दक्षिण एसियाली मनसुनः जलवायु परिवर्तनले अस्थिर बनाएको जीवनरेखा

नयाँदिल्ली, ११असोज (रासस/एएफपी) ।

दक्षिण एसियाको वार्षिक मनसुन वर्षा एक अर्बभन्दा बढी मानिसहरूको जीवनरेखा मानिन्छ । तर जलवायु परिवर्तनका कारण यो अझ बढी अनियमित, घातक र विनाशकारी बन्दै गएको छ । यसमा कमजोर पूर्वाधारले प्रभावलाई झनै गहिरो बनाइरहेको विज्ञहरूको चेतावनी छ ।

यो क्षेत्रको कृषि, खानेपानी आपूर्ति र जलविद्युत् उत्पादन प्रायः मौसमी वर्षामा निर्भर छन् । तर पछिल्ला अध्ययनहरूले जलवायु परिवर्तनले चरम वर्षाका विस्फोट र लामो खडेरीका चक्रलाई बढाउँदैछ भन्ने देखाउँछन् ।

– मनसुन के हो ? –

अरबी शब्द मौसिम (मौसम) बाट व्युत्पन्न मनसुन भूमि अनि समुद्रको तापान्तरका कारण हुने हावाको उल्टो बहाव हो ।

विश्वका धेरै क्षेत्रमा यस्तो ढाँचा देखिन्छ । दक्षिण एसियामा, दक्षिणपश्चिमी मनसुन मे महिनाको अन्त्यमा दक्षिण भारतबाट सुरु भई सेप्टेम्बरसम्म उत्तरतर्फ फैलिन्छ । त्यसपछि अक्टोबरमा भूमिगत ताप घटेपछि बङ्गालको खाडीबाट आद्र्रता बोकेर आउने उत्तरपूर्वी मनसुनले दक्षिण भारत र श्रीलङ्कामा वर्षा गराउँछ ।

– परिवर्तनका सङ्केत –

भारत सरकारले यस वर्ष चेतावनी दिँदै भनेको छ, “मनसुनले अझ बारम्बार लामो सुक्खा खण्ड र तीव्र वर्षासहित पुनःआकार लिँदैछ ।”

भारतको मौसम विज्ञान विभागका अनुसार सन् १९५० र सन् २०१५ को बीचमा चरम दैनिक वर्षाको घटना करिब ७५ प्रतिशतले बढेको छ । आधा वर्षा अब २० देखि ३० घण्टाभित्र खस्ने गरेको सरकारी तथ्याङ्क छ ।

पाकिस्तानमा यस वर्ष मनसुन सामान्यभन्दा चाँडो आएको र जुनको अन्त्यतिर नै ‘अत्यधिक’ वर्षा भएको मौसम विज्ञान विभागका प्रवक्ता इरफान विर्कले बताउनुभयो । अगस्टको मध्यसम्ममा देशमा गत वर्षको तुलनामा ५० प्रतिशत बढी वर्षा भएको थियो ।

– जलवायु परिवर्तनको भूमिका –

विशेषज्ञहरूका अनुसार तातो समुद्रले हावामा बढी आद्र्रता भण्डारण गर्छ, जसलाई तातो वातावरणले अझै धेरै समात्छ । त्यसैले वर्षा हुँदा अत्यधिक खस्छ ।

“अझ तीव्र र सम्भवतः लामो मनसुनको प्रवृत्ति देखिँदैछ”, युनिभर्सिटी अफ न्युसाउथ वेल्सका जलवायु विज्ञ अगुस सान्टोसोले भन्नुभयो ।

तर एल निनो र ला निना जस्ता मौसमीय चक्रले पनि मनसुन ढाँचामा ठूलो प्रभाव पार्छन् । यी चक्रहरू जलवायु परिवर्तनकै कारण अझ अनिश्चित हुँदै गएका छन् ।

तर भविष्यवाणी अझै चुनौतीपूर्ण छ । “हामीसँग भारतीय उपमहाद्वीप र हिमाली क्षेत्रका धेरै ठाउँमा पर्याप्त अवलोकन सञ्जाल छैन”, इस्लामिक युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिक शकिल रोम्सूले भन्नुभयो, “यसले ढाँचा बुझ्न र अनुमान गर्न कठिन बनाउँछ ।”

– असरहरू –

मनसुनकै कारण दक्षिण एसियामा बाढी र भूस्खलन नयाँ कुरा होइन । तर पछिल्ला दशकमा घटनाहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ ।

यस वर्ष मात्र, भारतको प्रमुख कृषिक्षेत्र पञ्जाबमा वर्षा औसतभन्दा दुई–तिहाइ बढी भयो, जसले खेतीपाती ध्वस्त पारेको छ । असमय वर्षाले माटोको उर्वरता, सिँचाइको तालिका र खाद्य आपूर्ति शङ्खलालाई प्रभावित गरिरहेको छ ।

पाकिस्तानमा यो मनसुनले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गत वर्षको तुलनामा करिब तीन गुणा हो । त्यहाँ पञ्जाब क्षेत्रका हजारौँ बासिन्दा विस्थापित भएका छन् ।

खराब पानीले रोग फैलाउने जोखिम बढाउँछ र लामखुट्टे जस्ता वाहकहरूको प्रजननलाई प्रोत्साहित गर्छ । बाढीले शिक्षा, स्वास्थ्य र आजीविकामा गम्भीर असर पारेको छ ।

– थप जोखिमका कारण –

नेपालमा आधारित इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) का अनुसार हिमनदी छिटो पग्लिनु र वन विनाशले पहाडी ढलानहरूलाई कमजोर बनाउँदै घातक भूस्खलनको जोखिम बढाएको छ ।

त्यसमा थप, पर्याप्त वातावरणीय मूल्याङ्कनबिनै बनाइएका राजमार्ग, सुरुङ, बाँध र रेलमार्गले पहाडी भूगोललाई अझ असुरक्षित बनाएका छन् ।

“द्रुत र अनियोजित विकास, वन विनाश, नदीको प्रवाह परिवर्तन र कमजोर पूर्वाधारले ढलानलाई अस्थिर बनाउँछ र प्राकृतिक जलनिकासीलाई अवरुद्ध गर्छ”, भारतको भारती इन्स्टिच्युट अफ पब्लिक पोलिसीका विज्ञ अञ्जल प्रकाशले भन्नुभयो ।

जलवायु परिवर्तन, कमजोर पूर्वाधार र अव्यवस्थित विकास मिलेर दक्षिण एसियाली मनसुनलाई अझै अप्रत्याशित र विनाशकारी बनाइरहेका छन्, जसले यस क्षेत्रमा अर्बौं मानिसको जीवनरक्षा चुनौतीमा पारेको छ ।

दक्षिण एसियाली मनसुनः जलवायु परिवर्तनले अस्थिर बनाएको जीवनरेखा

उत्तर कोरियाको लामो दूरीको मिसाइल विकास अन्तिम

दक्षिण एसियाली मनसुनः जलवायु परिवर्तनले अस्थिर बनाएको जीवनरेखा

ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी

Leave a comment

Your email address will not be published. Required fields are marked *