर्दा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने भएका छन् । दुईभन्दा बढी गाडी प्रयोग गरे निर्वाचन आचारसंहिता बमोजिम कारबाही हुनेछ ।

निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुई वटा दुई पाङ्ग्रे  वा तीन पाङ्ग्रे  वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सक्ने आचारसंहितामा भनिएको छ ।

प्रतिनिधिसभा निर्वाचन   कर्णालीमा थपिए ३० हजार नयाँ मतदाता   माघ पहिलो साताबाट चुनावी आचारसंहिता लाग्ने

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

प्रतिनिधिसभा निर्वाचन   कर्णालीमा थपिए ३० हजार नयाँ मतदाता   माघ पहिलो साताबाट चुनावी आचारसंहिता लाग्ने

जुम्ला क्याम्पसमा तीन संकाय विस्तार निर्णय

Leave a comment

Your email address will not be published. Required fields are marked *