करिव ८ करोडको लागतमा छेडा–कल्याणकाँध सडकको स्तरोन्नती सुरु

सुर्खेत, १३ जेठ ।
सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र गोठिकाँडा हुँदै बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने सडकको स्तरोन्ती कार्य सुरु भएको छ । सोमबार कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर–१४, स्थित गोठिकाँबाट सुरु भई बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने (छेडा–गढी–लेखगाउँ–श्रीचौर–कल्याणकाँध) सडक स्तरोन्ती कार्यको शिलान्यास गरेका हुन् ।
यो सडकको स्तरोन्ती कार्य सुरु भएसँगै पर्यटकीय सम्भावना बोकेको गोठिकाँडा क्षेत्रसँगै बराहताला गाउँपालिकाको उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा लिन सहज हुनेछ ।
सात करोड ९८ लाख लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बिआई एस कन्सट्रक्सन प्रालि बिच निर्माण सम्झौता भई सडक स्तरोन्तीको कार्य अघि बढेको हो । आगामी १५ असार २०८३ भित्र सम्पन्न गर्ने कार्यादेशसहित सडक स्तरोन्तीको कार्य सुभारम्भ भएको पूर्वाधार निर्देशनालयका निर्देशक सूर्यबहादुर शाहीले बताए ।

प्रदेश सरकारले हालै स्वीकृत गरेको प्रादेशिक सडक गुरुयोजनामा समावेश भएको छेडा–गढी–लेखगाउँ–श्रीचौर–कल्याणकाँध खण्डको सात किलोमिटर सडक स्तरोन्ती गरिने उनले बताए । उनका अनुसार पहिलो खण्डमा साढे तीन किलोमिटर सकड कालोपत्रे गरिने छ, भने बाँकी साढे तीन किलोमिटर सडक नालासहित ग्राभेल गरिनेछ ।
सडक स्तरोन्नती कार्यको सुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले यस सडकले पर्यटकीय संभावना बोकेको गोठीकाँडा क्षेत्रको विकास तथा बराहताल गाँउपालिकाकोे माथिल्लो भेगका नागरिकलाई यातायात सेवामा सहजता ल्याउने बताए ।
गोठिकाँडा क्षेत्रलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रसस्त आधार भएको उल्लेख गर्दै उनले स्थानीयस्तरमा विवाद सिर्जना नभएको खण्डमा तोकिएकै समयमा सडकले पूर्णता पाउने विश्वास व्यक्त गरे ।
गोठिकाँडा क्षेत्रलाई पर्यटकीय हव बनाउने योजना अन्तर्गत प्रदेश सरकारले सडक स्तरोन्तीको कार्य अघि बढाएको उनको भनाई थियो । विकास जनप्रतिनिधि र कर्मचारीको मात्रै हो भन्ने मानसिकता त्याग्नुु पर्ने बताउदै उनले सडकसँगै स्थानीय उत्पादन र उत्पादकत्व बढ्ने खालका आयमुलक क्षेत्रमा जोडिन स्थानीयलाई आग्रह गरे ।







